Comments Add Comment

नारायणगढ-मुग्लिन सडक बिस्तारः बस्ने गोरूलाई घचेटेे जस्तो !

२७ पुस, चितवन । तोकिएको सम्झौता अवधिमा निर्माण पूरा भएका आयोजना नेपालमा सायदै भेटिएला । चाहे मेलम्ची होस् या सिक्टा सिचाइ सबैको कथा त्यही छ ।

तोकिएको समयभित्र काम नगर्ने प्रवृतिलाई रोक्न, छेक्न कसैले सकेको देखिएको छैन । अझ गजब त के छ भने समयमा काम नगर्दा पनि निर्माण कम्पनीहरु न कालो सूचीमा परेका छन् न त उठ्नै नसक्ने गरी जरीवाना तिर्नु परेको छ ।

यहि नियतीको निरन्तरता हो, काठमाडौंको ‘लाइफलाइन’ नारायणगढ-मुग्लिन सडक आयोजना । यो सडकखण्ड भएर यात्रा गर्नेहरुले ३ बर्षदेखि सास्ती झेल्दै आएका छन् । यसले दिएको तनाव र व्यथाबाट गुज्रिने हजारौं छन् ।

सम्झौता अवधि भित्र निर्माण पूरा गरेको भए गएको बैशाख महिनादेखि नै ९ मिटरको फराकिलो सडकमा हुइँकिन पाइने थियो, तर निर्माण क्षेत्रको आम समस्याको चपेटाबाट यो सडकखण्ड पनि मुक्त बन्न सकेन ।

यो सडक गत वर्ष अर्थात सन् २०१७ कै अपि्रल महिनामा निर्माण सकिनु पर्ने सुरुवातको सम्झौता थियो ।

नारायणगढ-मुग्लिन सडकको कथा

नारायणगढको आँपटारीदेखि मुग्लिनसम्म दूरी ३३.२ किलोमिटर छ । विश्व बैंकको २ अर्ब ९० करोड आर्थिक सहयोगमा २०७२ बैशाखबाट यो सडक बिस्तारको काम थालिएको हो ।

एसियन हाइवे अन्तर्गतको ‘ए एचटू’ खण्ड अन्तर्गत नारायणगढ-मुग्लिन सडकखण्ड पर्दछ । गुणस्तरीय सडक निर्माण गर्ने उद्देश्यले यो सडक विस्तार थालिएको हो ।

वि.स. २०३६ सालमा नारायणगढलाई गोरखासँग जोड्न चीन सरकारको सहयोगमा यो सडक निर्माण भएको थियो ।

अहिले नारायणगढ आँपटारीदेखि पश्चिम १६ किलोमिटरसम्म ११ मिटर र १६ किलोमिटरदेखि मुग्लिनसम्म नौ मिटर चौडा गर्ने गरी ३ ठेकेदार कम्पनीले काम लिएका छन् ।

अहिले यो सडक साढे पाँच मिटर मात्रै चौडा छ ।

भरतपुरको आँपटारीदेखि झण्डै १३ किलो मिटरसम्मको सडकखण्ड बीएलए तथा श्रेष्ठ निर्माण कम्पनीलाई ६० करोड १० लाख ६३ हजार रुपैयाँको लागतमा निर्माण गर्न जिम्मा दिइएको हो । २४ अपि्रल २०१६ मा ठेक्का सम्झौता भएको थियो ।

त्यसपछिको २३.५ किलोमिटर सडक निर्माणको जिम्मा उड हिल तथा लामा निर्माण कम्पनीलाई दिइएको छ । यस खण्डको लागत ९७ करोड ६६ लाख ८१ हजार रुपैयाँ छ । ३१ मार्च २०१६ मा सो खण्डको निर्माण सम्झौता भएको थियो ।

त्यसअघि २३ मार्च २०१६ मा निर्माण सम्झौता भएको सुपि्रम तथा रौताहा निर्माण कम्पनीले नारायणगढदेखि २३.५ किलोमिटरदेखि मुग्लिनसम्मको निर्माणको जिम्मा लिएको छ ।

यस खण्डको निर्माण लागत सवैभन्दा धेरै १ अर्व ३० करोड ४२ लाख ६८ हजार रुपैयाँ छ । यो सडकखण्ड निर्माणपछि यो दूरी पार गर्न ३६ मिनेट लाग्ने अनुमान छ । सडकखण्डमा बन्ने पुलका कारणले सडकको दूरी ३ सय ५० मिटर छोट्टनिेछ ।

अहिलेसम्म कति काम सकियो ?

हालसम्म ६७.६७ प्रतिशत काम सम्पन्न भएको छ । आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार थपिएको मितिमा काम सक्नका लागि अहिलेसम्म लगभग ८४ प्रतिशतको हाराहारीमा काम हुनुपर्थ्यो ।

आँपटारीदेखि दासढंुगासम्म निर्माणको जिम्मा पाएको भारतिय बीएलए तथा नेपाली श्रेष्ठ कम्पनीले ६८ प्रतिशत, दासढुंगादेखि सिमलतालसम्म निर्माणको ठेक्का पाएको उड्हिल लामा जेभीले ७४ प्रतिशत र सिमलतादेखि मुग्लिनसम्मको सडक निर्माण जिम्मा पाएको सुपि्रम रौताहा निर्माण कम्पनीले ६१ प्रतिशत काम सकाएको छ ।

तीनबटै ठेकेदारहरुको म्याद फेवुअ्ररी २० मा सकिँदैछ । यसअघि २०७२ माघ १९ मा पहिलोपटक, २०७३ मंसिर १६ दोस्रोपटक र २०७४ असार १९ मा गरी ३ पटक म्याद थपिसकिएको छ ।

म्याद थपको लागि ठेकेदारहरुले दबाब दिन थालेका छन् । आयोजनाले भने २०७४ बैशाखदेखि हालसम्मको मूल्याङ्कनपछि म्याद थपका विषयमा सोच्न सकिने जनाएको छ ।

गएको असोजसम्म ५० प्रतिशत काम सक्नुपर्ने थियो तर, काम नभएपछि दुई ठेकेदारले आयोजनालाई ७५ लाख रूपैयाँ पेनाल्टी तिरिसकेका छन् । प्रतिदिन ०.०२५ प्रतिशत ठेक्का सम्झौता रकम पेनाल्टी बुझाउँदै आएका छन् ठेकेदारहरूले ।

काम अझै ३२ प्रतिशत बाँकी हुँदा पछिल्लो थपिएको अवधि १ महिना मात्रै छ । अझै ८ सय मिटर पहाड काट्न बाँकी छ । सडकखण्डको १६ किलो भन्ने स्थानमा ३ सय मिटर, घुमाउनेमा २ सय मिटर र चेपाङडाँडामा ३ सय मिटर पहाड काट्न बाँकी नै छ ।

यो क्षेत्र सबैभन्दा जोखिम भएका स्थान हो ।

यही पहाड कटिङका लागि भन्दै पुस १८ गतेदेखि परीक्षणका रुपमा राति १० बजेदेखि विहान ४ बजेसम्म सडक बन्द गरिएको छ । आवश्यक लाइटको व्यवस्था गरी पहाड कटिङ थालिएको छ तर, ठेकेदारहरूले यसमा खासै रुची देखाएका छैनन् ।

उनीहरूले रातीमा काम गर्न नसकिने भन्दै आनाकानी गरेका थिए तर, प्रशासनले दबाबमा काम भने रोकिएको छैन । निर्माण व्यवसायीहरूले कम्तिमा आठ घण्टा सडक बन्द गरेर काम गर्न दिनु पर्ने माग गर्दै आएका छन् ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले कटिङको काम वाँकी भएका स्थानहरु १६ किलो, २२ किलो, २९ किलो र ३३ किलोमा आवश्यक लाइटको प्रवन्ध गरी काम गर्न आयोजना र ठेकदारहरूलाई निर्देशन दिइएको बताए ।

कटिङ लगायतका काम बाँकी नै रहे पनि कालोपत्रेको काम भने सुरू भएको छ ।

अहिलेसम्म साढे १३ किलो मिटरमा पहिलो तहको कालोपत्रे गर्ने काम सकिएको सुचना अधिकारी खनालले बताए । सो सडकमा तीन पटकसम्म गरेर १६ सेन्टीमिटर कालोपत्रे गरिन्छ । पहिलो पटक छ सेन्टी मिटर, दोस्रो पटक पनि छ सेन्टी मिटर र अन्तिममा चार सेन्टी मिटर मोटो कालोपत्रे हुन्छ ।

पहिलो तहको छ सेन्टी मिटर कालोपत्रे साढे १३ किलो मिटर र दोस्रो तहको कालोपत्रे १० किलो मिटर जति भएको खनालले जानकारी दिए ।

तेस्रो तहको कालो पत्रे भने भएको छैन ।

पीच निर्माणको काम दिउँसोको समयमा गर्ने ठेकेदारहरूले बताएका छन् । ‘अहिले रातीको समयमा पिच गर्न बढी चिसोका कारणले सकिँदैन’ आयोजना प्रमुख चन्द्रनारायण यादवले भने, ‘दिउँसोको समयमा एकैसाइड बन्द गरेर पीच गर्छौं । ‘

किन भयो ढिला ? ठेकेदार भन्छन्- काम गर्ने समय नै पाइएन

२०७२ बैशाख १२ गते भूकम्प, भारतीय नाकावन्दी, वर्षातको समयमा आउने बाढी पहिरो नारायणगढ मुग्लिन सडकखण्ड ढिलाई हुनुका प्राकृतिक कारण हुन् ।

भूकम्पले ३ महिनापछि धकेलिएको निर्माण कार्य भारतीय नाकावन्दीले ५ महिनापछि लग्यो । तोकिएको समयभन्दा ९ महिनापछि आयोजनाले केही गति लियो तर, काम निकै सुस्त गतिमा ।

चाडपर्व, दुई दुई वटा निर्वाचनका कारणले ठेकेदारहरुलाई वाहाना बनाउन सजिलो भयो । ठेकेदारहरुका केही समस्या होलान् तर समग्रमा लार्पवाही नै ढिलाईको प्रमुख कारण हो ।

निर्माणका लागि प्रयाप्त समय नपाएको गुनासो निर्माण व्यवसायीको छ तर, काम चोर प्रवृतिले ढिलाई भएको प्रशासन र आयोजनाको बुझाई छ । भूकम्प र नाकावन्दीको रेडिमेड जवाफ विक्री हुन छाडेपछि ठेकेदारहरूले चाडपर्व, निर्वाचन, दिउँसोमा काम गर्न नपाएको जस्ता नयाँ नयाँ बहाना बनाएका छन् ।

लामा कन्सट्रक्सनका कन्ट्याक्ट म्यानेजर रविन्द्र श्रेष्ठले हेभी ट्राफिक म्यानेजमेन्ट सडक निर्माणका लागि समस्या भएको बताए । ‘सडक निर्माणलाई गति दिन गाडी रोकेर काम गर्नु पर्ने हुन्छ । ८ घण्टापनि फी्र भएर काम गर्न पाइएन’ उनले भने ।

नारायणगढ मुग्लिन सडकखण्ड देशकै लाइफलाइन हो, यति सवारी गुडछन् भन्ने कुरा थाहा नै नभई सडक निर्माण थालेको हो त ? भन्ने जिज्ञासामा म्यानेजर श्रेष्ठले भने, ‘यतिको संख्या गाडी हिड्छ भन्ने बारेमा थाहा भए पनि हेभी जाम भएर एक अर्कोलाई असर गर्दछ भन्ने बारेमा सर्भे नै भएन ।’

श्रेष्ठले जतिसुकै ढिला भएपनि जेठ मसान्तसम्म काम सक्ने दाबी गरे । ‘म्याद थप्न चाहँदैनौं, जेठ मसान्तसम्म काम सक्छौं,’ म्यानेजर श्रेष्ठले अगाडि थपे, ‘हामी त काम सकाएर चाडो र्फकन चाहान्छौं पेनाल्टी तिरेर बस्न चाहादैनौं ।’

श्रेष्ठको जस्तै गुनासो छ सुपि्रम रौताहा निर्माण कम्पनीका कन्ट्याक्ट म्यानेजर शिशिर कन्दङवाको पनि । ‘दैनिक ४ घण्टा पनि राम्रोसँग काम गर्न पाइएन’ कन्दंङवाले भने, ‘महत्वकांक्षी समय र अप्ठ्यारो भूगोलले नै काममा ढिलाई भयो ।’

साँघुरा र जीर्ण पुलहरुका कारणले लामो समयसम्म जाम हुने गरेका अनुभव छ, कन्दंङवाको । उनको प्रोजेक्टमा अझैं ५० प्रतिशत कटिङको काम बाँकी नै छ । भौगोलिक न्यारो भर्टिकल फल त्रिशुली र माथि अग्लो भिर पहाड भएकाले सुरक्षा विना काम गर्न नसकिने उनको तर्क छ ।

निर्माण क्षेत्र भरतपुर महानगरपालिका २९ का वडाध्यक्ष मानबहादुर रानामगर ठेकेदारहरुले काम ढिला गर्नुमा जनशक्तिको अभाव र स्रोत साधानकै कमी भएको बताउँछन् । आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले भने, ‘चैतपछि जति काम बाँकी हुन्छ, त्यो पूरै जरीवाना तिरेर मात्रै गर्न सक्छन् ।’

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट केही प्राकृतिक र हाई ट्राफिक जामका कारणले सडक निर्माणमा ढिलाई भएपनि समग्रमा ठेकेदारकै लार्पवाही भएको बताउँछन् । ‘एकैपटक विभिन्न ठाउँमा ठेक्कापट्टा लिने, तोकिएको जति उपकरण र जनशक्ति नहुनु र समयमा काम गर्ने जाँगर नदेखाउनु निर्माण ढिलाइका कारण हुन्’ प्रजिअ भट्टले भने, ‘नहिँड्ने गोरुलाई घचेट्नु परेजस्तै भएको छ ।’

आयोजनाले समेत ठेकेदारहरुलाई काम लगाउन नसकेको र केही मिलेमोतोको आशंका पनि गर्दछन्, प्रजिअ भट्ट । भरतपुर महानगरपालिका वडा नं. १० का वडाध्यक्ष अरुण पीडित भण्डारीले त अझै गम्भीर आरोप लगाए आयोजना माथि, उनी भन्छन्, ‘आयोजनाका हामिकहरु ठेकेदारको जेरीमा भुले ।’

आयोजनाका प्रमुख चन्द्रनारायण यादव भने, आफुहरुले ठेकेदारसँग कुनै मिलेमोतो नगरेको दावी गर्दछन् । ‘हामीले आफ्नो ठाँउबाट दवाव दिएकै छौं, फेसिलेट गरेकै छौं’ यादवले भने ।

तर, प्रमुख जिल्ला अधिकारी भट्ट निर्माण ढिलाई हुनुमा आयोजनाले नै नेतृत्व लिन नसकेको बताउँछन् । ‘आयोजनाले मोनिटरीङ गर्ने फेसिलेट गर्ने र एक्सीलेटर दवाउने काम गर्न सकेन’ प्रजिअ भट्ट भन्छन् ।

निर्माण कम्पनीहरुले अन्यत्र निर्माण गरेको भन्दा फरक र विशिष्ट ढंगले यो आयोजनालाई लिन नसक्दा समस्या आएको प्रमुख जिल्ला अधिकारी भट्टको थप भनाई छ ।

क्यान्टिलिभर चर्चामै सीमित

कठिन पहाड काट्न असम्भव हुने ठाँउमा क्यान्टिलिभर पुल राख्ने तयारी आयोजनाको छ । पहाड काट्न निकै गाह्रो भएको क्षेत्रमा १२० मिटर लामो क्यान्टिलिभर पुल राख्ने तयारी छ ।

क्यान्टिलिभर राख्ने कामको पनि सुरुवात भएको छैन । नौ ठाउँमा गरेर लगभग १२३ मिटर क्षेत्रमा क्यान्टिलिभर राख्ने कुरा भएको हो, आयोजनाका सूचना अधिकारी शिव खनालले भने, तर यो काम सुरु हुन सकेको छैन’

एकातर्फ नदी र अर्को तर्फ काट्न नसकिने पहाड भएको ठाउँमा घरको बार्दली जस्तै नदी तर्फ सिमेन्टको पक्की संरचना निकालेर बाटो फराकिलो बनाउने तरिकालाई क्यान्टिलिभर भनिन्छ ।

चितवन जिल्ला प्रशासनले पटक पटक ताकेता गरेर जेठसम्म पहाड काट्ने काम सक्न निर्देशन दिएको थियो । त्यस्तै क्यान्टिलिभर राख्ने काम असोजमा सुरु हुने आयोजनाका अधिकारीहरुले बताउँदै आए पनि अहिलेसम्म यसको सुरुआत भएको छैन । नत अहिलेसम्म पहाड काट्ने काम सकिएको छ, न पहाड काट्न नसकिने ठाउँमा क्यान्टिलिभर राख्ने काम भएको छ ।

ढिलासुस्ती गर्ने ठेकेदारलाई नै पुल निर्माणको जिम्मा !

समयमा काम नगरी समय थप गर्दै जाने निर्माण कम्पनीलाई नै पुल निर्माणको जिम्मा लगाइएको छ । थपिएको अन्तिमपटकको म्याद सकिन ३ महिना बाँकी छँदा नै तिनै ठेकदारले सडकखण्डका पुल निर्माणको जिम्मा पाए ।

नारायणगढ-मुग्लिन सडकखण्डमा ४ वटा पुल निर्माणका लागि दुईवटा कम्पनी लामा कन्स्ट्रक्सन र रौताहा निर्माणसँग सम्झौता गरी सकिएको छ ।

यो सडकखण्डमा १८ वटा पुल निर्माण गर्नुपर्ने छ । अहिले ४ वटा नयाँ पुलले सडकखण्डको दासढुंगा पुल, खानीपुल, मौरीपुल र जलवीरे पुललाई विस्थापित गर्नेछन् ।

जलवीरे पुल १४ करोडमा ठेक्का दिइएको छ । अन्य तीन पुलको कूल निर्माण लागत १३ करोड रहेको छ । ३ वटा पूल निर्माणको जिम्मा लामा कन्सट्रक्सनले पाएको छ ।

जलवीरे पुल निर्माणको ठेक्का सोही खण्डमा सडक निर्माण गरिरहेको सुपि्रम रौताहा जेभीमध्ये नेपाली कम्पनी रौताहाले पाएको छ । जलवीरे पुल ८० मिटर लामो हुनेछ ।

आयोजनाका प्रमुख चन्द्रनारायण यादवले ठेेकेदारहरुले विधि पुर्‍याएर नै पुल निर्माणको जिम्मा लिएकोले आफुहरुले रोक्न नमिल्ने बताए । ‘यो सडक विभागको काम हो । लोयष्ट विट गरेर पाए होलान्’ प्रमुख यादवले भने ।

३ खण्डमा विभाजित यस आयोजनामा सबैभन्दा सुस्त गतिमा काम गरिरहेको रौताहा कम्पनीले नै पुल निर्माणको पनि काम पाउनुलाई कतिपयले मिलेमोतोको रूपमा हेरेका छन् । एक्काइस महिनाभित्र निर्माण गरिसक्नुपर्ने ती पुलको निर्माणको काम अघि बढेको आयोजनाका सूचना अधिकारी शिव खनालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment