Comments Add Comment

श्रीमान श्रीमतीवीच यौनईच्छा फरक हुँदा के गर्ने ? करुणा कुँवरको सुझाव

जिज्ञासाः म ३३ बर्षको भएँ । मेरा श्रीमान ३५ को हुनुहुन्छ । हाम्रो विवाह भएको ९ वर्ष भइसक्यो । शुरु शुरुमा म यौनमा अनुदार थिएँ । श्रीमानको प्रथम आग्रहमा मलाई शारीरिक सम्बन्ध राख्न मन मान्दैनथ्यो । पटक पटकको आग्रह र प्रलोभनपछि मात्र म उहाँका लागि यौनकर्ममा सरिक हुन्थेँ । कहिलेकाहीँ यही कारण हाम्रो झगडा हुन्थ्यो । त्योबेला उहाँ निकै दुःखी हुनुहुन्थ्यो ।

आजभोलि उल्टो भएको छ । उहाँलाई यौनमा अरुचि प्रकट हुन थालेको छ । मलाई भने यौनेच्छा जागि्रत हुन थालेको छ । आजभोलि म उहाँलाई आग्रह गर्छु र उहाँ अरुचिपूर्वक मेरा लागि सम्पर्कका लागि राजी हुनुहुन्छ । यसले मलाई चरम निराशामा पार्न थालेको छ । उचित समाधान चाहन्छु ।

सुझावः यौनचाहना सम्बन्धी यस्ता प्रश्न धेरैले राख्ने गरेको मैले पाएकी छु । यौन चाहना एउटा प्राकृतिक विषय हो । यसलाई सिकाइरहनु आवश्यक पर्दैन । तैपनि निकै कमले यौनको चरम आनन्द प्राप्त गर्छन् । यसको कारण सन्तुष्टि प्राप्त गर्न केही सीप सिक्नु जरुरी छ ।

यौन सम्पर्क हुने जोडीमा अन्य केही समस्या छैन भने पनि कहिलेकाहीँ यौनका बारे वा भनौं दुवैको शरीरलाई राम्ररी बुझ्न नसकिएको अवस्थामा ठूलो समस्या हुने गरेको धेरै उदाहरणहरु छन् । माथि भनेजस्तै यौन चाहना प्राकृतिक कुरा मात्र नभई यो नितान्त मनोवैज्ञानिक विषय पनि हो ।

तपाईको प्रश्न हेर्दा लाग्छ, तपाई अहिले दुविधामा हुनुहुन्छ । तपाईहरुको यौन चाहनामा भिन्नता नै तपाईहरु वीचको यौन सम्बन्ध निराश भएका हो कि भन्ने बुझिन्छ । धेरैजसो व्यक्तिहरुले महिलाहरुमा भन्दा पुरुषहरुमा यौनईच्छा बढी हुन्छ भन्ने धारणा राख्दछन् । यौन चाहना वा भनौ यौनको विषयलाई खुलेर आफ्नो पार्टनरसँग कुरा गर्न सक्दैनन् । वास्तवमा महिलामा पनि यौन चाहना हुन्छ । यो स्वाभाविकै हो ।

तपाईको प्रश्न पढ्दा सुरुमा तपाईंलाई यौनको चाहाना कम हुन्थ्यो । यसको कारण सामाजिक धारणा हो । हाम्रो समाजमा यौनलाई सानैदेखि नराम्रो काम हो भन्ने गरिन्छ । युवा-युवती खुलेर हाँसेखेलेको कुरालाई ‘मात्तिएको’ वा ‘पात्तिएको’ भन्ने गरिन्छ । सानो उमेरदेखि नै महिला र पुरुषको प्रेमलाई गल्तीको संज्ञा दिएको सुन्दै बुझ्दै आउँदा उमेरमा पनि मानिसलाई यो कुरा गलत हो भन्ने पर्दैजान्छ । यसको सीधा असर वैवाहिक जीवनमा पर्छ । जुन तपाईंंले पनि भोग्न भयो । विस्तारै शरीर र मनले यो स्वीकार गर्दै जाँदा आज तपाईं यौनमा खुला हुनुभएको छ र तपाईंमा श्रीमानसँग घुलमिल हुने र सुखमय यौन जीवनको चाहना बढेको देखिन्छ ।

यता तपाईको श्रीमानको यौन चाहना समय अनुसार कम हुदै गएको हो भन्ने बुझिन्छ । यसको कारण भने भिन्न हुन सक्छ । जब तपाईंको श्रीमानमा यौनका चाहाना प्रवल थियो त्यो बेला तपाईंको यौन चाहाना कम थियो । फलस्वरुप तपाईंको श्रीमानलाई चरम निराशाले घेरेको थियो । अहिले उहाँमा चाहाना कम छ, त्यसले तपाईंको पीडा बढेको छ । यसमा परपीडक स्वभावले काम गरेको हुनसक्छ ।

मानिसमा स्वपीडक र परपीडक दुई खालका स्वभाव हुनसक्छ । जब अरु कोही दुःखी हुन्छन्, तपाईंलाई खुसी लाग्छ र अरु कोही खुसी हुन्छन्, तपाईंलाई दुःख लाग्नसक्छ । यसलाई परपीडक स्वभाव मानिन्छ । लामो समय तपाईंको यौन स्वाभावका कारण तपाईंको श्रीमानमा परपीडक स्व्ााभाव विकास भएको हुनसक्छ । यसलाई तपाईंले नै ठीक पार्न सक्नुहुन्छ । यसका लागि उहाँलाई बुझ्ने प्रयास गर्नुपर्ने हुन्छ ।

उसो त तपाईंहरुलाई नभेटी यो निष्कर्ष निकाल्न मिल्दैन । दोस्रो कारण तपाई र तपाईको श्रीमानको वीचमा अन्य कुनै कुरामा मतभेद वा झगडा छ भन्ने पनि बुझिन्छ । एकअर्का प्रति सम्मान गर्ने बानी र स्वाभावमा पनि समस्या थपिन थालेको हुनुपर्छ । एकअर्का प्रतिको आकर्षणमा समस्या पर्न थालेको हुनुपर्छ । परस्त्रीगमन पनि हुन सक्छ । अथवा भनौं मानसिक तनावका धेरै स्रोतहरु हुन सक्छन् । तिनीहरुलाई पत्ता लगाउने र त्यसलाई न्यूनीकरण गर्नेतिर जोड दिनुपर्ने हुन्छ ।

हाम्रो समाजमा धेरै मानिसहरु विभिन्न बाध्यता आशा, प्रभाव, भ्रमपूर्ण प्रेम, खानदान कथित सामाजिक प्रतिष्ठा आदिलाई ध्यान दिने गर्छन् र तत्काल विवाह गरिहाल्छन् । एकअर्कालाई राम्ररी बुझ्ने प्रयास नगरी गरिएका यस्ता बिबाहहरु पछि सम्म पनि पारिवारिक असन्तुष्टि र कलहका स्रोत बन्न सक्छन् । तपाईको समस्याको वास्तविकतामा पुग्नु अगाडि यस्ता धेरै बिषयहरुलाई केलाउनुपर्ने हुन्छ ।

तपाईको श्रीमानमा यौन निश्क्रि यतासम्बन्धी कुनै समस्या भएको पनि हुन सक्छ । यसका लागि चिकित्सकसँग सम्पर्क गर्नुपर्ने हुन्छ । यदि तपाईको यौन चाहना सधंै बढी हुने गरेको हो भने यो अस्वाभाविक चाहिँ होइन । खासमा यौन क्रियाकलाप कतिपटक भयो भन्नुभन्दा कति गुणस्तरीय भयो भन्ने महत्वपूर्ण कुरा हो ।
जहाँसम्म यौन चाहना घटीबेसीको प्रश्न छ, हरेक ब्यक्तिको यौन ईच्छा फरक हुन्छ भन्ने कुरा बुझ्न आवश्यक हुन्छ । कोही यौन ईच्छा दैनिक चाहन्छन् भने कोही महिनामा एक दुईपटक । तपाईहरु दुबैले कहिलेकाहीँ हुने र सँधै हुने लाई ठूलो समस्या वा स्वस्थ नभएको भनेर बुझ्नु उचित हुँदैन ।

त्यसकारण तपाईको पार्टनरमा कुनै खराबी छ भनेर सोच्नुभन्दा तपाईहरु दुबैको यौनईच्छा फरक छ भनेर बुझ्नु र कसरी एकअर्काको यौन चाहनालाई सम्मान दिने भनेर सोच्नु उचित हुन्छ । यदि तपाईहरु एकअर्कालाई दोष लगाउने गर्दा विभिन्न समस्याको सृजना हुन सक्छ र तपाईको सम्बन्ध झन् जटिल बन्दै जान्छ । आफ्नो पार्टनर जसको यौन ईच्छा कम छ, उसलाई दबाब दिनुभन्दा एकअर्काप्रतिको बुझाईलाई बदावा दिन आवश्यक हुन्छ । दुईवीच यौन चाहनालाई लिएर कुराकानी गर्ने, भावना साटासाट गर्नुपर्ने हुन्छ ।

आकर्षक बन्ने, परिवेश यौनमय बनाउने, हँसीमजाक गर्ने, यौनअंगहरुलाई उत्तेजित मूडमा सुम्सुम्याउने, एक अर्काको शरीर र भावनालाई बुझ्न प्रयास गर्ने कामहरु गर्नुहोस् । विगतमा आफ्नो यौन विषयको ज्ञानमा कमी भएको कुरालाई स्वीर्कादै अहिले यस विषयको बुझाइको बारेमा पनि खुलेर कुरा गर्नुहोस् ।

श्रीमानलाई आफ्नो शरीर दिनमा एकपटक नजिकबाट नियाल्न लगाउनु र उहाँको शरीरलाई पनि नियाल्ने र प्रशंशा गर्ने गर्नुहोस् । कुराकानी सकारात्मक पाटोबाट गर्नु उचित हुन्छ । एकअर्काको राम्रा पक्षको बारेमा चर्चाले एकअर्का वीचको सम्मानमा वृद्धि हुन्छ र यौन सम्बन्धमा सुधार अवश्य हुन्छ ।

(यौन स्वास्थ्य सम्बन्धी तपाईका कुनै समस्या भए पारिवारिक मनोपरामर्शदाता तथा याैन मनोबिज्ञ करुणा कुँवरलाई [email protected] मार्फत प्रश्न राख्न सक्नुहुनेछ । प्रश्नको जवाफ अनलाइनखबरमा हरेक साता छापिनेछ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment