Comments Add Comment

कहाँ बस्छन् शेरधन ? बिराटनगर कि इटहरी ?

राजधानीकै बेटुंगो, इनिङ नै खराब !


४ फागुन, बिराटनगर । इटहरीको एक रिसोर्टमा भेटिएका आफूलाई एमालेको सहयोगी बताउने एक व्यवसायीले भने- ‘मुख्यमन्त्री शेरधन राईसँग के भिजन छ ? उनीसँग भिजनै छैन । र, आफैं निर्णय लिन सक्ने निर्णय-क्षमता पनि छैन ।’

आफूलाई लालबाबु पण्डितनिकट बताउने ती व्यवसायीले यसो भनिरहँदा शेरधन राई स्वच्छ छविका नेता भएको बताउन चाहिँ बिर्सिएनन् । प्रदेश १ लाई समृद्ध बनाउन चाहे भने राईले केही गरेर देखाउन सक्ने सम्भावना रहेको पनि उनले स्वीकारे । साथै यसमा उनको थप टिप्पणी थियो- ‘तर यो एक नम्बर प्रदेशका मानिसहरु अत्यन्तै खराब छन्, अरुको खुट्टा तान्नेमात्रै होइन, काट्ने आदत छ यहाँका मानिसहरुको ।’

गत चुनावमा वाम गठबन्धनलाई जिताउन सहयोग गरेका ती व्यवसायीको आशय के देखिन्थ्यो भने प्रदेश १ का मानिसहरुमा एकताको अभाव छ । स्वयं एमालेभित्रै यसको ‘रिफ्लेक्सन’ छ । र, शेरधन राईलाई असफल बनाउन अनि उनका खुट्टा तान्न एमालेजन नै लागिरहेका छन्, कांग्रेस र विपक्षीहरुको त कुरै छाडौं ।

इटहरीबाट एमालेका शुभेच्छुकले यसो भनिरहँदा बिराटनगरमा एमाले संसदीय दलको चुनाव भएको धेरै दिन बितेको थिएन, जुन चुनावमा एमालेका पोलिटब्यूरो सदस्य शेरधनले केन्द्रीय सचिव एवं प्रदेश संयोजक भीम आचार्यलाई २४ का विरुद्ध २६ भोटले जितेका थिए ।

प्रदेश  १ को खराब इनिङ !

अनलाइनखबरको टोली धरान पुगेका बेला एकजना सञ्चारकर्मी मित्रले सुनाए- ‘प्रदेश १ को संसदीय राजनीति पहिलो इनिङमै झूर देखियो ।’

‘कसरी ?’ हामीले सोध्यौं ।

उनले व्याख्या गरे- ‘एमाले संसदीय दलको चुनावमा पैसाको ठूलो चलखेल भएको हल्ला छ यहाँ । भीम आचार्य पक्षका नेताहरु शेरधन राईले पैसा पेलेर चुनाव जितेको भन्दै हिँडिरहेका छन् । आचार्य पक्षले पनि पैसा खर्च गरेको राई पक्षका नेताहरु बताउँदैछन् । आफ्नै पार्टीभित्रबाट आएको यस्तो प्रचार मुख्यमन्त्री राईका लागि सुखद होइन ।’

धराने सञ्चारकर्मी मित्रले थपे- ‘एमालेभित्रको यस्तो आरोप-प्रत्यारोप पार्टीको मात्रै नभएर प्रदेश १ को संसदीय राजनीतिकै खराब सुरुवात हो । सिंहदरबारको अधिकारमात्र होइन, विकृति पनि प्रदेशसम्म आइपुगेको उदाहरण हो यो । र, यसले गर्दा हाम्रो प्रदेशसभाको पहिलो इनिङ नै झूर देखियो । यस्तो अवस्थामा मुख्यमन्त्री शेरधनले कसरी नयाँ काम गरेर देखाउलान् ?’


कहाँ बस्छन् शेरधन ?

प्रदेश १ सगरमाथा समेत समेटिएर बनेको छ । अनि यहाँका मुख्यमन्त्री शेरधन राईका चुनौतीहरुको पहाड पनि सगरमाथा भन्दा होचो छैन ।

मुख्यमन्त्रीका चुनौतीहरु के के हुन् र उनका लागि अवसरहरु के कस्ता छन् भन्नेबारे पक्कै पनि बहस हुँदै जाला । तर, यहाँ चर्चा गर्न खोजिएको छ, प्रदेश १ को स्थायी राजधानी कहाँ रहला ? इटहरी कि बिराटनगर ? या धरान वा अरु नै ठाउँमा ?

अनलाइनखबरको अन्तर्वार्तामा मुख्यमन्त्री राईले भने- हामी उपयुक्त ढंगले राजधानी तोक्छौं

हाल सरकारले बिराटनगरलाई प्रदेश १ को अस्थायी राजधानी तोकेको छ । प्रदेशको स्थायी राजधानी तोक्ने जिम्मा प्रदेशसभाको हो । प्रदेशसभामा एमालेको एकल बहुमत छ र माओवादी पनि मिसिँदा प्रदेशको राजधानी तोक्ने सक्ने मत पुग्छ ।

प्रदेशको विकास र समृद्धिका लागि राजधानीको निर्धारण पहिलो शर्त हो मुख्यमन्त्री शेरधन राईका लागि । र, उनको पहिलो चुनौती पनि राजधानीको सुनिश्चिता नै हो । यस प्रदेशको अहिलेको सघन मुद्दा पनि राजधानी नै हो ।

प्रदेशको स्थायी राजधानी कहाँ राख्नुहुन्छ भन्ने अनलाइनखबरको प्रश्नमा मुख्यमन्त्री राईले भने- ‘हामी विषयमा प्रवेश गरेपछि उपयुक्त ढंगले राजधानी तोक्छौं ।’

हेर्नुहोस् मुख्यमन्त्री राईसँगको अन्तरवार्ता- खुराफातीसँग सचेत छु, भ्रष्टाचारीलाई छाड्दिनँ

मुख्यमन्त्री राईले उपयुक्त ढंगबाट राजधानी तोक्ने बताए पनि उनको छनोट भनेको धनकुटा, धरान, इटहरी र बिराटनगरमध्ये कुनै एउटा नै हो । यसबारे निर्णय लिनका लागि मुख्यमन्त्री र प्रदेश १ मा सबै ९३ सांसदहरुमा पर्याप्त छलफल र बहसको खाँचो देखिन्छ ।

 पवन सारडाकाे प्रश्न- के टेण्ट टाँगेर प्रदेशको राजधानी बनाउने ?


प्रदेश १ को राजधानी कहाँ रहनुपर्छ भन्नेबारे बहस भइरहेको छ र अझै हुँदै जाला । हामीले यही बहसलाई सघनता प्रदान गर्नका लागि मोरङ व्यापार संघका अध्यक्ष एवं चर्चित उद्योगी पवन कुमार सारडासँग प्रदेश १ को राजधानीबारे धारणा माग्यौं ।

धनकुटा, धरान वा इटहरीमा २/४ सय पाहुना अट्ने ठाउँ नभएको र पर्याप्त भौतिक पूर्वाधार नभएकाले  बिराटनगरलाई राजधानी बनाउनुको विकल्प नरहेको सारडाको तर्क छ

सप्तरीबाट दशकौं पहिले बिराटनगर आएर राष्ट्रिय उद्योगपछि बनेका सारडाले बिराटनगरका पक्षमा लबिङ गर्दै भने- ‘बिराटनगर सय वर्ष पुरानो शहर हो, यहाँ सबै जातजातिको बसोबास छ । विमानस्थल पनि यहीँ भएकाले भारत वा बंगलादेशबाट मुख्यमन्त्रीलाई भेट्न कोही आयो भने यहीँ सजिलो हुन्छ ।’

धनकुटा, धरान वा इटहरीमा २/४ सय पाहुना अट्ने ठाउँहरु नभएको, पर्याप्त भौतिक पूर्वाधार र सरकारी भवनहरु नभएको लगायतका समस्या रहेकाले बिराटनगरलाई राजधानी बनाउनुको विकल्प नरहेको सारडाको तर्क छ ।

अरुतिर जस्तो बिराटनगरमा राजधानी बन्दाखेरि जग्गाको भाऊ पनि नबढेको भन्दै उनले बिराटनगरले अहिलेको जनसंख्याको चौगुणा धान्न सक्ने दाबी गरे ।

सारडाको विचार यहाँ पढ्नुहोस्

बहसः बिराटनगर यसकारण प्रदेशको राजधानी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment