१७ माघ, काठमाडौं । गएको शुक्रबार राति दरबारमार्गको होटल ल्याण्डमार्कमा आफू बलात्कृत भएको भन्दै एक युवती महानगरीय प्रहरी वृत्त दरबारमार्गमा पुगिन् ।
बिहीबार राति प्रेमीसँग होटलमा बसेकी उनले ३ जना युवकबाट आफू बलात्कृत भएको भन्दै प्रहरी कहाँ पुगेकमी थिइन् । उनको मौखिक उजुरीका आधारमा प्रहरीले उनका प्रेमी शैलेश कार्कीलाई पक्राउ गर्यो ।
तर, बलात्कार घटनाको अनुसन्धान यतिमै रोकिएको छ । पीडितले लिखित उजुरी पनि दिइन्न्, युवक पनि केहीबेरमै थुनामुक्त भए । राजधानीमै भएको महिला हिंसाको यति ठूलो घटना किन यत्तिकै सामसुम भयो त ?
अहिले प्रहरीभित्रै यसको खोजी हुन थालेको छ । यही विषयमा अनुसन्धान गर्न प्रहरीभित्र दुईवटा समिति बनेको छ ।
दरबारमार्ग वृत्तका इन्स्पेक्टर प्रहरी थुनामा छन् भने पीडित भनिएकी युवती सम्पर्कबिहीन हुँदा अनुसन्धानै अप्ठ्यारो परेको छ ।
यस्तो थियो घटना
दाङ घर भएकी पीडित युवतीको केही महिनाअघि कार्कीसँग फेसबुकमार्फत चिनजान भएको थियो । कुराकानी अघि बढ्दै जाँदा उनीहरुको चिनजान प्रेममा परिणत भयो ।
गत बिहीबार कार्कीले युवतीलाई दरबारमार्गको ल्याण्डमार्क होटलमा बोलाए । तर, होटलमा कार्की एक्लै थिएनन्, उनले अरु तीनवटा कोठा बुक गरेर आफ्ना तीन जना साथी राखेका थिए ।
युवकहरु मदिरामा मस्त भएका बेला राति आफूमाथि सामूहिक बलात्कार भएको युवती प्रहरीसम्म पुगेकी थिइन् ।
किन अघि बढेन बलात्कारमा अनुसन्धान ?
त्यसपछि घटनामा नयाँ ट्वीस्ट आयो, प्रहरीले लेनदेनमा दुई पक्षलाई मिलाएको र आफूले पनि आर्थिक लाभ लिएको आरोप लागेको छ ।
प्रहरीका स्रोतका अनुसार प्रहरीमा मौखिक उजुरी आएपछि दुवै पक्षबीच छलफल भयो । कार्कीकी आमाले पीडित युवतीलाई बुहारी बनाउने भन्दै लिखित उजुरी नदिन आग्रह गरिन् । प्रहरीलेसमेत आर्थिक लाभ लिएर घटनालाई लुकाउन सहयोग गरेको प्रहरी स्रोत बताउँछ । तर, घटना सार्वजनिक भएलगत्तै युवती सम्पर्कबाहिर छिन् ।
घटनालाई लेनदेनमा मिलाएको सूचना पाएपछि महानगरीय प्रहरी परिसर काठमाडौंले एसपी रामदत्त जोशीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।
घटना लुकाउन संलग्न भएको आशंकामा दरबारमार्ग बृत्तका प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरी आफ्नै संगठनको थुनामा छन् । उनलाई पक्राउ गरेर प्रहरी प्रधान कार्यालयको १ नम्बर गणको थुनामा राखिएको छ ।
प्रतिक्रिया 4