Comments Add Comment

अनुदान रकम लिन गोरखाका भूकम्प पीडितलाई सास्ती

२५ माघ, गोरखा । पालुङटार नगरपालिका-७ च्याङलीका हरिप्रसाद भट्टले भूकम्पबाट भत्किएको घर ठड्याइसके । तर, उनले अहिलेसम्म अनुदान रकमको दोस्रो किस्ता पाएका छैनन् ।

दोस्रो किस्ता लिनकै लागि उनी धेरै पटक पालुङटार नगरपालिका धाइसकेका छन् । तर, नक्सा पास र प्राविधिक चेकजाँच भन्दै लामो समयसम्म कार्यालयले अल्झाएको उनको गुनासो छ । ‘धेरै पटक नगरपालिका धाइसके कहिले इन्जिनियर लगाउने, कहिले नापजाँच गर्नुपर्ने भनेर हैरान बनायो,’ उनले भने ।

दोस्रो किस्ता पाउन ढिलाइ भएपछि उनी आफै जिल्ला समन्वय समितिको कार्यालय आइपुगे ।

अनुदान रकम गएनगएको सोध्नकै लागि उनी धेरै समय लाइनमा बस्नुपर्‍यो । सोधपुछ गर्दा रकम पठाइसकेको बताए पनि खातामा रकम नगएको उनी बताउछन् । ‘यहाँबाट रकम पठाको छ भन्नुभाको छ तर त्यहाँ पुगेको छैन, दुख पाउनुसम्म पाइयो,’ उनले भने ।

गोरखा नगरपालिका नारेश्वरका साधुराम थापाले पनि दोस्रो किस्ताको रकम लिन निकै झन्झट व्यहोर्नुपर्‍यो ।

रकम लिनैका लागि उनी ६/७ पटक जिल्ला समन्वय समितिको कार्यालय धाए । मंसिर ८ गते फारम भरेका उनले माघ महिनाको तेस्रो हप्तासम्म पनि किस्ता पाउन सकेनन् ।

लामो समय धाएपछि बल्लतल्ल उनले चेक पाए । तर, फरक बैंकको खातामा रकम निकासा गरिदिदा उनले थप झन्झट व्यहोर्नु पर्‍यो ।

त्यस्तै झन्झट नारेश्वरका अर्का भूकम्प पीडित रामचन्द्र तिवारीले पनि सामना गरे । ‘एनएमवी बैकमा जम्मा हुनुपर्ने रकम राष्ट्रिय बाणिज्य बैकका जम्मा गरिदिएछ, फेरि कोलेनिका गएर सच्याउनुपर्‍यो, किस्ता लिन त साह्रै दुख पाइयो,’ उनले भने ।

उनीहरु मात्र होइनन् अनुदान रकम लिन साह्रै झन्झट व्यहोर्नुपरेको गुनासो अधिकांश पीडितहरुको छ । भनेको समयमा प्राविधिक घरको नापजाँच गर्न नआइदिने, भवन डिभिजन कार्यालयमा लामो समय सम्म फाइल रहने र जिल्ला समन्वय समितिले पनि धेरै समय लगाइदिने हुदाँ समस्या भएको अधिकांश पीडितको गुनासो छ ।

सरकारले अनुदान रकम लिने समयसिमा तोकेपछि अहिले किस्ता लिन आउने पीडितहरुको दैनिक जसो जिल्ला समन्वय समितिमा भिड लाग्ने गर्छ । तर, रकम गएनगएको बुझ्न कै लागी उनीहरुले सास्ती खेप्नुपर्छ ।

रकम बुझ्न जाँदा प्राविधिकले खासै राम्रो व्यवहार नगर्ने उनीहरुको गुनासो छ । ‘थाहा नभएको कुरा केही सोध्यो भने र्झकने  फर्कने गर्नुहुन्छ,’ एक पीडितले भने ।

त्यस्तै पीडितहरुले बैंकबाट निकासा गर्न पनि निकै समस्या भोग्दै आएका छन् । अहिले जिल्लाका अधिकांश बैकहरुमा अनुदान लिने पीडितहरुको भिड छ । अनुदान रकम लिने प्रक्रिया निकै झन्झट भएको गुनासो पीडितहरुको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment