Comments Add Comment

रक्तचन्दनको कारोबार बन्द भएको हो त ?

फाइल फाेटाे

१४ माघ, बनेपा । बहुचर्चित रक्तचन्दनको नाम आजकल सुन्न छाडेपनि अहिले पनि आम जनतामा जिज्ञासा छ, यसको अवैध कारोबार बन्द भएको हो त ? रक्तचन्दनबारे स्थानीय प्रशासन र प्रहरीको आ–आफ्नै तर्क छ ।

सिन्धुपाल्चोकको तातोपानी नाकाबाट नेपाल भित्रिने रक्तचन्दन अरनिको राजमार्ग हुँदै काठमाडौँं प्रवेश गर्न लाग्दा धेरै पटक प्रहरीले पक्राउ गरेपनि केही वर्षयता यसको अवैध कारोबार भए नभएको बारे प्रहरी समेत अनविज्ञ छ ।

केही वर्षअघि रक्तचन्दनको अवैध ओसारपसार हुँदा प्रहरीले काभ्रेपलाञ्चोकको पाँचखाल, दोलालघाट, उग्रचण्डीनाला, धुलिखेल लगायतका क्षेत्रबाट विभिन्न व्यक्तिलाई पक्राउ गरेको थियो । सिन्धुपाल्चोकको विभिन्न ठाउँबाट रक्तचन्दन बरामत हुनुका साथै तस्कर समेत समातिएका थिए ।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंम्खडाले सिन्धुपाल्चोकको तातोपानी नाका अवरुद्ध भएको र चीनमा पनि उत्पादन शुरु भएका कारण यसको कारोबार नभएको अनुमान लगाउँछन् ।

उनी भन्छन्– “सुनको अवैध कारोबार फाट्टफूट्ट सुनिन्छ तर यसको कारोबार सुन्नमा आएको छैन ।”

रक्तचन्दनमा धेरै कडाइ भएपछि तस्करले शैलीपरिवर्तन गरेर रक्तचन्दनको तेलको अवैध धन्दा पनि चलाएका थिए । काठमाडौंँमा केही वर्षअघि ९० लिटर रक्तचन्दनको तेलसहित केही व्यक्ति फेला परेपछि तेलको पनि कारोबार भएको कुरा खुलेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले चीनको मुख्य नाका तातोपानी बन्द भएका कारण रक्तचन्दको कारोबार नभएको हुनसक्ने आशंका गर्छन् ।

रक्तचन्दन साइटिस सन्धिको अनुसूची– २ मा सूचीकृत छ । अनुसूची–२ मा सूचीकृत भएकाले व्यापार– व्यवसाय गर्न पाइने भए पनि भारत सरकारले व्यापार– व्यवसायमा पूर्णरुपले प्रतिबन्ध लगाएको छ ।

सन्धि बमोजिम बरामद भएका वस्तु जुन देशमा उत्पादन भएको सोही ठाउँमा पठाउनुपर्ने कानूनी प्रावधान छ । चीनमा रक्तचन्दनको मूल्य प्रतिकेजी १६ हजार रुपैयाँसम्म पर्छ ।

रक्तचन्दनको अवैध कारोबार गर्ने व्यक्तिले भारतबाट नै कारोबार गरेका कारण नेपालमा यसको नाम कम सुनिएको जानकारी दिँदै तातोपानी नाका बन्द भएपछि कारोबार नभएको स्थानीय बताउँछन् ।

नाका केही समय खुल्दा फाट्टफूट्ट कारोबार समेत भएको उल्लेख गर्दै स्थानीय भन्छन्, रसुवा नाकाबाट रक्तचन्दनको कारोबार सम्भव नभएकाले तस्करले भारतबाट नै रक्तचन्दन चीन पठाउँछन् ।

काभ्रेपलाञ्चोक क्षेत्रबाट केही वर्षअघि झण्डै ९०० किलो अवैध रक्तचन्दन बरामद भएको जिल्ला वन कार्यालयका अधिकृत अर्जुन खड्का बताउँछन् । उनका अनुसार बरामद भएका सबै रक्तचन्दन वन विभागलाई बुझाइएको र रक्तचन्दनको अवैध ओसारपसार सम्बन्धी– ८ वटा मुद्दा दायर भएकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment