Comments Add Comment

लागुऔषध सीमा कटाउन गर्भवती र बच्चाको आमा प्रयोग

साढे १० किलो चरेससहित ३ जना पक्राउ

१७ माघ, वीरगञ्ज । पछिल्लो समय लागू औषध ओसारपसारमा गर्भवती महिला र ससाना बच्चा भएका आमाको प्रयोग हुने गरेको रहस्य खुलेको छ । चेकजाँचका क्रममा सजिलै छुट्ने सम्भावना हुनाले कारोबारीले लागू औषध ओसारपसारमा यस्ता महिलाको प्रयोग गरेको पाइएको प्रहरीको भनाइ छ ।

बुधबार जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा साढे १० किलो चरेसहित तस्करीमा संलग्न तीन जनालाई सार्वजनिक गरियो । जसमा ८ महिने बच्चाको आमासहित दुई महिला र एक जना भारतीय पुरुष रहेका छन् ।

पक्राउ पर्नेमा बिहार जिल्लाको मोतिहारी पश्चिमी चम्पारणका ६० वर्षीय जहुर आलम, वीरगञ्ज महानगरपालिका १६ की २० वर्षीया अपसाना खातुन र २५ वर्षीया रेहना खातुन रहेका छन् । रेहनाको साथमा ८ महिनाको शिशुसमेत रहेको प्रहरीले जनाएको छ ।

पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले चरेसको तस्करीमा स-साना बच्चा भएका महिला संलग्न गराउने नयाँ तरिका तस्करहरुले प्रयोग गर्न थालेको बताए । ‘लागु औषधको तस्करीमा नयाँ ट्रेन्ड देखिएको छ । गर्भवती महिला र स-साना बालबच्चा भएका आमालाई समेत प्रयोग गरेको पाइयो’ उनले भने ‘महिलाहरुलाई चरेश सीमा पार गराए वापत २ हजार पाँच सय रुपैयाँ दिने सहमति भएको रहेछ ।’

मंगलबार बिहान शंकास्पद रुपमा वीरगञ्ज महानगरपालिका वडा नं १६ मा शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा अपसानाको कम्मरमा हरियो कपडाले बेरेको इँट्टा आकारको ५ सय ग्रामका १० प्याकेट चरेश भेभटियो । रेहनाको साथबाट रातो कपडाले बेरेको ५ सय ग्रामका ११ प्याकेट चरेश फेला परेको पर्सा प्रहरीले जनाएको छ ।

जहुरले हेटौंडातिरबाट चरेश खरिद गरेर ल्याई महिलालाई प्रयोग गरी सीमा पार गराउन लगाएको दावी अनुसन्धानमा संलग्न प्रहरीले जनाएका छन् । जहुरको नेपाल तथा भारतका लागु औषध खरिद बिक्री गर्ने तथा ओसार पसार गर्ने व्यक्तिसँग चिनजान रहेको दाबी प्रहरीले गरेको छ ।

यसअघि पर्सा गत साउनमा वीरगञ्ज महानगरपालिका वडा नं १० स्थित आदर्शनगर चोकबाट लागु औषधसहित भारत बिहार पश्चिम चम्पारण चनपटिया बस्ने २३ वषर्ीया प्रमिला देवीलाई पक्राउ गरेको थियो । उनको साथबाट प्रहरीले ४ सय ५० थान लागु औषध इन्जेक्सन बरामद गरेको थियो ।

नाइट्रोभेट र इन्जेक्सनसहित मानिस पक्राउ

प्रहरीले विभिन्न मितिमा लागु औषध नाईट्रोभेट ट्याबलेट र इन्जेक्सन सहित तीन जनालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो वीरगञ्ज महानगरपालिका१६ रजत जयन्ती चोकबाट मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं १३ बस्ने १८ वर्षीय दिपेन्द्र खत्रीलाई पक्राउ गरेको हो । खत्रीको साथबाट लागु औषध नाइट्रोभेट ट्याबलेट ६० पिस बरामद गरेको प्रहरीले जनाएको छ ।

मंगलबार राति नै प्रहरीले तनहुँ भिमादका ३६ वर्षीय राजेश रानाभाटलाई वीरगञ्जको होटल समरबाट पक्राउ गरेको छ । रानाभाटको साथबाट प्रयोग गरेको टीटी सेट सिरिञ्ज २ थान, प्रयोग नभएको टीटी ४ सेट बरामद भएको प्रहरीको भनाई छ ।

माघ १२ गते रजत जयन्ती चोकबाटै भक्तपुरको अनन्त लिंगेश्वर नगरपालिका वडा नं १० बस्ने २५ वर्षीय रोहण खड्कालाई लागु औषध इन्जेक्सन डाइजील्याब ५१ पिस, फेनारगन ५१ पिस र ५१ पिस लुपिजेसिकसहित पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन लिम्बुले जानकारी दिए ।

पक्राउ परेका तीनै जना विरुद्ध लागु औषध शीर्षकमा मुद्धा दर्ता गरी अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment