Comments Add Comment

काठमाडौंका ट्राफिक प्रहरीः कसैको खुट्टो भाँचियो, कसैलाई क्यान्सर

सर्वेन्द्र खनालले यसरी गर्दैछन् सुधार प्रयास

मापसे गरेर आफ्नै अगाडिबाट भाग्न लागेका अटेरी चालकलाई रोक्न खोज्दा खुट्टा भाँचिएर ट्राफिक प्रहरी घाइते भए । यस्तै-यस्तै घटनामा परेका ८ जना ट्राफिक प्रहरीहरु यतिबेला न्युरो, बीएण्डबी र अर्थोपेडिक अस्पतालमा उपचार गराइरहेका छन् । मापसे गरेका मोटरसाइकल चालकले गरेको दुर्व्यवहारका कारण घाइते भएर अर्का एकजना ट्राफिक अस्पतालमा भर्ना भएका छन् ।

रक्सी अरुले पिउँछन्, तिनको मुख सुँघ्दै चिसो सडकमा रातभर ड्युटी गर्नुपर्ने बाध्यता छ ट्राफिक प्रहरीलाई । जँड्याहाहरु परैबाट भाग्छन् । तर, तिनको बाटो कुर्दै शून्य डिग्रीको चिसोमा रातको १२ बजाउनुपपर्छ जवानहरुले ।

काठमाडौं ट्राफिकमा पोस्टिङ भएपछि सडकमा व्यहोर्ने तनावकै कारण उच्च रक्तचापका कारण १६ जना ट्राफिक प्रहरीहरु रगत पातलो बनाउने ट्याब्लेट खाएर काममा जान थालेका छन् ।

काठमाडौंको धुँवाले एकजना ट्राफिकलाई क्यान्सर भएको छ । उनी भक्तपुरमा उपचार गराइरहेका छन् । ठाडो लाइन ड्युटीमा बसेकै कारण नशा च्यापिने, ढाड सड्किने, र श्वासप्रश्वासको समस्या आएर तीनजना ट्राफिक ड्युटीमा जान सकेका छैनन् ।

एकजना ट्राफिक प्रहरी मृगौलाको अपरेशन गरेर ब्यारेकमा थन्किएका छन् ।

विरामी परेका ट्राफिकलाई उपचार खर्च दिने व्यवस्था नेपाल प्रहरीले गरेको छैन । तर, २२ जना प्रहरी ड्युटीकै क्रममा, अर्थात् कर्तव्य पालनाका सिलसिलामा अस्पतालमा छन् ।

भीआइपीले झनै सास्ती दिन्छन्

बिहान ७ देखि ११ बजेसम्मको पहिलो पिकआवरको ड्युटी र अपराह्न ३ देखि ६ बजेसम्मको दोस्रो पिकआवर ड्युटी निकै कठिन छ । चिसो, धुँवा, धुलो र गाडी चलाउने मानिसका बचनहरु कति खानुपर्छ, ठेगान छैन । त्यसमाथि ‘ठाडो लाइन’ भनिने माइतीघरदेखि जय नेपाल हलसम्मको सवारी चाप, भीआइपीहरुलाई एकछिन पनि जाममा पार्न नहुने चुनौति छ ।

अर्थात्, प्रधानमन्त्री, प्रधानन्यायाधीश, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरुलाई ट्राफिक जाम लाग्दैन । यी भीआइपीलाई जाममुक्त बनाउन एकातर्फबाट गाडीहरु छोडेको छोड्यै गर्नुपर्ने हुन्छ । अर्कातर्फ लामो समयको जाममा परेका सर्वसाधारण रिसले चुर हुने । निषेधित भनेर के गर्नु, सबैले एकैचोटि ट्ँयार-ट्ँयार पारेर हर्न बजाएपछि कारवाही गर्नु कसलाई ? सेटमा ट्राफिक कन्ट्रोलले गाली गर्छ- ‘क्या हो यो ? हर्न बजेको छ, कारवाही किन भएन भनेर यहाँ कम्प्लेन आइसक्यो ।’

अस्तव्यस्त राजधानी

समाचार कस्तो पनि लेख्नुपर्ने दिन आयो भने, एउटा देशको राजधानी शहरमा ट्राफिक लाइट बल्न थाल्यो ! विदेशीले सुन्दा के भन्लान् ? तर, काठमाडौंको वास्तविकता हो यो ।

काठमाडौंका सडकमा ०३८-०३९ सालदेखि ट्राफिक लाइट राखिएका छन् । तर, १२ वर्ष भयो, ती बत्ति बल्न छाडेका । अहिले फेरि ती ट्राफिक लाइट बाल्ने कोसिसमा छन्, ट्राफिकका डीआइजी सर्वेन्द्र खनाल ।

काठमाडौं महानगरपालिकाले बिगि्रएका ट्राफिक लाइट बनाइदिने भनेर थालेको यो काम सफल भएको छैन । तर, बल्दै नबल्ने लाइटहरु पल्याकपुलक गर्नसम्म थालेका छन् ।

सरकारले काठमाडौंमा कोरिडोरको बाटो खोल्ने क्रममा कतै पिच गरिसक्यो, कतै बाँकी छ । धोविखोला कोरिडोरमात्र बन्यो भने पनि काठमाडौंको ३० प्रतिशत ट्राफिक जाम हल हुन्छ । तर, सम्बन्धित निकाय र ठेकेदारहरु यो काम जति ढिलो गर्न पायो, त्यति नै पैसा कमाउने पाइएला भनेर आलटाल गर्दैछन् ।

डीआइजी सर्वेन्द्रको सुधार प्रयास

काठमाडौंको ट्राफिकलाई कमाण्ड गरिरहेका डीआइजी हुन्, सर्वेन्द्र खनाल । विद्यमान प्रहरी ऐनअनुसार अबको तीन महिनापछि नेपाल प्रहरीको नेतृत्व फेरिँदा आइजीपी बन्ने दौडमा सहभागी डीआइजीमध्ये उनी एक हुन् ।

खनाल बिहान उठेदेखि राति सुत्नेबेलासम्म सडकका समस्यासँग जुधिरहेका छन् ।

रामशाहपथस्थित ट्राफिक महाशाखामा पत्रकार पुग्दा खनाल कार्यकक्षमा नभएर मापसेको पैसा तिर्ने ठाउँमा उभिएर मापसे चालकको अनुहार नियाल्दै थिए । उनले भने, ‘यिनै महानुभावले हो, राति सुत्न दिँदैनन् । हामी यस्ताको गार्ड हुनुपरेको छ ।’

दुई साताअघि ट्राफिक प्रहरी चढेको एउटा डोजर थापागाउँ, हनुमानथान जोड्ने धोवीखोल पुलपुनि बाटो सम्याउँदै थियो । त्यही दिन रातो पुलमा पनि ट्राफिक आफैँले पुलमुनिबाट गाडी पास गराउन डोजर लगाइरहेको थियो ।

काठमाडौंमा चल्ने सार्वजनिक यातायातमा सवार यात्रुहरु पैसा तिरेर दैनिक उडुस र उपियाँको टोकाइ खाइरहेका छन् । गन्हाउने सिटमा बस्छन् । ट्राफिकको एउटा टोलीले केही समयअघि ती यातायात व्यवसायीलाई बोलाएर भन्यो, ‘कम्तिमा गाडी त सफा राख्नुस् ।’ फलतः ट्राफिककै निगरानीमा काठमाडौंमा चल्ने सावर्जनिक यातायातले सरसफाई गर्न थाले ।

अफिस टाइम सुरु भएपछि भद्रकाली, सुन्धारातिर लडाइँ लडेजस्तै हुन्छ, माइक्रो चढ्ने यात्रुहरुको अवस्था । तर, आजकल त्यस्तो छैन । कारण हो- ट्राफिकले लाइन लागेर गाडी चढ्ने नियम बनाइदियो ।

यसरी ट्राफिक लाइट बाल्नुपर्ने, कोरिडोरको बाटो सम्याउनुपर्ने, उडुस र उपियाँमुक्त सार्वजनिक यातायात बनाउनुपर्ने र लाइन लगाएर यात्रुलाई गाडी चलाउनुपर्नेजस्ता काम ट्राफिक प्रहरीका परिभाषित जिम्मेवारीभित्र पर्दैनन् । ती कुराको व्यवस्थापन गर्नुपर्ने निकाय अरु नै छन् ।

तर, जिम्मेवार निकायहरुले आ-आफ्नो काम नगरिदिँदा त्यसबाट उत्पन्न हुने सबै समस्यासँग ट्राफिक प्रहरी गाँसिनुपर्छ । बाटो कहिले मेलम्ची खानेपानीले खन्छ, कहिले विद्युत प्राधिकरणले त कहिले महानगरपालिकाले ।

बाटो जसले खने पनि समस्या आउँछ, ट्राफिक जामको । आजकल काठमाडौंमा देख्न सकिन्छ, ट्राफिक प्रहरी आफैं बेल्चा बोकेर बाटो सम्याइरहेका हुन्छन् ।

ट्राफिकका कष्टका कथा अनेक छन् । ‘जागिर पुलिसमा खाएको, हेडक्वार्टर नै हाम्रा लागि सबभन्दा ठूलो निकाय हो । तर, त्यतिले सुख पाइँदैन ।’ डीआइजी खनालका अनुसार कुरा के रहेछ भने, प्रहरी गृह मन्त्रालय मातहत भए पनि ट्राफिकले यातायात, वातावरण र बाणिज्य मन्त्रालय र त्यसमातहतका निकायसँग निकटता राख्नु जरुरी छ ।

साह्रै थेत्तरा छन्, नेपालका निजामति कर्मचारी । एकथोक भन्यो, अर्कैथोक गर्नेखालका । सर्वेन्द्रलाई तिनीहरुको चालढालले झगडिया बनाइसक्यो । ‘गयो, राम्रै मुखले कुरा गर्‍यो । हुन्छ-हुन्छ भन्छन् । तर, केही गर्दैनन्’, उनी दुःख सुनाउँछन्, ‘त्यसपछि के ठान्याछौ तिमीले भनेर टेबुल ठोक्नुपर्छ, अनिमात्र टेरपुच्छर लगाउँछन् ।’

यस्तो गर्नुपरेको विषयचाहिँ सडक भत्काउने, तर नपुर्ने कुराका लागि रहेछ । ‘बाटो खनेर छाडिदिन्छन्’, सुनाउँदै गए, ‘ए बाबा, पुरिदेउन भनेर हामीले हात जोड्दा पनि मान्दैनन् । त्यसपछि नचर्किएर सुखै पाइँदैन ।’

वर्षामा हिलोसँग जुधेर गन्तव्यमा पुग्नु राजधानीवासीको दिनचर्या हुन्छ । वर्षाको पिच काम लाग्दैन । त्यसैले ढुंगा हालेर प्वालहरु टाल्दा अस्थायी समाधान निस्कन्छ । महानगरपालिकालाई भन्यो, ‘किन गर्ने ?’ भनेर पन्छिन्छ । अनि, सर्वेन्द्रले ट्राफिकलाई नै वषर्ामा खाल्डो पुर्न खटाए । ‘आफू नलागी त केही हुँदै नहुने’, उनले भने, ‘हामीले नगर्दा पनि हुन्छ । तर, सडकमा बिहानदेखि रातिसम्म अभिएर सिठ्ठी हामीले फुक्नुपर्छ । धुँवा, धुलो मानौँ हाम्रै लागि उडिरहेका हुन्छन् । वर्षेझरी र हिउँदको चिसो पनि ट्राफिककै पुर्पुरोमा । कम्तिमा बाटो सफा भए धुलो त खानुपर्दैन नि ।’

सर्वेन्द्र समय-समयमा सादा पोशाकमा शहर घुम्दा रहेछन् । देख्छन्, गाडीले बुङ्बुङ्ती धुँवा फ्याँकिरहेको छ । अगाडि सिसामा हेर्‍यो, प्रदूषणमुक्त संकेतका साथ हरियो स्टिकर टाँसिएको हुन्छ ।

रहरुसय रहेछ के भने, वातावरण मन्त्रालयदेखिकै सेटिङमा हरियो स्टिकर दिइँदोरहेछ । अघिल्लो नेतृत्वका ट्राफिक कमाण्डरहरुकै सिग्नलमा केही ट्राफिक पनि त्यसमा सामेल भएको देखेपछि आजकल प्रदूषण जाँचमा सकेसम्म आफै पुग्छन्, नभए पनि विश्वासिला अधिकृत खटाउन थालेका छन् ।

ट्राफिकले सार्वजनिक सवारी साधन देख्यो कि चिट काट्न थाल्ने क्रमलाई सर्वेन्द्रले ट्राफिकमा हाजिर भएकै दिनदेखि कम गराए । बाटो-बाटोमा चिट काटिएपछि ट्राफिक महाशाखा, बग्गीखानामा कारवाही गरिएका मानिसहरुको भिड, साँझको असन-इन्द्रचोकजस्तो । ‘चिट काट्ने हैन, नियम सिकाउने, चेतावनी दिने, गल्ती दोहोर्‍याएपछि बल्ल कारवाही गर्ने’, सर्वेन्द्रले हरेक रोलकालमा भन्ने गरेका छन् ।

मापसेजत्तिकै लेन अनुशासन उल्लंघन गर्नेलाई पनि क्लास लिनुपर्ने र धेरै जरिवाना तिर्नुपर्ने गरी कारवाही हुने गरेको छ ।
सर्वेन्द्रले लेन अनुशासनको कारवाहीको स्वरुपमा परिवर्तन गराए । पहिला दुई सय जरिवाना तिरेपछि लेन अनुशान गर्नेले मुक्ति पाउँथे । तर, अब पहिलोचोटि उल्लंघन गर्नेलाई पाँच सय रुपैयाँ र एक घन्टाको क्लास, दोस्रोचोटि उल्लंघन गर्नेलाई हजार रुपैयाँ जरिवाना, क्लास लिनुनपर्ने र तेस्रोचोटि वा सोभन्दा बढी उल्लंघन गर्नेलाई १५ सय जरिवाना, क्लास लिनुनपर्ने नियम लगाइदिए ।

सवारीमुक्त ठमेल

सर्वेन्द्रले चमत्कार गरिदिए, ठमेललाई सवारीमुक्त बनाएर । अहिले ठमेलको नरसिंह चोकमात्र सवारी मुक्त छ । उनलाई पहिला त्यहाँका व्यवसायीले नगर्न सुझाव दिए । तर, अत्यधिक सवारी चापका कारण शहरको मुख्य पर्यटकीय क्षेत्र अस्तव्यस्ता हुँदा त्यहाँको रौनक नै घटेपछि ‘पेलेरै’ सर्वेन्द्रले ठमेललाई सवारी मुक्त बनाए ।

आजकल कहिले होटल व्यवसायी, कहिले थान्का व्यवसायी त कहिले स्थानीयवासीले दिनैपिच्छेजस्तो दोसल्ला र खादा ओढाएर उनलाई सम्मान गर्न थालेका छन् ।

अब उनले न्युरोड, असन, इन्द्रचोक, पाटन दरबार स्वायरलगायतका पर्यटकीय तथा पुरातात्विक महत्वका स्थललाई सवारीमुक्त बनाउने योजना सुनाए । त्यसका लागि स्थानीय जनप्रतिनिधिको साथ चाहिने बताए ।

त्यसो त यसअघिका युनिटमा काम गरेबापत खादा, माला अझै ओढिरहेका छन् । अपराध महाशाखामा हुँदा उनले एसियन फुटबल कन्पिmडरेशन -एएफसी) ले हालै मलेसिया बोलाएर सम्मान गर्‍यो । अपराध महाशाखाको प्रमुख हुँदा फुटबल खेलमा प्रतिस्पर्धीसँग म्याच फिक्सिङ (मिलेमतो) गर्ने नेपाली टिमका कप्तान सागर थापासहितको टोलीलाई पक्राउ गरेपछि सर्वेन्द्र चर्चाको शिखरमा पुगेका थिए । त्यसैबापत हो, उनले मलेसियामा सम्मान पाएका ।

कतिपय काम गर्नुपर्ने अरु नै छन् । तर, अरुको मुख ताक्दा सडक यात्रु र ट्राफिकले निरन्तर दुःख पाए । यसकारण हो, सबै काममा सर्वेन्द्रले अग्रसरता देखाएको । स्कुल, कलेजका बसलाई अफिस टाइमभन्दा अगाडि नै बाटो खालि गराउनेदेखि सार्वजनिक यातायातमा उडुस, उपियाँ मुक्त गर्नेसम्मका काम वास्तवमा अरुको हो । तर, दुःखचाहिँ ट्राफिकको थाप्लोमा आउनाले अझै त्यस्ता कतिपय बेसरोकारका काम गर्नै बाँकी रहेको सुनाए ।

०४६ सालमा जागिर खाएदेखि सर्वेन्द्रले थुप्रै प्रहरी युनिटको कमाण्ड सम्हाले । इन्स्पेक्टर छँदै ट्राफिक पनि बसेका रहेछन् । त्यसबेला उनैले बग्गीखाना अगाडिको नेशनल टे्रडिङको आँगनमा ट्रायल दिने व्यवस्थाका लागि पहल गरेका रहेछन्, जहाँ आज पनि विहान-विहान लाइसेन्सका आवेदकहरु ट्रायल दिन पुग्छन् ।

प्रहरीका अरु युनिटमा काम गर्दा झगडिया र मुद्दा लिएर आउने, थुन्न र छोड्न सिफारिस बोक्नेसँग बढी भेट भयो । तर, ट्राफिकमा काम गर्दा बिनामुद्धाका थुपै पीडित उनले भेटे । ‘ड्युटी सडकमा छ । सडक सबैको हो । र, मान्छे पनि सबैखाले भेटिँदारहेछन्’, उनले सुनाए । यही पक्षलाई ‘रमाइलो’ का रुपमा चित्रण गर्छन् ।

टाउको दुःखेको दबाई नाइटोमा !

हिजोआज मापसे पनि उति कडा देखिँदैन । किन ? सर्वेन्द्रले भने, ‘टाउको दुख्दा नाइटोमा दबाई लगाएर हुँदैन ।’ अर्थात्, सोझा, फराकिला र घुम्ती भएको बाटो, जहाँ बढी दुर्घटना हुन्छ-मापसे चेकिङ त्यहाँ गर्ने ।

गल्ली-गल्लीबाट चोर समाए जसरी मापसे कारवाही गर्दा राजस्व त बढी उठ्ला, तर जनताले दःख धेरै पाए । कतिपय समुदायको सांस्कृति र संस्कार नै मदिरासँग जोडिएको हुन्छ । ‘बहुसांस्कृतिक देशमा ती कुरा पनि ख्याल गर्नुपरेको छ’, उनले भने ।

तर, मापसे गरिसकेपछि ट्राफिक चेकिङमा परिएला भनेर होसियारीपूर्वक भाग्दै-लुक्दै हिँड्ने चलन जो छ, त्यसलाई पनि कारवाहीकै रुपमा मान्दा हुने उनको तर्क छ ।

तर, मापसे गरेर अन्धाधुन्ध गाडी चलाउने, आफूभन्दा अरु असुरक्षित हुने स्थितिमा ट्राफिकले पिछा गरेरै समाउँछ ।

आइजीपी बन्ने सपना

सरकारले चैत २९ गतेभित्र नेपाल प्रहरीको २६ औं महानिरीक्षक नियुक्त गर्दैछ । उक्त पदका लागि प्रतिस्पर्धायोग्य मूलतः तीन डीआइजी छन्, सर्वेन्द्र, रमेश खरेल र पुष्कर कार्की । यिनीहरु क्रमशः एक, दुई र तीन नम्बरमा एसएसपीबाट डीआइजीमा बढुवा भएका हुन् ।

अहिलेका प्रहरी महानिरीक्षकसहित सबै अतिरिक्त महानिरीक्षक र धेरै संख्यामा नायव महानिरीक्षक -डीआइजी) चैत २९ मा ३० वर्षे सेवा हद लागेर अवकास हुँदैछन् । त्यसपछि ०७६ चैतसम्मका लागि प्रहरीको कमाण्ड हाँक्ने जिम्मा ९० बेसिकका इन्स्पेक्टरहरुको काँधमा आउँदैछ । उनीहरु त्यही ब्याचमा भर्ना भएका हुन् । यसबारे जिज्ञासा राख्दा सर्वेन्द्रले धेरै केही भन्न चाहेनन् । भने, ‘हेर्दै जाऔँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment