Comments Add Comment

घडेरी सुविधाको विरोधमा विवेकशील, पौडेल भन्छन्- पजेरो काण्डको पुनरावृत्ति गर्न खोजियो

२८ माघ, काठमाडौं । हेटौंडा उपमहानगरपालिकाले प्रदेश ३ का सांसदहरुलाई सुविधामा घडेरी उपलब्ध गराउने निर्णय गरेपछि विवेकशील साझा पार्टीका सांसदहरु विरोधमा उत्रिएका छन् ।

नेपालको संसदीय अभ्यासमा जब आफ्नो सेवा-सुविधा बढाउने प्रस्ताव आउथ्यो, दशतिर मुख फर्किएका पार्टीका सांसदहरुबीच तुरुन्तै आम सहमति जुटिहाल्थ्यो । तर, विवेकशीलले यसलाई तोडेको छ ।

प्रदेश ३ मा विवेकशीलका ३ समानुपातिक सांसद छन् ।

उपमहानगरपालिकाले प्रदेश ३ का हेटौंडा बाहिर घर भएका संसदहरुलाई हेटौडामा सरकारी दररेटमा १० धुरका दरले घडेरी उपलब्ध गराइने जनाएको थियो । बजार मूल्यभन्दा सरकारी दररेट कयौं गुणा कम हुन्छ ।

तर, विवेकशीलका संसदीय दलका नेता रमेश पौडेलले उपमहानगपालिकाको निर्णयलाई ‘पजेरो काण्डको पुनरावृत्ति’ को संज्ञा दिए । ‘यो हामीलाई मान्य छैन,’ हेटौंडामै रहेका पौडेलले अनलाइनखबरसँग भने, ‘घडेरी दिने निर्णय विगतको पजेरो काण्डजस्तै आलोच्य कुरा हो ।’

यो निर्णयको आफूहरुले संसदमा समेत सशक्त विरोध गर्ने उल्लेख गरे । पौडेलले अगाडि भने, ‘कि उपमहानगरपालिकाले सबै जनतालाई सरकारी दररेटमा जग्गा उपलब्ध गराउन सक्नुपर्‍यो । होइन भने यो भ्रष्टाचार हो, राज्यको दोहन हो । विवेकशीलका तीन जना संसद यो सुविधा लिने छैनौं ।’

काठमाडौं घर भएका पौडेल अहिले हेटौंडामा डेरा खोजिरहेका छन् । हाललाई होटलमा दैनिक ७ सय भाडा तिरेर बसिरहेको उनले बताए । ‘यहाँ सबैभन्दा सस्तो होटलमा बस्ने सांसद सायद हामी नै हुनुपर्छ,’ उनले भने ।

उपमहानगरपालिकाको विवादास्पद प्रस्तावलाई प्रदेश ३ को राजधानी हेटौंडामा नै कायम राख्न संसदहरुलाई प्रलोभनमा पार्न खोजेको अर्थमा पनि हेरिएको छ ।

पौडेलले राजधानीको बहसमा भने मुर्त जवाफ दिएनन् । आफ्नो पार्टी छलफलमै रहेको भन्दै पौडेलले भने ‘राजधानी भनेको राज्यको समग्र विकास नीतिसँग जोडिएको हुन्छ । आर्थिक, सांस्कृतिक, प्रशासनिक राजधानी हुन्छन् । तर हामी प्रशासनिक राजधानीको मात्रै कुरा गरिरहेका छौं ।’

नयाँ नियुक्त हुन लागेका मुख्य मन्त्री डोरमणी पौडेलप्रति आफूहरुको कुनै टिप्पणी नरहेको पनि उनले बताए । भोलिका दिनमा मुख्यमन्त्रीको काम हेरेर विरोध र समर्थन गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment