Comments Add Comment

प्रधानमन्त्री दाबी गर्दै केपी ओली अाज शीतलनिवास जाने !

निर्वाचन आयोग बाहिरिनासाथ गठबन्धनका नेता प्रवेश गर्ने

फाइल फोटो

२ फागुन, काठमाडौं । प्रतिनिधिसभाको चुनावी नतिजालाई निर्वाचन आयोगले औपचारिकता दिन बाँकी छँदै वाम गठबन्धनका नेताहरुले शीतलनिवास जाने गृहकार्य थालेका छन् ।

आयोगले बुधबार राष्ट्रपतिलाई नतिजा बुझाउने सम्भावना देखेपछि एमाले र माओवादीका नेताहरु प्रधानमन्त्रीको दाबीका लागि तम्तयार भएका हुन् । आयोगका पदाधिकारीहरु शीतलनिवासबाट बाहिरिनासाथ वाम नेताहरुले प्रधानमन्त्रीको दाबी प्रस्तुत गर्ने छन् ।

बुधबार पार्टी एकता संयोजन समितिको बैठक राखिएको छ । तर, यसवीचमै आयोगले नतिजा बुझाएमा नेताहरु बैठककै वीचमा शीतलनिवास जानेछन् ।

प्रधानमन्त्रीको दाबी प्रस्तुत गर्नेबारे मंगलबार ओली र प्रचण्डवीचको ‘वान टु वान’ वार्तामा छलफल भएको एमालेका एक नेताले अनलाइनखबरलाई बताए ।

निर्वाचन आयोगले समानुपातिक सांसदको नाम सच्याउन दलहरुलाई अाजसम्मको समय दिएका छन् । नाम सच्याउन भनिएका तीन दलमध्ये माओवादी र राजपाले मंगलबार नै बुझाइसकेका छन् । अब कांग्रेसले मात्रै नामावली बुझाउन बाँकी छ ।

दलहरुले अन्तिम नामावली बुझाएको लगत्तै प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा हुनेछ ।

अन्तिम परिणाम घोषणा गरेको ७ दिनभित्र राष्ट्रपतिलाई बुझाउने पर्ने संवैधानिक व्यवस्था छ । तर, आयोगले अाजै शीतलनिवास जाने गृहकार्य गरेको छ । एक आयुक्तले अनलाइनखबरसँग भने- ‘दलहरुले बुझाएको नाममा गडबडी रहेनछ भने अाजै राष्ट्रपतिलाई अन्तिम परिणाम बुझाउँछौं ।’

आयोगले बुधबार नै राष्ट्रपतिसमक्ष निर्वाचनको अन्तिम परिणाम बुझाएको खण्डमा अाजै  एमाले र माओवादीले केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिसमक्ष दावी पेश गर्ने एक नेताले बताए ।

एमालेका एक नेताले अनलाइनखबरसँग भने- ‘निर्वाचन आयोगले अाज निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाएमा प्रधानमन्त्रीका लागि दावी पेश गर्ने दुई दलवीच सहमति भएको छ ।’

संविधानतः कुनै एक दलको बहुमत भए उक्त दलको संसदीय दलको नेतालाई राष्ट्रपतिलेे प्रधानमन्त्री नियुक्त गर्नुपर्छ । नभए दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउनेलाई प्रधानमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा एमाले र माओवादीको बहुमत छ । साथै दुबै दल एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठन गर्न सहमत छन् ।

केपी ओलीले प्रधानमन्त्रीमा दाबी पेश गरेलगत्तै वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको बहिर्गमनले औपचारिकता पाउने छ ।

निर्वाचन सकिएपछि पनि सरकार नछाडेको भन्दै प्रधानमन्त्री देउवामाथि आलोचना हुँदै आएको छ । मंसिर २१ गते नै प्रतिनिधिसभाको चुनाव सकिए पनि राष्ट्रियसभाको निर्वाचन नसकिई सत्ता हस्तान्तरण नगर्ने अडानमा देउवा रहँदै आएका छन् । र, यसवीचमा राष्ट्रियसभाको पनि निर्वाचन सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment