७ माघ, काठमाडौं । एमाले र माओवादीको पार्टी एकता संयोजन समितिको बैठकमा मुख्यमन्त्रीबारे छलफल नै नभएको नेताहरुले बताएका छन् ।
बैठकले राष्ट्रियसभा सदस्यको सिट बाँडफाँट अनुमोदन गरेको छ भने सुशासन र विकासबारे योजना बनाउन बामदेव गौतमको नेतृत्वमा कार्यदल बनाएको छ ।
प्रदेशसभा सदस्यहरुले सपथ लिएकै दिन आइतबार एमाले र माओवादी शीर्ष नेताहरुको बैठक बसेको थियो । एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको बैठकमा मुख्यमन्त्रीबारे छलफल नै नभएको माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
यसबारे सुवास नेम्वाङ नेतृत्वको कार्यदलले नै थप गृहकार्य गर्ने नेताहरुले बताएका छन् ।
कार्यदलमा एमाले ४ र माओवादी केन्द्रले २ मुख्यमन्त्री लिने लगभग सहमति देखिन्छ ।
तर, माओवादीले एमालेले मुख्यमन्त्री पाएका ठाउँमा आफूले सभामुख पाउनु पर्ने दाबी गरेको छ भने एमालेले सभामुख पनि २ मात्र लिन प्रस्ताव गरेको छ ।
पार्टी एकता संयोजन समितिको बैठकले राष्ट्रियसभाको ४३ सिट मध्ये २९ एमाले र १४ माओवादीले लिने कार्यदलको सहमतिलाई अनुमोदन गरेको छ ।
नयाँ सरकारको सुशासन र विकासका प्राथमिकताबारे सुझाव दिन एमाले उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा एमालेका भीम रावल, युवराज खतिवडा, विजय पौडेल छन् भने माओवादीबाट वर्षमान पुनसहित तीन जना छन् ।
एकताबारे ओली र प्रचण्डले थप गृहकार्य गर्ने
बैठकमा पार्टी एकताबारे छलफल भएपनि ठोस कुनै निर्णय नभएको नेताहरुले बताएका छन् । एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डले थप गृहकार्य गर्नुपर्ने देखिएको एक नेताले बताए ।
दुई अध्यक्षबीच छलफल भएपछि समितिको बैठक बस्ने र संगठन तथा वैचारिक विषयमा गृहकार्य गर्न कार्यदल बनाउने समझदारी भएको छ ।
प्रतिक्रिया 4