Comments Add Comment

दुर्गा तिवारी र बलु पौडेलको हत्या एउटै पेस्तोलबाट !

बलुकाे हत्याका लागि ३ लाख ३० हजार रूपैयाँकाे 'सुपारी'

७ माघ, काठमाडौं । दुर्गा तिवारी र वसन्त पौडेल (बलु) को हत्यामा एउटै पेस्तोल प्रयोग भएको खुलेको छ ।

युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको ४ पुस २०७३ मा हत्या भएको थियो भने उनका साथी एवं फर्निचर व्यवसायी बलुको २१ पुसमा हत्या भएको थियो । दुबैको हत्यामा मनोज पुन समूह संलग्न छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र रुपन्देही प्रहरीको संयुक्त टोलीले बलुको हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेका पदम चौधरी हतियार र मोटरसाइकल व्यवस्थापक हुन् भने महेन्द्र चौधरी वैकल्पिक सुटर र पदमका सहयोगी हुन् ।

घटनामा प्रयोग भएका मुख्य सुटर विवेक हुन्, जसकाे थर खुलेकाे छैन । उनी मनाेज पुनकाे नजिककाे व्यक्ति भएकाे प्रहरीले जनाएकाे छ । पुन समेत फरार छन् ।

अहिलेसम्मको अनुसन्धानले तिवारी र पौडेलको हत्यामा एउटै पेस्तोल प्रयोग भएको देखाएको रुपन्देही प्रहरीका एसपी श्याम ज्ञवालीले अनलाइनखबरलाई बताए । ‘९ एमएमको इटालियन पेस्तोल दुई घटनामा प्रयोग भएको खुलेको छ’, ज्ञवालीले भने, ‘थप अनुसन्धान भइरहेको छ ।’

इलाका प्रहरी कार्यालय बुटवलमा आयोजित पत्रकार ससम्मेलनमा प्रहरीले उक्त पेस्तोल सार्वजनिक गरेको छ, जुन बलु हत्यामा संलग्न पदम चौधरीले नवलपरासीको सुनवलस्थित घर पछाडि गाडेको अवस्थामा भेटिएको छ ।

चौधरीले बलु हत्यामा संलग्नहरुलाई हतियार र मोटरसाइकल व्यवस्थापनको काम गरेका थिए । यसका लागि उनले हत्याका योजनाकार मनोज पुनबाट हुण्डीमार्फत २ लाख ३० हजार रुपैयाँ लिएको खुलेको छ ।

बलुको हत्यामा ३ लाख ३० हजार रुपैयाँ ‘सुपारी’ लिने गरी डिलिङ भए पनि १ लाख रुपैयाँ भने अभियुक्तहरुले लिन बाँकी रहेको अवस्थामा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस् 

बलु हत्याकाण्डः हतियार व्यवस्थापक समातिए, योजनाकार र सुटर फरार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment