Comments Add Comment

एमालेका ५ र कांग्रेसका २१ पुरुषलाई समानुपातिक सांसद हुने सौभाग्य

समानुपातिकको लागि दलहरुलाई पत्र काट्दै आयोग

२५ माघ, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरुले पाएको सिट संख्या तोक्ने तयारी गरेको छ । साथै त्यसमा कति महिला अनिवार्य पठाउनु पर्ने तोकेर दलहरुलाई पत्र पठाइने आयोगले जनाएको छ ।

राष्ट्रियसभा निर्वाचनको अन्तिम परीणाम आएलगत्तै आयोग प्रतिनिधिसभाको समानुपातिकतर्फ लागेको हो ।

प्रतिनिधिसभाको निर्वाचन भएर मतगणना सकिएको तीन महिना हुँदा पनि समानुपातिकको नतिजा सार्वजनिक हुन सकेको थिएन । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार आजै सिट संख्या तोकेर दलहरुलाई पत्र पठाइनेछ ।

संघीय संसदमा कुन दलको कति सिट ?

निर्वाचन आयोगले प्रतिनिधिसभामा कुन दलले कति सिट पाए भन्ने नबताए पनि दलहरुले पाएको मत सार्वजनिक गरिसकेको छ । त्यस आधारमा एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७ र फोरम-राजपाले ६/६ सिट पाउनेछन् ।

प्रत्यक्षतर्फ एमालेले ८०, माओवादीले ३६, कांग्रेसले २३, राजपाले ११ र फोरमले १० सिट जितेका छन् ।

यस्तै राष्ट्रियसभामा एमालेले २७, कांग्रेसले १३, माओवादीले १२ र राजपा-फोरमले २-२ सिट जितेका छन् ।

समग्रमा संघीय संसद (प्रतिनिधिसभा/राष्ट्रियसभा)मा एमालेको १४८ सिट भएको छ भने कांग्रेसको ७६, माओवादीको ६५, राजपाको १९ र फोरमको १८ सांसद हुनेछ ।

एमालेमा ५ पुरुषले मौका पाउने

संविधानअनुसार संघीय संसदमा कुनै पनि दलले जितेको कुल सांसदमा ३३ प्रतिशत महिला हुनुपर्छ । यदि प्रतिनिधिसभाको प्रत्यक्ष र राष्ट्रियसभाबाट पनि यो पूर्ति भएन भने प्रतिनिधिसभाको समानुपातिकबाट क्षतिपूर्ति गर्नुपर्ने व्यवस्था छ ।

त्यसो भए अब प्रतिनिधिसभाको समानुपातिकतर्फ पाएको सिटमा कुन दलले कति महिला पठाउनुपर्छ ?

एमालेले समग्रमा संघीय संसदमा जितेको १४८ सिटको ३३ प्रतिशत ४९ (४८.८४) सिट हुन्छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २ महिला विजयी भएका छन् भने राष्ट्रियसभामा ११ महिला आएका छन् । अर्थात अब न्यूनतम ३६ जना प्रतिनिधिसभाको समानुपातिकबाट पूर्ति गर्नुपर्छ । त्यसो गर्दा एमालेको समानुपातिकबाट ५ पुरुष मात्र सांसद बन्नेछन्, बाँकी विभिन्न क्लस्टरका महिला नै जानेछन् ।

माओवादीमा त दुई पुरुष मात्र समानुपातिकबाट सांसद बन्न सक्ने अवस्था आएको छ । उसले जितेको कुल ६५ सिटको ३३ प्रतिशत २१ (२१.४५) हुनेछ ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ३ र राष्ट्रियसभामा ३ गरी ६ महिला विजयी भएका छन् । १५ जना समानुपातिकबाट क्षतिपूर्ति गर्दा बाँकी २ सिटमा मात्र पुरुषले मौका पाउने देखिन्छ ।

कांग्रेसका महिला-पुरुष बराबरी

संघीय संसदमा कांग्रेसको ७६ सिट हुनेछ । संविधानअनुसार यसमा ३३ प्रतिशत अर्थात २५ (२५.०८) जना महिला हुनुपर्नेछ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसका एक जना पनि महिला छैनन् भने राष्ट्रियसभामा ६ जना आएका छन् ।

अब १९ जना प्रतिनिधिसभाको समानुपातिकबाट पूर्ति गर्नुपर्छ । कांग्रेसले ४० सिट पाउँदा २१ जना पुरुष पठाउन सक्नेछ । यद्यपि क्लस्टर भने मिलाउनु पर्नेछ ।

राजपाले सबै ६ सिटमा महिला पठाउनु पर्नेछ भने फोरमले ६ मध्ये एक सिटमा पुरुष पठाउन पाउनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment