Comments Add Comment

वाम एकतामा कालाे बादलः सरकारमा गएन माओवादी

जबज र माओवादबारे बोल्नै नपाइने !


३ फागुन, काठमाडौं । बिहीबार एमाले अध्यक्ष ओलीले उत्साहका साथ प्रधानमन्त्रीको सपथग्रहण गरिरहँदा उनको मन्त्रिमण्डलमा माओवादी मन्त्रीहरु सहभागी भएनन् । चुनावमा सहकार्य गरेका यी दुई दलबीच सरकार गठनको शुभारम्भमै केही तिक्तता देखिएको छ । बुधबार साँझको छलफलपछि एमाले र माओवादीबीच तिक्तता देखिएको हो । र, यसको कारण हो जबज र माअोवाद ।

एमाले जबजमै ‘ब्याक’, ‘माओवाद’ सुन्नै अस्वीकार

जनताको बहुदलीय जनवाद (जबज) र माओवादका विषयमा आगामी महाधिवेशनसम्म छलफल गर्ने र त्यहीँबाट टुंगो लगाउने पूर्वसहमति दुई दलका नेतावीच भएको थियो । तर, एमाले नेताहरु बुधबार साँझदेखि एकाएक पूर्वसहमतिबाट पछि हटेको माओवादी नेताहरुको गुनासो छ ।

पार्टी एकताबारे बुधबारको छलफल बिथोलिनुको कारण खोल्दै एक माओवादी नेताले अनलाइनखबरसँग भने- ‘एमाले नेताहरु पूर्वसहमतिबाट आश्चार्यजनक ढंगले पछि हट्नुभयो र यही कारण आज हामीले सरकारमा आफ्ना मन्त्रीहरु नपठाएका हौं । यसरी नै पूर्वसहमति तोड्दै जाने हो भने हामी सरकारमा सहभागी नभई बाहिरै बस्छौं ।’

माओवादी नेताका अनुसार सुरुमा दुबै दलका नेताहरु जबज र माओवादलाई आगामी महाधिवशेनसम्म छलफलमा लगेर टुंगो लगाउन समहत भएका थिए । तर, बुधबार निर्वाचन आयोगले चुनावको परिणाम राष्ट्रपतिलाई बुझाउनासाथ एमाले नेताहरु पछि हटेका छन् ।

बुधबारको बैठकमा केपी ओलीले जबजबारे छलफल हुन नसक्ने भन्दै एकीकृत पार्टीको सिद्धान्त जबज नै हुनुपर्ने बताएको स्रोतको भनाइ छ । जबजका साथै माओवादलाई पनि पार्टीभित्र छलफलको विषय बनाउन नसकिने ओलीले बैठकमा बताएपछि माओवादी हच्किएको स्रोत बताउँछ ।

जबज र माओवादबारे छलफल नगर्ने केपी ओलीको विचारलाई माधव नेपालले पनि बैठकमा खुलेर समर्थन जनाएका थिए । एकीकृत पार्टीको सिद्धान्त जबज नै हुनुपर्ने र यसबारे छलफल चलाउन आवश्यक नै नरहेको नेता नेपालले बताएका थिए ।

बुधबारको बैठकमा एमाले नेताहरुले जबजको वकालतमात्रै नगरी माओवादको समेत विरोध गरेकोे गुनासो माओवादी पक्षको छ । माओवादको कुरा गर्‍यो भने अन्तरराष्ट्रिय समुदायले आतंकवादीलाई जस्तो व्यवहार गर्छ भन्दै यसबारे पार्टीभित्र छलफल चलाउन नहुने एमाले नेताहरुले बताएको स्रोतले बतायो ।

एमाले नेता झलनाथ खनाल पहिल्यैदेखि जबजका आलोचक हुन् । विगतमा जबजलाई खनालले ‘दक्ष प्रजापतिको टाउको’ को संज्ञा दिएका थिए । तर, बुधबारको बैठकमा खनालले केपी ओली र माधव नेपालको विचारको खण्डन गरेनन् । कमै मात्र बोल्ने खनालले ‘मिलाएर लैजानुपर्छ’ भन्नुबाहेक थप केही नबोलेको स्रोतले बतायो ।

बैठकमा माओवादी नेताहरुले दुबै पार्टीका कार्यकर्ताको भावनालाई कदर गर्दै जबज र माओवादलाई महाधिवेशनसम्म छलफलमा लैजाने सहमति हुनुपर्नेमा जोड दिएको स्रोतले बतायो ।

आगामी महाधिवेशनले माओवादको सान्दर्भिकता सकिएको निर्णय गरेमा आफूहरुलाई मान्य हुने तर यसलाई छलफलको प्रक्रियामा हालिनुपर्ने माओवादी नेताको माग थियो । तर, माओवादीको मागलाई एमाले नेताहरुले सुन्नै नचाहेको स्रोतले अनलाइनखबरलाई बतायो । र, यही कारण बुधबार साँझ सार्वजनिक गर्ने भनिएको पार्टी एकताको सैद्धान्तिक खाका घोषणा हुन सकेन ।

न मन्त्रीको टुंगो, न सभामुख र राष्ट्रपति !

गत असोजदेखि पार्टी एकताको प्रक्रियामा रहेका एमाले र माओवादीले अहिलेसम्म सत्ता सञ्चालनको भागवण्डामा कुनै सहमति जुटाउन सकेका छैनन् । एमालेले कुन कुन मन्त्रालय सम्हाल्ने र माओवादीले कुन मन्त्रालय पाउने भन्नेबारे अहिलेसम्म गृहकार्य नभएको नेताहरुले बताएका छन् ।

माओवादीका एक नेताले यसबारेमा भने- ‘ओली र प्रचण्डजीवीच लामो छलफल भयो, कार्यदल र एकता संयेाजन समितिको पनि बैठक बस्यो, तर अहिलेसम्म पदीय भागवण्डाबारे केही पनि प्रगति भएको छैन ।’

उनले अगाडि भने, ‘राष्ट्रपति र उपराष्ट्रपति कसले पाउने ? सभामुख, उपसभामुख कसले पाउने ? कति मन्त्रालय एमालेले पाउने र कति माओवादीले पाउने ? यसबारे अहिलेसम्म कुनै छलफल र सहमति भएको छैन । मन्त्रालयबारे समहति नै नभई माओवादीले कसलाई सरकारमा पठाउने ?’

‘यस्तै हो भने सरकारबाहिरै बसिन्छ’

एमालेले यदि जबज र माओवादबारे छलफल नै गर्न नसकिने अडान राखिरहने र पूर्वसहमतिबाट पछि हट्दै जाने हो भने माओवादी पार्टी सरकारमा सहभागी नहुने एक नेताले बताए । उनले भने- ‘यस्तै हो भने हामी बाहिरै रहेर केपी ओलीको सरकारलाई समर्थन गर्छौं । जब, प्याकेजमा सबै विषयहरु टुंगिन्छन्, त्यसपछि मात्रै सरकारमा सहभागी हुन्छौं ।’

बुधबारको बैठकमा एमाले नेताहरु पूर्वसहमतिबाट ‘ब्याक’ भएता पनि दुबई पार्टीबीचको एकता वार्ता जारी रहने माओवादी नेताहरुको भनाइ छ ।

छलफलमा सहभागी एक माओवादी नेताले भने, ‘हामीले अहिले नै सरकार बाहिरै बस्छौं भनिसकेका छैनौं, विहीबार मन्त्रिीहरुको नाम नपठाउने मात्रै भनेका छौं, पार्टी एकताको सहमतिका लागि अझै पनि हाम्रो प्रयास जारी नै रहने छ ।’

तर, निर्वाचन परिणाम सार्वजनिक हुनासाथ एमाले नेताहरु पूर्वसहमहतिबाट पछि हट्नु रहस्यमय रहेको माओवादी नेताको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment