Comments Add Comment

चित्रसेनकली सुत्केरी हुने दिन कुर्दै हात्तीसारका कर्मचारी

७ माघ, बारा । पर्सा राष्ट्रिय निकुञ्जको अमलेखगञ्जस्थित हात्तीसार हिजोआज निकै उत्साह छाएको छ । १२ वर्षीया कान्छी ढोई (पोथी हात्ती) चित्रसेनकली सुत्केरी हुने दिन नजिकिएका कारण कर्मचारी उत्साहित हुनुका साथै उसको सेवा टहलमा ब्यस्त बनेका छन् ।

हात्तीसारका दरोगा जलेन्द्रप्रसाद चौधरीको समूहका पछुवा अनिल चौधरी र माहुत सचिनकुमार श्रेष्ठको दिन चित्रसेनकलीको सेवा टहलमै बित्छ ।

भरेभोली भएकी चित्रसेनकलीलाई कतिखेर सुत्केरी ब्यथाले च्याप्ने हो भनी निरन्तर हात्तीसारमानै खटिएका हुन्छन् ।

२०४१ सालमा स्थापना भएको यो हात्तीसारमा यसअघि भवानीकलीले २०५६ सालमा मृत बच्चा जन्माएकी थिई । त्यसपछि यस हात्तीसारमा गर्भवती भएकी चित्रसेनकली नै हो । त्यसैले निकुञ्जका कर्मचारीहरु उत्साहित भएका हुन् ।

चित्रसेनकली गर्भवती भएको २२ महिना पूरा भई २३ महिना लागेको छ । यही माघ महिनामा सुत्केरी हुनुपर्ने चिकित्सकको भनाइ छ । २४ महिना वा पछि जन्मिने छावालाई खतरा पनि हुन सक्ने चिकित्सकले बताएकाले जति सक्दो चाँडै सुत्केरी भइदिए हुन्थ्यो भन्ने कामना गरेको माहुत सचिनकुमार श्रेष्ठले बताए ।

सुत्केरी व्यथा लागेपछि आमाले हात खुट्टा चलाएर छावालाई मार्न पनि सक्ने सम्भावना भएकाले आफूहरु सजग भएको हात्तीसारका नायव सुव्बा मनपुरन चौधरी बताउँछन् । पर्सा राष्ट्रिय निकुञ्ज हात्तीसारका कर्मचारीका अनुसार चित्रसेनकली २/३ दिन हराएर एउटा जंगली मत्ता हात्तीसंग गर्भधारण गरेको दरोगा जलेन्द्रप्रसाद चौधरीले जानकारी दिए ।

त्यही आधारमा चित्रसेनकली २०७२ चैत १५ गतेतिर गर्भवती भएको अनुमान गरिएको छ । हात्तीसारमा रहेका १० हात्तीमध्ये चित्रसेनकली समेत अन्य ४ ढोई मात्र वयस्क तथा प्रजनन क्षमता भएका छन् । गर्भवती भएको यकीन भएपछि उसलाई अन्य हात्तीका तुलनामा आहार, आराम र सेवाटहलमा विशेष हेरविचार पुर्‍याइएको छ ।

सामान्यतया हात्तीले गर्भधारण गरेको २० देखि २२ महिनाभित्र छावालाई जन्म दिने गरेको पाइन्छ । तर चित्रसेनकलिले गर्भधारण गरको २२ महिना पुरा भई २३ महिना लाग्दासमेत सुत्केरी नहुँदा हात्तीसार नजिकका स्थानीयहरुकोे समेत चिन्ता र चासोको विषय बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment