Comments Add Comment

महेशको दुःखः साउदीमा धर्म फेराइयो, नेपालमा सरकारकै जालसाजी (भिडियो)

भन्छन्- अब न्याय कहाँ पाइन्छ ?


२४ माघ, काठमाडौं । धनुषाको रघुनाथपुरका महेशकुमार साहको आँखा नओभाएको सात महिना बित्यो । साउदी अरेबियाबाट सोमबार मात्रै फर्किएका उनी कोही भेट्नासाथ बरर आँशु झारिहाल्छन् ।

म्यानपावर, नेपाली दूतावास, काम गर्ने कम्पनी र साउदीमा विभिन्न समूहले दिएको दुःख छिचोल्दै मातृभूमिमा टेकेको भोलिपल्टै सरकारी अधिकारीले नै आफूमाथि जालसाँजी गरेपछि उनी थप पीडामा छन् ।

उनी आफूले भोगेका विगत सम्झिएर त पटक-पटक भक्कान्छिन् नै, नेपालमा न्याय दिने आशा गरिएको निकायका अधिकारीले पैसा कमाउन आफूलाई ‘प्रयोग’ गरेको बताउँदै आँशु झार्छन् । भेटेजति सबैसँग उनी ‘अब न्याय कसले देला’ भन्ने प्रश्न गरिरहेका छन् ।

गत जेठमा कामका लागि साउदी जाँदा उनमा काम गरेर परिवारको गरिबी हटाउने ठूलो उत्साह थियो । उनी परिवारलाई ऋणमुक्त गर्ने अभिलाषा सहित एक लाख रुपैयाँ ऋण लिएर साउदी पुगेका थिए ।

एक लाखको बिटो बुझ्दै १० हजारको बिल थमाएर खालिद इन्टरनेसनल ओभरसिजका सञ्चालक मोहम्मद कासिम अलीले भनेका थिए, ‘महिनामा १३ सय रियाल अर्थात् ४० हजार कमाइ हुन्छ । पीर लिनै पर्दैन, एयरपोर्टमा कसैले सोध्यो भने १० हजार मात्रै तिरेको भन्नु नि !’

तर, उनले साउदीमा एक रुपैयाँ कमाएनन् नै, उल्टै एक लाख रुपैयाँ ऋण थपेर फर्किए ।

अरबी भाषामा फलफूलको नाम बताउन नसक्दा कम्पनीमा चरम यातना, मागेर खानुपर्ने भएपछि धर्म परिवर्तन गराइयो

ऋणका कुरा त छँदैछन्, उनले यो सात महिनामा सुन्नेका लागि पनि अत्यासलाग्दो भोगाइ संगाले । हिन्दु परिवारमा जन्मे-हुर्केका महेश साउदीबाट ‘मुस्लिम’ भएर फर्किएका छन् ।

भिडियो हेर्नुस्

उनलाई बाँच्नका लागि साउदीमा धर्म नै परिवर्तन गर्न बाध्य पारियो, त्यो पनि म्यानपावरकै दलालबाट । उनलाई मर्ने डर देखाइयो र नमाज पढाइयो ।

फर्किंदा फर्किंदै जालसाँजी

म्यानपावरले राम्रो कम्पनीमा काम लगाइदिने आशा देखाएर साउदी लगेको थियो, उनलाई । तर, विदेश गएपछि जुन बज्र पर्‍यो, त्यसले उनलाई बाँचेर फर्किन्छु भन्ने आशा नै बाँकी राखेन । आफ्नो पुस्तौंदेखिको धर्म फेर्नुपर्दा उनलाई बाँच्न कठिन भयो ।

उनकै भाषामा सौभाग्यले बाँचेर त फर्किए । तर, आउँदा-आउँदै वैदेशिक रोजगार विभागका अधिकारीले उनलाई आफ्नो कमाउने हतियार बनाइदिए । उनले यो कुरा पत्तै पाएनन् ।

उनलाई विदेशबाट फर्काउन भन्दै उजुरी परेपछि म्यानपावरको कारोबार रोक्का गरिएको थियो । उनी फर्किए पनि म्यानपावरबाट क्षतिपूर्ति पाएका छैनन् ।

तर, विभागकी अनुगमन शाखा प्रमुख रमा भट्टराईले झुक्याएर आफूलाई नेपाल फर्काइएको बताउँदै कागजपत्रमा ल्याप्चे ठोक्न लगाइन् । प्रयोजन थियो, रोक्का भएको म्यानपावरको कारोबार खोलिदिने ।

राम्रोसँग पढ्न नजान्ने महेशले केमा ल्याप्चे ठोकेँ भन्ने पत्तो पाउने अवस्था पनि थिए । भट्टराईले उनलाई भनेकी थिइन्, ‘तिमी नेपाल आएको प्रमाण चाहियो नि ।’

विभागले झुक्याएर गरेको ल्याप्चे । जसका आधारमा म्यानपावरको रोक्का कारोबार खोलिएको छ ।

‘मलाई यहाँ हाजिर गर भन्दै रमा म्याडमले ल्याप्चे लगाउन लगाउनुभयो । माथिको भाग छोप्नुभयो । पछि थाहा भयो, म्यानपावरलाई खुला गरिदिन पो रहेछ,’ उनी आँशु झार्दै भन्छन्, ‘म्यानपावरले पो त्यसो गर्थे, सरकारकै मान्छेले पनि जालसाँजी गरे ।’

महेशका आफन्तको तीव्र दबाबपछि विभागले २ माघमा महेशलाई नेपाल झिकाउन खालिद म्यानपारको सबै कारोबार रोकिदिएको थियो ।

तर, महेश नेपाल झरेकै दिन विभागमा लगेर म्यानपावरकै प्रतिनिधिको अघिल्तिर उनलाई झुक्याएर ल्याप्चे गराइएको हो । त्यही ल्याप्चेका आधारमा मंगलबारबाटै खालिद म्यानपावरको अन्तिम श्रम स्वीकृती खुला गरिएको छ । त्यसमा हस्ताक्षर गरेका छन्, विभागका महानिर्देशक राजकुमार श्रेष्ठले ।

विभागका अधिकारीले गरेको यो हर्कतले उनी अर्को पीडामा छन् । म्यानपावरले खाएको दुई लाख रुपैयाँ फिर्ता नहुँदै विभागकी उपसचिव भट्टराईले गरेको जालसाँजीले उनलाई थप विक्षिप्त गराएको छ ।

विभागका प्रवक्ता मोहन भट्टराई भने म्यानपावरको पूर्व श्रम स्वीकृती अझै नखोलिएको बताउँछन् । विदेश जान भिसा आइसकेका कामदारलाई सहज हुने गरी महेश फर्किएपछि अन्तिम श्रम स्वीकृती खुलाइएको तर्क छ, उनको ।

महेशलाई क्षतिपूर्ति नदिँदै विभागले गरेको यस्तो हर्कतले भट्टराई र म्यानपावर सञ्चालकबीच आर्थिक लेनदेन भएको स्पष्ट हुने महेशका आफन्तको आरोप छ । विभागका महानिर्देशक पनि यसमा संलग्न रहेको दाबी गर्छन्, उनीहरु ।

स्वदेश फर्किन एक लाख, कम्पनीमा यातना

महेशले विदेशमा निकै दुःख पाएपछि खालिद म्यानपावरलाई पटक-पटक आफूलाई फर्काउन अनुरोध गरेका थिए । म्यानपावरले बीचमा फर्काउन अर्को एक लाख लाग्ने भनेपछि उनको परिवारले स्थानीय गन्यमान्य व्यक्तिको रोहबरमा रकम बुझाएका थिए । यो रकम म्यानपावरका प्रबन्ध निर्देशक कासिमले जनकपुर नै पुगेर बुझेका थिए ।

पैसा बुझेपछि पनि म्यानपावरले उनलाई फर्काउन बेवास्ता गर्दै आएको थियो ।

महेशलाई शुरुमा कम्पनीमा लगेर भाषाको परीक्षा लिइयो । उनी पोख्त थिएनन्, फलफूललाई अरबी भाषामा के भनिन्छ भन्ने प्रश्नको उत्तर दिन नसकेपछि नेपाली कामदारको बीचमै कम्पनीका प्रतिनिधिले उनलाई जबर्जस्ती चिसो -प|mोजन) आँप कोच्याए । सजायस्वरुप यसो गरिएपछि उनी सख्त बिरामी परे ।

त्यसपछि उनी नियमित काममा जान सकेनन् । कम्पनीले उनको उपचारमा पूरै बेवास्ता गर्‍यो । पारिश्रमिक पनि दिएन । काममा जान नसकेपछि उनले घर फिर्ता पठाइदिन अनुरोध गरे । त्यसपछि कम्पनीमा बिरामी अवस्थामै उनलाई पटक-पटक कुटपिट गरियो ।

अहिले ती दिन सम्झँदा महेशका आँखा भरिन्छन्, झरिरहने आँशुलाई पुछ्न पनि समर्थ देखिँदैनन् ।


उनी काममा जान नसकेपछि कम्पनी छाड्न दबाब दिइयो । केही महिना उनी दबिएरै भए पनि काम गर्दै थिए ।

दबाबमा धर्म परिवर्तन

तर, कम्पनीका प्रतिनिधिले तलब नदिने र नियमित रुपमा दुव्र्यवहार गर्ने क्रम बढ्दै गयो । त्यसपछि उनले मस्जिदको अगाडि मागेर खान थाले । उनी परदेशमा अलपत्र परे ।

‘मस्जिद आउनेले दिएको पैसाले बाँचेको थिएँ । कति नेपालीहरुले पनि सघाउनुभयो,’ महेश भन्छन्, ‘तर, सधैं अरुले कति दिन सक्छन् र ?’

ज्यान बचाउनै कठिन भएपछि फर्काउनका लागि उनले म्यानपावरलाई परिवारमार्फत् थप एक लाख बुझाए ।

म्यानपावरका प्रतिनिधिका रुपमा साउदीमै थिए, सञ्चालक कासिमका ससुरा अब्दुल रहिम । उनी साउदीबाट ज्वाइँले चलाएको र छोरा साबिर रहिमको नाममा दर्ता भएको खालिद म्यानपावरका लागि कामदारको कोटा पठाउने काम गर्छन् । उनले महेशलाई फिर्ता गर्ने आश्वासन मात्रै दिइरहेका थिए ।

महेशलाई बाँच्नै मुस्किल पर्ने भएपछि म्यानपावरका दलाल अब्दुलले धर्म परिवर्तन गर्न दबाब दिए । धर्म फेरेमा मस्जिदभित्रै खान पाइने, नत्र भोकै मनुपर्ने डर देखाए । महेशले त्यसलाई ठाडै इन्कार गरे ।

तर, सडकमा बसेका महेशलाई भोको पेटले कि त मृत्यु वा धर्म परिवर्तन रोज्ने अवस्थामा पुर्‍याइदियो । उनको अडानलाई भोकले टिक्न दिएन । अन्ततः हार मानेर उनले नमाज समाते ।

उनलाई मस्जिदले धर्म परिवर्तन गरिएको पत्र दियो । त्यो पत्र अझै उनीसँग सुरक्षित नै छ ।

मस्जिदले धर्म परिवर्तन गराएर महेशलार्इ दिएको पत्र ।

त्यसअघि दुई वर्ष साउदी बसेकाले सामान्य अरबी जानेका पनि थिए । त्यसकै भरमा उनी ‘जिउँदो’ बस्न सकेका थिए ।

दूतावासको बेवास्ता

महेश त्यो दुःखको सागर छिचोलेर नेपाल फर्किन पाउने दिनको व्यग्र प्रतीक्षा गर्दै थिए । त्यसका लागि उनी नेपाली दूतावासमा कम्ता धाएनन् । आठ पटक दूतावास पुग्दा पनि उनको कुरा सुनिएन ।

केही गर्दा पनि कुरा नसुनिएपछि एक भारतीय साथीमार्फत् अंग्रेजीमा लेखेर खालिद म्यानपावरविरुद्ध उजुरी दर्ता गराउन दूतावास पुगे । तर, दूतावासले त्यो पत्र बुझ्नै इन्कार गर्‍यो । त्यो पत्र पनि उनी बोकेरै नेपाल फर्किएका छन् ।

दूताबासलार्इ महेशका तर्फबाट उनका साथीले लेखिदएको उजुरीपत्र । जसलार्इ दूतावासले दर्ता गर्न मानेन ।

दूतावासका सरहरूले पनि शुरुमा उनका कुरा सुनेनन् । ‘उहाँ म्यानपावरका मान्छेसँगै हाँस्दै कुरा गर्नुहुन्थ्यो । यहाँबाट केही हुन्न भाइ भन्नुभएको थियो,’ महेश बताउँछन्, ‘मैले दूतावासमै बस्छु भनेपछि उहाँहरूले बल्ल पहल गरिदिनुभयो ।’

अपहरणमा परे, ‘मुस्लिम हुँ’ भनेर छुटे

म्यानपावरविरुद्ध बोलेपछि अपरिचित मान्छे लगाएर उनलाई अपहरण पनि गरियो ।

कासिमका ससुरा अब्दुलले उनलाई फर्काउने प्रलोभन देखाएर गाडीमा कतै लैजाँदै थिए । बीचमा गाडी रोकेर रिचार्ज किन्न गएको नाटक गरे । अब्दुल गाडीबाट निस्किएपछि दुई जना साउदी अरबियाली नागरिक गाडीमा छिरेर र उनका आँखा र मुखमा पट्टी बाँधिदिए ।

‘मलाई कहाँ लगेर राखियो थाहा भएन । पछि मैले अरबी भाषामा बोलेर म पनि मुस्लिम हुँ भनेपछि तिनीहरुले मलाई नेपालीहरु धेरै हुने बजारमा ल्याएर छाडिदिए,’ महेश भन्छन्, ‘त्यो बेला बाँच्छु भन्ने लागेकै थिएन । मैले त्यही मस्जिदले दिएको पत्र देखाएर मात्रै बाँच्न पाएँ ।’

त्यतिबेला उनको दाह्री कपाल बढेर लामा भएका थिए । उनले मुस्लिम धर्म जनाउने पि्रन्ट भएको टी-र्सट पनि लगाएका थिए । त्यसैका आधारमा उनलाई छाडिदिएका थिए, अपहरणकारीले ।

महेशलाई नेपाल आएपछि न्याय पाइन्छ भन्ने लागेको थियो । तर, आफू आउनासाथै विभागका अधिकारीले जालसाँजी गरेपछि उनी अहिले काठमाडौंमा न्यायको आशामा भौंतारिएका छन् ।

उनलाई ऋण कसरी तिर्ने भन्ने मात्रै चिन्ता छैन, धर्म फेरेर फर्किनुपरेको तितो यथार्थले पनि पोलिरहेको छ ।

महेशलार्इ म्यानपावरले दिएको झुठो अाश्वासनसहितको पत्र ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment