+
+
Shares

विज्ञ समितिको निश्कर्षः रानीपोखरी जंगबहादुरको हैन, प्रताप मल्लको शैलीमा

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ ३ गते १६:३४

३ माघ, काठमाडौं । रानीपोखरी पुननिर्माणका सम्बन्धमा देखिएको विवाद समाधान गर्न बनेको विज्ञहरुको समितिले प्रताप मल्लको पालाकै शैलीमा निर्माण गर्न सिफारिस गरेको छ ।

पोखरी र सँगै रहेको बालगोपालेश्वर मन्दिरको प्रताप मल्लकालीन शैलीमै निर्माण गर्न विज्ञहरुको समितिले सिफारिस गरेको हो ।

समितिको प्रतिवेदनमा मन्दिर रानीपोखरी पनि प्रताप मल्लकै पालाको जस्तै निर्माण गर्नुपर्ने र मन्दिरलाई ग्रन्थकुट  (शिखर) शैलीमा निर्माण गर्नुपर्ने सिफारिस गरिएको छ ।

पोखरी र मन्दिर जंगबहादुर राणा र जुद्धसमशेर राणाको पालामा पनि केही परिवर्तन भएकाले त्यसको समेत अध्ययन गरी त्यसअघिकै शैलीमा पुननिर्माण गर्न समितिले सुझाव दिएको छ ।

पुरानै शैलीमा मन्दिर निर्माण गर्नका लागि हाल राखिएका कंकि्रटहरु हटाउन सिफारिस गरिएको विज्ञ समितिका संयोजक तथा पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीले जानकारी दिए ।

साथै रानी पोखरीमै कंक्रिटको प्रयोग गरेर निर्माण गरिएका भौतिक संरचनाहरु पनि हटाउने सिफारिस गरिएको संयोजक कार्कीले बताए ।

समितिको प्रतिवेदनमा पोखरीमा पानी टिकाइराख्नका लागि विज्ञ समिति बनाउने, रानीपोखरीभित्रका धाराहरुलाई पुनर्स्थापित गर्ने, चारकुनामा रहेका मन्दिरहरुलाई कम्पाउण्डभित्र राख्न सिफारिस गरेको छ ।

रानीपोखरीमा रहेको सेता हात्तिको चित्रमा चुनासमेत दल्न नहुने समितिले सुझाव दिएको छ । रानीपोखरीको वाल पनि प्रताप मल्लकै पालाको जस्तो इट्टा प्रयोग गरेर निर्माण गर्न सुझाव दियएको छ ।

मन्दिर जाने पुलको छेउवा रहेको तारको ठाउँमा इट्टा राख्नुपर्ने समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

रानी पोखरीलाई ३ चरणमा पुनर्निर्माण गर्न सुझाइएको छ । 

पहिलो चरण
· पोखरीको विभिन्न अवस्था र स्थितिलाई पत्ता लगाई परम्परागत स्वरुपमा जीर्णोद्धार गर्न थप पुरातात्विक अध्ययन एवं अनुसंधान कार्य अघि बढाउने ।

· पोखरीको पानी स्थायित्वका लागि ‘हाइड्रोलोजिस्ट को सेवा उपलब्ध गर्नुपर्ने ।

· अनुसन्धान एवं पानीको स्थायित्वको लागि उपलब्ध हुने सुझाबको आधारमा पोखरी जीर्णोद्धार गर्ने लागत अनुमान र कार्ययोजना बनाई कार्यारम्भ गराउनु पर्ने ।

· पुरातात्विक उत्खननबाट पोखरीमा परम्परागत रुपमा संचालन गरिएका पानीका स्रोतहरुको अनुसन्धान गरिनु पर्ने र पोखरीमा पानी प्रवेश गराउने इनलेट रर आउटलेट को खोजी गर्ने ।

· पोखरीको मौलिक स्वरुप र संबेदनशिलतालाई प्रतिकुल प्रभाव पर्ने गरी निर्माण भएका संरचना र कंक्रिट रिटेनिङ्गवालको संरचना हटाई परम्परागत स्वरुप बमोजिमको कार्यारम्भ गर्नुपर्ने ।

· पोखरीको केन्द्रविन्दुमा रहेको बालगोपालेश्वरको जगको अवस्थिति पत्ता लगाउन पुरातात्विक उत्खनन् गर्नुपर्ने ।

· बालगोपालेश्वर मन्दिरसम्म जाने बाटोको रुपमा निर्माण भएको पुलको जीर्णोद्धार गर्नुका साथै उक्त पुलमा लगाईएको बार परम्परागत शैलीमा निर्माण गर्नुपर्ने र पुलको फाउण्डेसन एवं सोमाथिको गाह्रो जीर्णोद्धार गर्नुपर्ने ।

· बालगोपालेश्वर मन्दिरमा राखिएका मकराकृति धाराहरु मध्ये नयाँ स्वरुपमा निर्माण गरिएका धाराहरु हटाई एकरुपता त्याउन पुरानो बमोजिमको शैलीमा निर्माण गरी जडान गर्नुपर्ने ।

· पोखरीको जीर्णोद्धार कार्य संचालन गर्न आवश्यक परिमाणमा प्रतापमल्लकालीन गुणस्तरका ईंट्टाहरुको निर्माण ब्यबस्थापन कार्य अगाडि बढाउनु पर्ने ।

· रानीपोखरीको समग्र जिर्णोद्वार गर्ने ड्रइङ, डिजाईन गरी सो अनुरुप गर्नुपर्ने ।

· रानीपोखरीमा जीर्णोद्वार गर्ने कार्य संवद्द विज्ञ समुहको अनुगमन/सुपरीवेाकमा गर्न उपयुक्त

दोस्रो चरण

· रानीपोखरीको ऐतिहासिक एवं पुरातात्विक स्वरुप नासिने गरी निर्माण भएका संरचनाहरु हटाई पुरानै स्वरुपमा निर्माण गर्ने ।

· हाल पोखरीको पूर्वर् र दक्षिणतर्फको आधाभागसम्म निर्माण गर्दा काटिएको पोखरीको डिललाई बचाउने कार्य गर्ने ।

· पोखरीको संकलित पानी स्थायित्वका लागि आवश्यक प्राविधिक उपायहरु अवलम्बन गर्नुपर्ने ।

तेस्रो चरण
· जीर्णोद्धार पश्चात् पोखरीको पुरातात्विक एवं ऐतिहासिक वातावरण कायम राखी सौंन्दर्यीकरण गर्ने ।

· रानीपोखरी स्थित चारैकुनामा निर्मित मन्दिरहरुलाई रानीपोखरीको हाताभित्र पार्ने र तिनको आवश्यक जीर्णोद्धार गरी परम्परागत सांस्कृतिक एवं धार्मिक कृयाकलापहरु सुचारु गर्ने ।

· रानीपोखरी स्थित बालगोपालेश्वर मन्दिरमा संचालन हुने बाषिर्क भाईटीका जस्ता कार्यक्रमहरुलाई जीवन्तता प्रदान गर्ने ।

· रानीपोखरीको उत्तरतर्फ निर्माण भएका भवनहरु हटाई परम्परागत रुपमा संचालन भई आएको चांगुनारायणको कलश यात्रा विश्रामस्थल भएको ठाउंको सम्पदालाई मर्मत संभार गरी सोको सांस्कृतिक महत्वलाई अभिबृद्धि गर्ने ।

· प्रतापमल्ल सहित दुई छोरा आरोहण भएको हात्तीमा पोतिएको सेतो चुना हटाई मौलिक स्वरुपमा कायम गर्ने ।

· उक्त हात्तीको पूर्वतर्फ निर्मित शिव मन्दिरको सुधार एवं नित्यपूजा संचालनमा ल्याउने ।

· वर्षादको पानी पोखरीमा संग्रह गर्ने प्रविधि सहितको स्रोत व्यवस्थापन गर्ने ।

· नगरपालिकाद्वारा निर्मित भोटाहिटीको सबवेमा प्राप्तभएको पानीको स्रोत पोखरीमा परिचालन गर्ने सम्बन्धमा अनुसन्धान गर्ने ।

दीर्घकालीन कार्यहरु

· रानीपोखरीको पानी सुक्नबाट जोगाउन – रानीपोखरी हाल बाटोको सतहभन्दा १९ फिट तल रहेको हुंदा सोभन्दा मुनीको सतहमा रहेको पानी सुक्नबाट जोगाउन अन्य कृतिम माध्यमद्वारा कम्तिमा १००० मिटर वरपर डिप ट्वीबेल जस्ता पानी निकाल्ने प्रविधिलाई प्रयोगमा निषेध लगाउनेर हाल भैरहेका त्यस्ता कार्यहरु निरुत्साही गर्नकाठमाडौं महनगरपालिकाले नीति बनाउने ।

· पोखरीमा जमेको पानी शुद्धताका लागि समय-समयमा पानी परिक्षण स्वच्छताका लागि अन्य आवश्यक उपायहरुका लागि विशेषज्ञहरुको राय परामर्श अनुसार कार्य गर्ने ।

· पोखरीको सांस्कृतिक एवं प्राकृतिक वातावरण कायम राख्ने कार्यहरु निरन्तर रुपमा गर्ने गराउने ।

· पोखरीको पानीको प्राकृति शुद्धता कायम राख्न गरिने माछापालन तथा राजाहांस पाल्ने कार्यलाई निरन्तरता दिने ।

· पोखरीको पानी तथा वरपरीको बगैंचाको सुन्दरता कायम राख्न दैनिक सरसफाई व्यवस्थापन गर्ने ।

· रानीपोखरीको व्यवस्थापन कार्यका लागि नागरिकको पहुँचलाई सुगम तुल्याई यस पोखरीको दीगो व्यवस्थापनका लागि कायम राख्न आम्दानीको स्रोत व्यवस्थापन गर्ने ।

निस्कर्ष

सम्पदा जीर्णोद्धार सम्बन्धमा उत्पन्न आधुनिकीकरण र मौलिकीकरण कायम राख्ने सम्बन्धमा सिर्जित विचारहरु विचका संघर्षले प्राचीन प्रविधि र शिपलाई यथा अवस्थामै लैजाने वा आधुनिक प्रविधिको प्रयोग गर्ने विच विवाद देखिन्छ ।

मौलिक शैली र शिप हिजोको गहिरो अनुसन्धानलप सिर्जना गरेको अनुभव हो । त्यसको निरन्तरतालाई यथाशक्य कायम राख्नुपर्छ भन्ने उद्देश्यले अन्तर्राष्ट्रिय युनेस्को जस्तो संस्थाको गठन भै त्यसका मान्यता र सिफारिसहरुलाई विश्वका थुप्रै राष्ट्रहरुले ग्रहण गर्दै आएका छन् ।

यस्ता मान्यताहरुलाई अनुशरण गर्ने क्रममा विशेष परिस्थितिमा विकासोन्मुख राष्ट्रहरुमा आधुनिकीकरण र प्रवलीकरणको सिद्धान्त प्रवल भएका कारणलेनै विभिन्न समयमा विश्वसंपदा क्षेत्र खतराको सूचिमा पर्ने गरेको पाइन्छ । प्रवलीकरणको प्रयोग संपदाको आदरसंम्मानलाई कायम राखी प्रयोग नगर्नु भन्ने हैन ।

तर यसको स्वरुप शैलीलाई नष्टगरी नविकरणीय कार्य प्रयोग गर्नु भन्ने कदापि होइन । तथापि यस्ता विषयहरुलाई मान्यता नदिने विचार र सिद्धान्तलाई परास्तगरी तिनको उचित परम्परागत स्वरुप र प्रविधिमा संरक्षण गर्नुनै सम्पदा प्रतिको सचेत अभिमत हो ।त्यसै अनुरुप रानीपोखरीको जीर्णोद्धार गर्नुपर्ने जन अभिमत पनि पाईन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?