Comments Add Comment

बाबुरामका तीन सेक्रेट: वाम गठबन्धनमा किन आए, किन छाडे, अब के गर्छन् ?

गठबन्धनमा उपेन्द्र यादवलाई कसले बोलायो, कसले खेदायो ?

३ माघ, काठमाडौं । गत असोज १७ गते एमाले र माओवादीवीच को औपचारिक घोषणा हुँदै गर्दा नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई पनि हात उठाएर ऐक्यवद्धता जनाउन पुगेका थिए । तर, भट्टराईले लगत्तै वाम गठबन्धन छाडे र चुनावमा कांग्रेससँग गठबन्धन गरे ।

डा. भट्टराई वाम गठबन्धनमा जानु र लगत्तै छाड्नुको भित्री रहस्य के थियो ? यो प्रश्नको स्पष्टीकरण डा. भट्टराईले चुनावपछि कास्कीको ल्वाङमा बसेको नयाँशक्ति पार्टीको आवासीय बैठकमा पनि दिनु परेको छ ।

नयाँ वैकल्पिक धार बनाउँछु भनेर हिँडेका डा. भट्टराई अकस्मात वाम गठबन्धनमा सामेल हुनु अनि तत्कालै छाडेर कांग्रेसतिर गठबन्धन बनाउन जानुले उत्पन्न गरेका प्रश्नहरुले अहिलेसम्म डा. भट्टराईलाई लखेटिरहेका छन् ।

आखिर डा. भट्टराई सुरुमा वाम गठबन्धनमा किन सामेल भए ? लगत्तै उनले गठबन्धन किन छाडे ? अनि अबको पाँच वर्ष डा. भट्टराईले के कस्तो बाटो समात्लान् ? यसबारे अनलाइनखबरले केही गुप्त परिघटना फेला पारेको छः

प्रचण्डले झुक्याए, ओलीले फकाए !

असोज १४ गते दशैंको दिन थियो । त्यसदिन काठमाडौंमा प्रचण्ड र बाबुरामवीच भेटवार्ता भयो । चुनावलाई ‘फेस’ गर्नका लागि अब माओवादी केन्द्र र नयाँशक्ति पार्टीवीच मोर्चा बनाउने कुराकानी सो भेटमा प्रचण्डले बाबुरामसँग गरे । बाबुरामले चाहिँ यस्तो मोर्चा बनाएर चुनावमा जाने हो भने उपेन्द्र यादवलाई पनि साथैमा लिएर जाँदा पहाड र मधेस दुबै समेटिने बताए ।

प्रचण्डसँगको सोही बसाइमा बाबुरामले उपेन्द्र यादवलाई फोन गरेर बोलाए । त्यसपछि प्रचण्ड, बाबुराम र उपेन्द्र यादववीच चुनावी मोर्चा बनाउने र साझा घोषणापत्र बनाएर अघि बढ्ने विषयमा छलफल भयो ।

साझा घोषणापत्रको ड्राफ्ट बनाउने जिम्मा उपेन्द्र यादवलाई दिइयो । र, असोज १६ गते त्यसमाथि छलफल गर्ने निचोडसहित तीन नेता छुट्टिए ।

तर, असोज १६ गते तीन नेताहरु जुटेनन् । बाबुरामले प्रचण्डलाई फोन गर्दा उनले ‘रेस्पोन्स’ नै गरेनन् । बाबुराम र प्रचण्ड सम्पर्कविहीन जस्तै भए । उपेन्द्र यादव पनि साझा घोषणापत्र नबनाई तराईतिर झरे ।

रोचक त के थियो भने बाबुराम भट्टराई र उपेन्द्र यादवसँग चुनावी मोर्चा र साझा घोषणापत्र बनाउनेबारे छलफल चलाएर छुटेका प्रचण्डले एमालेसँग पनि छलफल चलाइरहेका थिए । उनीहरु चुनावी गठबन्धनमा मात्रै होइन, पार्टी एकताकै बारेमा छलफल गरिरहेका थिए ।

यसैवीच प्रचण्डसँग सम्पर्क टुटेकैबेला केपी ओलीले बाबुराम भट्टराईलाई फोन गरेर बोलाए । डा. भट्टराई ओलीकहाँ पुगेपछि बल्ल झस्किए । भट्टराईले यसवीचमा प्रचण्डले फोन नउठाउनुको अप्ठ्यारो बुझे ।

त्यसपछि ओलीकै फोनबाट प्रचण्डलाई सम्पर्क गरियो । उपेन्द्र र बाबुरामसँग भएको सहमतिबारे प्रचण्ड टक्टकिन खोजे । तर, ओलीले वातावरणलाई सामान्यीकरण गरेर सहज बनाइदिए । अन्यथा बाबुरामसँग प्रचण्ड तर्किन खोजिरहेका थिए ।

ओली-बाबुराम भेटमा चुनावमा अलि वृहतखालको मोर्चा बनाएर अघि बढ्ने कुराकानी भयो । त्यहाँ पनि डा. भट्टराईले उपेन्द्र यादवको कुरा झिके । मधेस-पहाड मिलाउन उपेन्द्र यादवको पार्टीलाई पनि समेटेर अघि बढ्नुपर्ने र यसका लागि ‘कम्युनिष्ट केन्द्र’ को साटो समाजवादी पार्टीको अवधारणामा जानुपर्ने डा. भट्टराईले प्रस्ताव राखे । ‘कम्युनिष्ट’ शब्द हटाउने हो भने उपेन्द्र यादवलाई समेट्न सकिने डा. भट्टराईको विश्लेषण थियो ।

डा. भट्टराईको प्रस्तावमा केपी ओली सहमत देखिए । म पनि कम्युनिष्ट शब्द राख्नुहुँदैन भन्ने लाइनकै हुँ, तर अहिले कम्युनिष्ट नाम हटाउँदा धेरै गाली खाइन्छ, तर पछि त्यतै जाने हो भन्ने ढंगले ओलीले भट्टराईलाई आश्वस्त पारे ।

लगत्तै अर्को छलफल सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भयो । त्यहाँ वाम गठबन्धनको डकुमेन्टमाथि छलफल हुँदा पनि बाबुरामले ‘कम्युनिष्ट पार्टी’ भन्ने शब्द नराखौं भनेका थिए, तर प्रचण्ड र माधव नेपाल पक्षले ओली र बाबुराम दुबैलाई ‘चुप’ लगाएको स्रोतको भनाइ छ ।

डा. बाबुरामले आफ्ना निकटस्थहरुलाई भन्ने गरेका छन्, ‘एउटै समाजवादी केन्द्र बन्छ भने त्यहीँबाट देशलाई नयाँ विकल्प दिन सकिन्छ कि भन्ने लाग्यो र उपेन्द्र यादवलाई पनि समेटिन्छ भन्ने विश्वासमा परेर गठबन्धनमा सहभागी भइयो ।’

जब असोज १७ गते एमाले र माओवादीवीच वाम गठबन्धनको घोषणा भयो, त्यसपछि उपेन्द्र यादवलाई पनि समेट्ने प्रयास नगरिएको र आफूलाई पनि धकेलेर भित्तामा पुर्‍याउने षड्यन्त्र थालिएको डा. भट्टराई आफ्नो पार्टीभित्र बि्रफिङ गरेका छन् ।

वाम गठबन्धनमै बस्ने प्रयास असफल

आखिर उपेन्द्र यादव नआए पनि र कम्युनिष्ट नाम हटाउन तयार नभए पनि असोज १७ गते सार्वजनिक घोषणामा सहभागी भइसकेको अवस्थामा डा. भट्टराईले गठबन्धनभित्रै बसेर चुनावमा जाने योजना बनाए ।

यसका लागि उनले गोरखा २ लगायत १५ सिटमा प्रारम्भिक माग दाबी गरे । तर, यसमाथि मसिनो गरी बहस नै भएन, बरु यसको उल्टो गोरखा दुईमा माओवादीले नारायणकाजीलाई उम्मेदवार उठायो । बाबुरामले १५ सिट मागेकै कारण उनी गठबन्धनमा नअटाएको माओवादी र एमाले नेताहरुले प्रतिक्रिया दिए ।

यो घटनाले डा. भट्टराईलाई प्रचण्डसँग नराम्रोसित झस्कायो । उसै पनि प्रचण्डले उपेन्द्र यादव र आफूसँग त्रिपक्षीय सहमति गरेर सम्पर्कविहीन बनेकोमा डा. भट्टराई सशंकित थिए नै, पछि आफूलाई गठबन्धनबाट धकेल्न चाहेको उनले बुझे ।

‘ केही आशा गरेर त्यहाँ गइयो, तर वाम गठबन्धनले गरीखाने छाँटकाँट सुरुदेखि नै देखिएन, अहिले आएर त झनै उहाँहरुको स्वार्थकेन्दि्रत झगडा प्रष्टसँग देखइसकेको छ,’ वाम गठबन्धनबाट बाहिरिएका बाबुरामले अनौपचारिक जमघटहरुमा भन्ने गरेका छन्, ‘हामीले उहाँहरुलाई विश्वास गर्दा नयाँशक्तिमा पनि केही अलमल जस्तो देखियो ।’

प्रचण्डले आफूविरुद्ध नारायणकाजीलाई एउटै चुनाव क्षेत्रमा उतारेर हराउन खोजेपछि निर्वाचन जित्नु नयाँ शक्ति पार्टीका लागि प्रतिष्ठाको विषय बनेको र यसले गर्दा नेपाली कांग्रेससँग चुनावी सहकार्य गर्नुपरेको डा. भट्टराईको बुझाइ छ ।

बाबुरामले अब के गर्लान् ?

प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव सकिएपछि नयाँ शक्ति पार्टीले कास्कीको ल्वाङमा आवासीय बैठक आयोजना गरेको थियो । अब आगामी फागुन १० देखि १३ गतेसम्म नयाँशक्ति पार्टीले संघीय परिषदको विस्तारित बैठक डाकेको छ ।

‘चुनावपछि बसेको हाम्रो ल्वाङ बैठक समस्याको डायग्नोसिस बैठक थियो, अब फागुनको बैठक अपरेशनल बैठक हुनेछ,’ नयाँशक्ति पार्टीका नेता गंगानारायण श्रेष्ठ भन्छन्,- अब बस्ने बैठकले नीति कार्यक्रम र संगठनमा समेत व्यापक परिमार्जन गर्नेछ ।’

नयाँशक्ति पार्टी स्रोतका अनुसार पार्टीका संयोजक डा. भट्टराईका साथै पार्टीको मुख्य नेतृत्व नेपालमा वैकल्पिक नयाँ शक्तिको आवश्यकता अझै रहेको र वाम गठबन्धनले पनि देशलाई विकल्प दिन नसक्ने निश्कर्षमा पुगेको छ ।

डा. भट्टराई वाम गठबन्धनमा जाने हल्ला निराधार रहेको र अबको पाँच वर्ष उनी नयाँ शक्ति पार्टीलाई नै व्यवस्थित र संस्थागत गर्न लागिपर्ने सो पार्टीका नेताहरुको दाबी छ ।

यो पनि पढ्नुहोस्

अब बाबुराम भट्टराईको बाटो कता ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment