Comments Add Comment

सर्वोच्चले झिकायो पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र

के हो प्रधानन्यायाधीशको नागरिकता प्रकरण ?


२६ पुस, काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीका दुबै नागरिकता र शैक्षिक प्रमाणपत्रका प्रतिलिपिहरु झिकाउन आदेश दिएको छ ।

अदालतको अवहेलना मुद्दा लागेका डा. गोविन्द केसीले वयानका क्रममा पराजुलीको दुईवटा नागरिकता रहेका र एसएलसी पास भए/नभएको शंका भएको बताएका थिए । डा. केसीले इजलासमा उपस्थित भएर पनि त्यही अडान राखे ।

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले बुधबार प्रधानन्यायाधीश पराजुलीका नाममा काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट लिएका दुबै नागरिकताको प्रतिलिपि र न्याय परिषदबाट उमेरबारे भएको निर्णय एवं शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपिहरु झिकाउन आदेश दिएको हो ।

साथै प्रधानन्यायाधीश पराजुलीसहितको इजलासले आईओएमको डीनमा डा. शशी शर्मालाई पुनर्वहाली गर्न दिएको आदेशको मिासिल पनि झिकाउन सर्वोच्चको आदेशमा उल्लेख छ ।

के हो पराजुलीको नागरिकता विवाद ?

प्रधानन्यायाधीश बन्नुअघि नै पराजुली नागरिकतामा उमेर सच्याएको विवादमा परेका थिए । उनको पहिलो नागरिकता र ३४ वर्षपछि लिएको प्रतिलिपिमा जन्ममिति फरक परेको विवाद यसअघि नै बाहिर आएको थियो ।

प्रधानन्ययाधीश पराजुलीले ०४८ सालमा न्याय सेवामा प्रवेश गर्दा पेश गरेको नागरिकतामा जन्म मिति २१ साउन २००९ छ । तर, २५ माघ २०३४ मा जिल्ला प्रशासन कार्यालयबाट निकालेको नागरिकताको प्रतिलिपिमा भने जन्म मिति १६ वैशाख २०१० उल्लेख छ ।

उमेर विवाद देखिएपछि सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीले तत्कालीन न्यायाधीश पराजुलीको जन्ममिति २००९ साउन २१ कायम गरेकी थिइन् । त्यस अनुसार पराजुली गत साउन २१ मै सेवानिवृत्त हुन्थे ।

तर, सर्वोच्चले उच्च अदालतका तत्कालीन मुख्य न्यायाधीश सुरेन्द्रविक्रम बस्नेतको उमेरमा कार्कीको निर्णय उल्टायो । र, त्यही नजिरमा टेकेर न्यायपरिषदले पराजुलीको पनि पुरानै जन्ममितिलाई सदर गर्‍यो, जसले गर्दा पराजुलीलाई ११ महिना प्रधानन्यायाधीश बन्ने बाटो खुल्यो । अन्यथा उनको कार्यकाल ५८ दिनको मात्रै हुने थियो ।

अहिले प्रधानन्यायाधीश पराजुलीको राजीनामा माग गर्दै अनसन बसेका डा. केसीविरुद्ध अवहेलना मुद्दा लागेपछि उनको उमेर विवाद फेरि चर्चामा आएको छ । र, सर्वोच्चले त्यही डकुमेन्टलाई फेरि झिकाएर हेर्ने भएको छ ।

यद्यपि प्रधानन्यायाधीश पराजुलीले भने पहिलेको नागरिकतामा मिति उल्लेख गर्ने चलन नभई नागरिकता लिएको साल र व्यक्तिको उमेर ‘वर्ष’ मात्रै लेख्ने चलन रहेको र पछि मिति कायम गरिएको हुनाले त्यसमा कुनै गडबडी नभएको बताउँदै आएका छन् । उनले आफ्नो सबै चिज खुल्ला र पारदर्शी रहेको बताउँदै आएका छन् ।

प्रधानन्यायाधीश पराजुलीको नागरिकता र प्रमाणपत्र सम्बन्धी विवादबारे खोज पत्रकारिता केन्द्र (खोपके) ले तयार पारेको रिपोर्ट अनलाइनखबरले ०७३ साल भदौ २१ गते प्रकाशित गरेको थियो ।

हेर्नुहोस् खोपकेको रिपोर्टः

प्रधानन्यायाधीश बन्न नागरिकतामा करेक्सन ! गोपाल पराजुलीको पद धरापमा !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment