Comments Add Comment

देशले पहिलो मुख्यमन्त्री महिला पाउने अवसर यसरी गुमायो

डोरमणि योग्य, अष्टलक्ष्मी आवश्यक

टिप्पणी

२६ माघ, काठमाडौं । अष्टलक्ष्मी शाक्यले प्रदेश ३ को एमाले संसदीय दलको नेतामा चुनाव हारेसँगै संघीयताको अभ्यास गर्दैगर्दा पहिलो महिला मुख्यमन्त्री पाउने अवसर गुमाएको छ ।

सात प्रदेशमध्ये मुख्यमन्त्रीको एकमात्र दाबेदार थिइन् अष्टलक्ष्मी । प्रदेशसभामा चुनाव लडेका र जितेका सबै पार्टीका महिलामध्ये राजनीतिक इतिहास र पदीय जिम्मेवारीका हिसाबले सबैभन्दा सिनियर महिला हुन् उनी । एमालेभित्र त अष्टलक्ष्मी केपी ओली र माधव नेपालहरु सरहको राजनीतिक इतिहास बोकेकी संघर्षशील महिला नेता हुन् । तर, पार्टीका शीर्ष नेताले पहल नगर्दा उनी चरम गुटबन्दीको शिकार बनिन् ।

त्यसअर्थमा अष्टलक्ष्मीको पराजय उनको व्यक्तिगत वा एमाले भित्रको एउटा गुटको पराजय मात्र होइन । संघीय गणतन्त्र नेपालले गर्व गर्ने एउटा क्षण गुमाएको छ भने ३३ प्रतिशत संवैधानिक अधिकार पाएका महिलालाई ‘जिरो’मा पुर्‍याइएको छ ।

एमालेले गुमाएको अवसर

चुनावको प्रक्रियामा गएपछि महिला भएकै कारण वा सिनियर नेता भएकै कारण जित्ने आधार र तर्क दुवै हुँदैन ।

तर, स्थायी कमिटीले पहिलो पटक संघीयताको अभ्यास गर्न लागेको अवस्थामा दलको नेता चयन गुटको मतका आधारमा होइन जातीय, लैंगिक र पाटीर्र््ित्रको सन्तुलन मिलाएर गराउन सक्थ्यो । किनकी मुख्यमन्त्री पदमा को आउाछ भन्ने कुरा एमालेको आन्तरिक राजनीतिक सन्तुलनमात्र नभएर दुनियाँलाई देखाउने अवसर पनि थियो ।

स्थायी कमिटीमै अष्टलक्ष्मी शाक्यले यो प्रस्ताव पनि राखेकी थिइन् । तर, उनलाई उनकै गुटका नेताले पनि साथ दिएनन् । एक नम्बर प्रदेशमा भीम आचार्यले जित्छु भनिरहेका बेला ३ मा अष्टलक्ष्मीले जित्ने कल्पना गरेर माधव नेपाल लगायतले गुटगत स्वार्थमात्र हेरे ।

तर, गुटबन्दी यति निर्मम होला भन्ने अष्टलक्ष्मीले सोचेकी थिइनन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहीबार बेलुका बोलाएर चासो राख्दासम्म पनि उनी ढुक्क थिइन् ।

रातभरिमा परिस्थिति उल्टिसकेको थियो । संस्थापन पक्षका महिला सांसद गुटका बफादार सिपाहीमा परिणत भइसकेका थिए । सांसदहरुले गुटको हृवीप शीरोधार्य गरे ।

माधवकुमार नेपाल गुटमा रहेका भनिएका राजेन्द्र पाण्डेहरुले अन्तिममा डोरमणि पौडेललाई मत दिए । महिला र नेवारको मत अष्टलक्ष्मीले पाउलिन् भन्ने अनुमान पनि हावादारी साबित भयो । एमालेका कमरेडहरु जात, वर्ग र लिंगमाथि उठेर उठेर मतदानको लाइनमा उभिएपछि दलको नेताको चुनावमा उनको पराजय निश्चित भइसकेको थियो ।

इतिहासको अवमूल्यन

प्रदेश ३ मा एमालेभि अष्टलक्ष्मी सबैभन्दा सिनियर नेता हुन् । पार्टी उपाध्यक्ष र प्रदेश संयोजक भएका कारणमात्र उनी सिनियर होइनन् ।

२०२८ सालदेखि कम्युनिस्ट आन्दोलनमा लागेकी काठमाडौंको परम्परागत व्यापारिक नेवार घरानाकी शाक्य २०३६ सालदेखि सबै सुखसयल त्यागेर भूमिगत राजनीतिमा लागेका थिइन् । उनी सिन्धुपाल्चोकको पिस्करदेखि जनआन्दोलनताका झापासम्म राजनीतिक काममा थिइन् ।

अष्टलक्ष्मीले मुख्यमन्त्री होइन, प्रधानमन्त्री बन्ने योग्यता बनाइसकेकी हुन् । २०४९ सालदेखि निरन्तर एमाले केन्ऽीय कमिटीमा रहेकी शाक्य त्यस्तो महिला हुन्, जसले मन्त्री पद पाउँदा पनि अरुलाई अवसर दिनुपर्छ भनेर त्याग गरिन् ।

सुशील कोइराला प्रधानमन्त्री हुँदा एमालेले उनलाई मन्त्री बनाएको थियो तर, उनले शान्ता मानवीका लागि बाटो खुला गरिन् । यसपटक पनि उनी प्रतिनिधिसभाको उम्मेदवार बन्न सक्थिन् तर, पार्टीका नेताहरुकै सल्लाहमा मुख्यमन्त्री बन्ने गरी प्रदेशसभामा गइन् ।

डोरमणि योग्य, अष्टलक्ष्मी आवश्यक

अष्टलक्ष्मी मुख्यमन्त्री बन्ने कुरा चुनावअघि नै तय भएको थियो । प्रदेश कमिटीको सचिवालयबाट निर्णय समेत भयो तर, चुनावपछि परिस्थिति फेरियो । उनको जोडबलमा प्रदेशसभाको टिकट पाएका नेताहरु नै उनीविरुद्ध मुख्यमन्त्रीको दाबी गर्न थाले ।

गुटभित्रै किचलो सिर्जना गरियो, जुन जरुरी थिएन । गुटको आधारमा टाउको गन्दा अष्टलक्ष्मी चुनाव हार्ने निश्चित थियो । तर, उनले एमालेका सांसदले गुटभन्दा माथि उठेर विवेक र्पुयाउने असम्भव आशा राखेकी थिइन् । चुनाव हारेपछि मात्र उनको चेत खुलेको छ ।

अष्टलक्ष्मीलाई चुनावमा हराएर संसदीय दलको नेता बनेका डोरमणि प्रदेश ३ को मुख्यमन्त्री बन्न हर हिसाबले योग्य नेता हुन् । दुईपटक हेटौंडाको मेयर भएर उनले नमूना नगरपालिका बनाएका हुन् । स्थानीय शासनको उनी विज्ञ नै हुन् । नगरपालिका संघ र स्थानीय तह पुनर्संरचना आयोगको सदस्य भइसकेका पाका नेता डोरमणि एमालेभित्र शालिन नेता हुन् ।

तर, अष्टलक्ष्मीको पराजय सामान्य अंकगणितको खेलमात्र होइन ।

महिला भएर हारेको होइन, गुटले जितेको हो

अष्टलक्ष्मीले चुनाव हारे लगत्तै अनलाइनखबरकर्मीसँगको कुराकानीमा अध्यक्ष केपी ओलीले आफूलाई छक्याएको र चरम गुटबन्दीको शिकार भएको प्रतिक्रिया दिएकी छन् ।

तर, एकजना महिला मुख्यमन्त्री बनाउने मौका गुमाउनमा माधव नेपाल र झलनाथ खनालहरु पनि उत्तिकै दोषका भागिदार छन् । गुटकै आधारमा चुनाव हुँदा प्रदेश ३ मा ओली पक्ष बलियो छ भन्ने जान्दा जान्दै किन चुनावको पक्षमा उभियो नेपाल पक्ष ।

अखिलका प्रारम्भिक कमिटीदेखि पार्टीका सेल कमिटीसम्म ओली गुट र माधव गुट प्रष्टै छन् । प्रदेशको सांसद हुने योग्यताका नेताहरु तलदेखि नै कुनै न कुनै गुटमा खुलेकै थिए । अहिले आएर महिला भएकै कारण अष्टलक्ष्मी हारेकी होइनन्, उनको गुट गणितमा कमजोर भएर हारेकी हुन् ।

गणितभन्दा माथि बसेर सहमति कायम गराउन माधव नेपाल पक्षले कुनै पहल नगर्नु पनि उनी माथिको धोखा हो । उनी दोहोरो छक्याईमा परिन् ।

माधव नेपाल पक्षले प्रदेश १ मा शेरधन राईलाई सघाउने बचनबद्धतासहित प्रदेश ३ मा अष्टलक्ष्मीलाई बनाउा भन्दा छलफल नै नहुने अवस्था थिएन । प्रदेश १ को मुख्यमन्त्रीका दाबेदार भीम आचार्य माधव नेपाल गुटमै नेता हुन् र स्थानीयतहको टिकट प्रकरणमा खुलेआम पैसा असुलेको आरोपमा बदनाम थिए ।

यदि स्थायी कमिटी बैठकमा नेपाल पक्षले पहिलो अभ्यास भएकाले गुटको विस्कुन तलसम्म फिाजाउनुभन्दा सन्तुलन मिलाएर सहमति गरौं भन्ने प्रस्ताव समेत नराखेको सत्य हो ।

यो पनि प्रष्ट हुन जरुरी छ भने अष्टलक्ष्मी शाक्य महिला भएकै कारण वा जनजाति महिला भएकै कारण हारेकी भने होइनन् । विशुद्ध गुटबन्दीका कारण मात्र हारेकी हुन् । किनकी उनलाई हराउनेहरु महिला र नेवार नै हुन् भन्दा फरक पर्दैन ।

एमालेले सामना गर्नुपर्ने प्रश्न

पहिलो महिला राष्ट्रपति बनाएर महिलामैत्री बनेको एमालेको अनुहारमा अष्टलक्ष्मीको पराजय कहिल्यै नमेटिने दाग हो । चुनावमा गइसकेपछि महिला वा पुरुष भन्ने कुरा हुँदैन भनेर यो प्रकरणलाई सामान्यीकरण गरियो भने एमालेले धेरै वर्षसम्म महिला मुख्यमन्त्री बन्ने अवसर गुमाएकोमा जवाफ दिइरहनुपर्नेछ । किनकी यस्ता कतिपय सन्दर्भमा सिद्धान्त र जोडघटाउभन्दा पनि भावनात्मक पक्ष बलियो हुने गर्छ ।

एमालेका लागि एउटा राम्रो मौका थियो । प्रदेश १ मा राई लिम्बु, प्रदेश ३ मा नेवार महिला, प्रदेश ४ मा गुरुङ र प्रदेश ५ मा खसआर्यबाट मुख्यमन्त्री बनाएर उदाहरण पेश गर्ने ।

तत्काल यो कुरा एकपक्षलाई अपाच्य भए पनि एमालेले यो ऐतिहासिक अवसर गुमाएकै हो । तत्कालका लागि गुट चलाउनेहरुले पिशाबको न्यानो महशुस गर्लान् तर, भोलि ठाउा-ठाउामा तीनै नेताले यो अवसर किन रोक्यौ ? भन्ने प्रश्नको जवाफ दिँदैमा हैरान हुनुपर्नेछ ।

अष्टलक्ष्मीको पराजयलाई एमालेभित्र अहिले गुटको आँखाबाटै हेरिनेछ । एउटा पक्षले आफू जितेकोमा गर्व गरेको छ भने अर्को पक्षले पराजयको पीडामा मुख्यमन्त्रीलाई असहयोग गर्ने नीति लिनेछ । यो दृश्य सम्भवतः सभामुख निर्वाचनमै देख्न पाइनेछ । तर, यस्ता खुद्रे बदलाको नीतिले तत्काल काखी बजाउने बाहेक केही हुने छैन ।

घाटा त देशले भोगिसकेको छ-इतिहास बोकेकी महिला नेतालाई मुख्यमन्त्री पाउने अवसर गुमाएर ।

यो पनि पढ्नुहोस्

अष्टलक्ष्मीले चुनाव हारिन्, डोरमणि पौडेल प्रदेश ३ को मुख्यमन्त्री बन्ने पक्का

दुवै गुटले नपत्याएपछि राजेन्द्र पाण्डेले भने-अब डोरमणि पाइलट, म प्यासेन्जर (भिडियो सहित)

अष्टलक्ष्मी भन्छिन्- अध्यक्षले छक्याउनुभो, गुटबन्दीको शिकार भएँ

शेरधन राई प्रदेश १ को मुख्यमन्त्री बन्ने पक्का

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment