Comments Add Comment

साताका दुई चर्चित कृतिः निलोफर र नथिया

गत साता केही नयाँ पुस्तकहरु प्रकाशन भए । तीमध्ये चर्चामा दुई पुस्तक देखिए– ‘निलोफर’ र ‘नथिया’ । ‘निलोफर’ प्रकाश तिवारीले लेखेका हुन् भने ‘नथिया’ कवि सरस्वती प्रतीक्षाले लेखेकी हुन् ।

आज शनिबार सार्वजनिक हुन लागेको प्रतीक्षाको नथिया र केही समयअघि विमोचन भएको निलोफरले बजारमा उपस्थित जनाइसकेका छन् ।

दुवैका कभरमा महिलाका तस्वीर छन् । तर, निलोफरको कथा र कभरबीच कुनै तालमेल छैन । बरु, नथियाको तस्वीरमा नेपाली महिलाको झलक आउँछ ।

निलोफरको कभर गुगलबाट लिइएको नीला आँखा भएकी विदेशी मुस्लिम युवतीको तस्वीर छ । भित्र पस्दा लमजुङ र काठमाडौंमा एउटा पुरुषले गरेको संघर्षको कथा छ । विदेशी युवतीको तस्बिर राखेर लेखक प्रकाश तिवारी र प्रकाशक डिकुरा प्रकाशनले पाठकलाई झुक्याउन खोजेका हुन् भन्ने प्रष्ट हुन्छ । कभरकै कारण यो पुस्तकको चर्चा भएको हो भन्ने कुरा पुस्तक पढेपछि थाहा हुन्छ ।

‘निलोफर’ नेपाली पहाडी कथामा आधारित छ । लमजुङको एउटा गाउँमा निम्न वर्गीय परिवारमा जन्मिएको व्यक्ति र त्यो परिवारको संघर्ष र काठमाडौंमा आउँदासम्मको कथा यसमा बुनिएको छ ।

आञ्चलिक भाषा र झर्रा शब्दहरुको संयोजन गरिएको यो उपन्यास पढुन्जेल नेपाली जनजीवनको राम्रो झल्को आउँछ । नेपालको गरिब परिवारले भोग्ने र काम र सजिलो जीवनको खोजीमा हुने बसाईंको समस्या यसमा पाइन्छ ।

लेखक नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का कर्मचारी भएका नाताले उनले राम्रो प्रयास गरेका छन् । जागिरका बीचमा पनि उनको कलमले राम्रा कृति जन्माउने सम्भावना छ ।

अर्कोतर्फ ‘नथिया’ एउटा सशक्त कृति बनेर आएको छ । यो वर्षका आशालाग्दा पुस्तकमध्ये यो पनि एक भएकाले हुनसक्छ, पुस्तकको प्रकाशन पूर्वदेखि नै चर्चामा थियो ।

‘बांगो सारंगी’ कविता संग्रहमार्फत् साहित्य जगतमा प्रवेश गरेकी सरस्वती प्रतीक्षा केही विवादास्पद विषयमा कलम चलाएर पनि बेला–बेलामा चर्चामा आउने गर्छिन् । चर्चित् साहित्यकार सरुभक्तकी छोरीका रुपमा उनको पालनपोषण भएका कारण उनमा पहिलेदेखि नै साहित्यिक चेत थियो । यो चेत अहिले ‘नथिया’मार्फत् राम्रैसँग प्रकट भएको छ ।

वादी महिलाको कथा हो, ‘नथिया’ । वादीको घरमा जन्मिएर यौन व्यवसायमा लागेको परिवारको संस्कारमा हुर्किएकी युवतीले गरेको विद्रोह र त्यो ठाउँबाट नेपाली समाजलाई कसरी हेरिन्छ भन्ने कुरा नथियाले राम्रोसँग उठाएको छ ।

माझिएको भाषा शैली र स्थानीय भाषिकाको प्रयोगले ‘नथिया’ पढ्नैपर्ने पुस्तक बनेको छ । सरस्वतीले यो पुस्तक लेख्नुपूर्व राम्रैसँग अनुसन्धान गरेको महशुस हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment