
२३ माघ, चितवन । सरकारले प्रदेश ३ अन्र्तगत चितवनमा यातायात व्यवस्था कार्यालय स्थापनाको तयारी गरेको छ । भरतपुर महानगरपालिका–१, आँपटारीस्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालयअगाडिको खाली जग्गामा कार्यालय स्थापना गर्न लागिएको हो ।
कार्यालय स्थापनाका लागि सो क्षेत्रमा २ बिगाहा ७ कठ्ठा जग्गा उपलब्ध भएको छ । नारायणी अञ्चलको वीरगञ्जमा यातायात व्यवस्था कार्यालय रहँदै आएको र हाल वीरगञ्ज प्रदेश २ अन्र्तगत परेपछि चितवन, मकवानपुर र धादिङलाई पायक पर्ने गरी चितवनमा यातायात व्यवस्था कार्यालय स्थापना गर्न लागिएको वन मन्त्री विक्रम पाण्डेले जानकारी दिए ।
‘मैले वनको जग्गा उपलब्ध गराएको छु’, मन्त्री पाण्डेले भने, ‘अब बस्ने मन्त्रिपरिषदको बैठकबाट निर्णय हुन्छ ।’
कार्यालय भवन निर्माणका लागि २ करोड १९ लाख रकम समेत विनियोजन भइसकेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष रामप्रसाद सुवेदीले जानकारी दिए ।
स्थानीय विकास अधिकारीको नेतृत्वमा भरतपुर महानगरपालिकाका, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, यातायात व्यवसायीका प्रतिनिधिसहितको ७ जनाको जग्गा पहिचान तथा सिफारिस समिती गठन गरिएको थियो । सो समितिले ८ महिनाअघि नै जग्गाको पहिचान गरी यातायात व्यवस्था विभाग र वन विभागमा सिफारिस गरेको थियो ।
यहाँ कार्यालय स्थापना भएपछि सवारीसम्बन्धी कामका लागि वीरगञ्ज पुग्नुपर्ने बाध्यताको अन्त्य हुनेछ ।
अहिले भरतपुरमा यातायात व्यवस्था सेवा कार्यालय रहेको छ । सवारीसाधानको नवीकरणलगायतका साना काम यहीबाट भए पनि लाइसेन्स, ट्रायल, पासलगायतका काम गर्न भने वीरगञ्ज नै जानुपर्छ ।
प्रतिक्रिया 4