Comments Add Comment

प्रदेश ३ को सभामुख निर्वाचन माघ २७ मा, डोरमणिकै सम्भावना

१८ माघ, हेटौंडा । प्रदेश ३ को सभामुख निर्वाचन माघ २७ गते हुने भएको छ ।

क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा स्थापना गरिएको प्रदेशसभास्थलमा बिहीबार बसेको पहिलो बैठकले सभामुखको निर्वाचिनको मिति तोकेको हो ।

सभामुख निर्वाचनको भोलिपल्ट उपसभामुख चयन हुने जेष्ठ सदस्यको हैसियतले सभामुखको भूमिका निर्वाह गरिरहेका डोरमणि पौडेलले जानकारी दिए ।

प्रदेशसभामा एमालेको एकल बहुमत छ । वाम गठबन्धनमा भएको सहमति अनुसार मुख्यमन्त्री र सभामुख दुवै पद एमालेले पाएको छ भने उपसभामुख माओवादीले पाउनेछ ।

प्रदेशसभाको सभामुखमा एमाले सांसद डोरमणी पौडेल नै कायम हुने एमाले स्रोतले जनाएको छ ।

पौडेलले भने आफ्नो दाबी मुख्यमन्त्रीमा रहेको बताए । उनले भने, ‘म सभामुख हुने कुरामा कुनै विवाद छैन । तर अहिलेसम्म मेरो दाबी मुख्यमन्त्रीमै छ ।’

वि. सं. २०४९ र २०५४ मा दुईपटक हेटौंडा नगरपालिकाको मेयर निर्वाचित भएर देशकै नमूना नगर बनाएका पौडेल १५ वर्षदेखि नेपाल नगरपालिका संघको अध्यक्ष थिए ।

७२ वर्षीय पौडेल पौडेल सभामुख भएमा उपसभामुखमा माओवादीले महिलालाई पठाउनुपर्नेछ ।

के के भयो प्रदेशसभामा ?

प्रदेशसभाको बैठकको सुरुमा अधिवेशन आहृवान गरिएको प्रदेश प्रमुखको पत्र पढेर सुनाइएको थियो ।

त्यसपछि प्रदेशसभामा उपस्थित दलका एक एक जना नेताले बोले । ठूलो दल एमालेका साथै माओवादी सहितका दलका नेताहरुले सहमतिका साथ अघि बढ्नु पर्ने बताए । कांग्रेसका इन्द्र बानियाले भने हेटौंडाबाट राजधानी नहटाउन चेतावनी दिएका छन् ।

बैठकले प्रदेशसभा सञ्चालनको अन्तरिम कार्यविधि बनाएको छ भने प्रदेशसभा सञ्चालनका लागि प्रमुख चार दलका एकएक जना रहेको समिति बनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment