Comments Add Comment

जनयुद्धको पोस्टरका डिजाइनर भन्छन्- माओवादी नेता सुखभोगमा लागे

१ फागुन, काठमाडौं । ‘सत्ता बन्दुकको नालबाट जन्मिन्छ’ भन्ने आदर्शसहित ०५२ साल फागुन १ गते माओवादीले तत्कालीन सरकारविरुद्ध सशस्त्र युद्ध सुरु गरेको थियो । रुकुमको राडिज्यूला प्रहरीचौकी, रोल्पाको होलेरी प्रहरीचौकी, सिन्धुलीको सिन्धुलीगढी प्रहरीचौकी र गोरखाको च्याङ्लीस्थित कृषि विकास बैंकको कार्यालयमा एकसाथ आक्रमण गरेर ‘जनयुद्ध’ सुरु भएको घोषणा गरिएको थियो ।

जनयुद्ध सुरु भएको जानकारी दिन पोस्टरहरु ठाउँठाउँमा टाँसियो । ‘जनयुद्धको बाटोमा अघि बढौं’ लेखिएको पोस्टरले धेरैको ध्यान खिच्यो । सैनिक पोशाक लगाएको, कम्मरमा खुकरी भिरेको, एक हातको मुठ्ठी कसेर अर्को हातले बन्दुक उठाएको युवक र युवतीको तस्वीर अंकित जनयुद्धकै पहिलो पोस्टर हो ।

जब जनयुद्ध दिवस आउँछ, त्यही पोस्टर सामाजिक सञ्जालमा छ्यापछ्याप्ती राख्दै शुभकामना बाँडिरहेको देखिन्छ । तर, यो पोस्टर कसले डिजाइन गर्‍यो भन्ने कुरा माओवादीकै धेरै नेता-कार्यकर्ताहरुलाई थाहा छैन । ती व्यक्ति हुन्, चितवन नारायणगढका रामचन्द्र (आरसी) पिया ।

जनयुद्धको जगमा टेकेर माओवादी अध्यक्ष प्रचण्ड दुई-दुई पटक प्रधानमन्त्री बनिसके । तर, जनयुद्धलाई उत्कर्समा पुर्‍याउने काममा जग हालेका पिया भने यतिबेला गुमनामजस्तै छन् । शिक्षण पेशामा आवद्ध पियाले पोस्टर डिजाइन गर्दाको क्षण जनयुद्ध दिवसकै दिन अनलाइनखबरसँग शेयर गरेका छन् ।

म माओवादीको समर्थक थिएँ । पार्टीको ठोस जिम्मेवारी कुनै थिएन । तर, मैले पहिलेदेखि नै जनादेश पत्रिकामा कार्टुन बनाउँथे । कार्टुनहरु छापिन्थे पनि । गुणराज लोहनी, विष्णु सापकोटा र म मिलेर चितवनबाट ‘नव सिर्जना’ भन्ने पत्रिका पनि निकाल्थ्यौं ।

गुणराज सर त मेरो साथी नै हुनुहुन्थ्यो । कृष्णसेन इच्छुक, गोविन्द आचार्यहरुसँग पनि चिनजान थियो । ०५२ साल फागुन १ गते जनयुद्ध सुरु हुन्छ, भन्ने हल्ला गाइँगुइँ सुनेको थिएँ ।

एकदिन गुणराज सरले अब जनयुद्ध सुरु हुने भयो, त्यसको प्रचारको लागि पोस्टर बनाउनुपर्‍यो भन्नुभयो । उहाँ माओवादीको कुन पदमा हुनुहुन्थ्यो थाहा थिएन । त्यतिबेला सबै गोप्य राखिन्थ्यो । त्यसैले पद खुलाउने कुरा पनि भएन, सोध्ने कुरा पनि भएन ।

मैले ‘पोस्टरको मेन कन्सेप्ट के हो’ भनेर सोधें । उहाँले ‘जनताले विद्रोह गरेको भाव’ पोस्टरमा आउनुपर्‍यो, भन्नुभयो । त्यही हिसाबले मोटामोटी डिजाइन गरेर मैले दिएँ । नारायणगढ बजारमा रहेको मेरो घरमै बसेर मैले रंगीन पोस्टर डिजाइन गरेको थिएँ । त्यो डिजाइन गर्न मलाई तीन दिन लाग्यो ।

पोस्टर बनाएर गुणराज सरलाई देखाएँ । उहाँले मन पराउनुभयो । ‘मलाई त मन पर्‍यो, अब पार्टीको माथिल्लो निकायमा देखाउँछु’ भनेर त्यो डिजाइन लगेर जानुभयो । पछि माथिबाट पनि ‘ओके भयो’ भनेर मलाई खबर गर्नुभयो ।

पोस्टर कहाँ छापियो थाहा छैन । जनयुद्ध सुरु भएपछि मैले डिजाइन गरेको त्यो पोस्टर जताततै टाँसिएको देखें । एकदम खुसी लाग्यो । जनताको विद्रोहमा थोरै भए पनि योगदान गर्न पाएँ भनेर खुसी लाग्यो । मलाई चिनेकाहरुले मेरो कामको प्रशंसा गर्नुभयो । त्यसपछि पनि जनयुद्धका एक-दुईवटा पोस्टर डिजाइन गरें ।

पोस्टर कसले बनायो भनेर लिक भएन । पोस्टर डिजाइन गर्ने मान्छे को होला भनेर पत्ता लगाउन सुरक्षाकर्मीहरुबाट कोसिस भइरहेको छ भन्ने सुनेको थिएँ । त्यतिबेला अलि सतर्क हुनुपर्‍यो । तर, टिचिङ पेशा छाडिहाल्ने अवस्था थिएन । ०४९ सालदेखि नै मैले वीरेन्द्र क्याम्पसमा पढाइरहेको थिएँ । अहिले पनि वीरेन्द्र क्याम्पसको ब्याचलर लेभलमा विज्ञान विषय (जुलोजी) पढाइरहेको छु ।

जनयुद्ध सुरु भएपछि मेरा साथीहरु पक्राउ पनि परे । तर, कसैले पनि मैले पोस्टर डिजाइन गरेको भन्ने कुरा एक्सपोज भएन । अहिले पनि माओवादीका धेरै नेता-कार्यकर्ताहरुलाई जनयुद्धको पहिलो पोस्टरको डिजाइनर को हो भन्ने थाहा छैन होला ।

त्यतिबेला जनयुद्धको माहोल, जनयुद्धको उत्साह नै बेग्लै थियो । देशका लागि केही गर्नुपर्छ, जनताका लागि केही गर्नुपर्छ भन्ने कुरा भित्रैबाट आउँथ्यो । पार्टीले नयाँ काम सुरु गर्दैछ भन्ने थाहा पाएपछि बेग्लै उत्साह हुन्थ्यो । मैले पनि निकै मन लगाएर जनयुद्धको पहिलो पोस्टरको डिजाइन गरेको थिएँ ।

तर, माओवादीको अहिलेको अवस्था देख्दा दुःख लाग्छ । जनयुद्ध जनताको लेभलबाट जनताले नै गरेको विद्रोह हो, नेताहरुले होइन । तर, अहिले नेतृत्वले सही मार्गमा लैजान सकेन । पार्टी पनि टुटफुट भयो । पार्टीका सबै नेता-कार्यकर्ता, समर्थकहरु निराश छन् । नेताहरुले देश र जनताका लागि सोच्नुपर्थ्यो, तर सोचेनन् । जनताको समस्या के हो भनेर बुझेनन् ।

जनताका समस्या समाधान गर्नुभन्दा व्यक्तिगत समस्या समाधानमा केन्द्रित भए । नेताहरु सुखभोगमा लागे । जनताको अवस्था पहिले जहाँ थियो, त्यसमा अहिले पनि खासै सुधार आउन सकेको छैन ।

जनयुद्धमा रगत बगाउनेहरुका परिवार, वेपत्ता भएकाहरुको परिवार, घाइते अपाङ्गहरुले आफूहरुको उचित मूल्यांकन पार्टीले नगरेको गुनासो गरिरहेका छन् । पार्टीका समस्या समाधान गर्न र जनयुद्धको बेलाको जस्तै उत्साह फेरि ल्याउन नेताहरुले पहल गर्नुपर्छ । किनभने यो काम असम्भव छैन जस्तो लाग्छ । मुख्य कुरा विचार हो । नेताहरुको विचार सही भयो भने पार्टीमा नयाँ जीवन ल्याउन सकिन्छ ।

(कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment