Comments Add Comment

बहस: बिराटनगर यसकारण प्रदेशको राजधानी

प्रदेशको राजधानीको अहिले जुन कुरा भइराखेको छ, इटहरी हुनुपर्छ, धरान हुनुपर्छ, धनकुटा हुनुपर्छ भन्ने कतिपयको चाहना छ । तर, प्रदेशको राजधानी बिराटनगर नै किन हुनुपर्छ भन्नेबारे हामी अलिकति चर्चा गरौं ।

बिराटनगरमा सबै जातजातिको बसोबास छ । यहाँ मधेसी पनि भेट्नुहुन्छ, राई, लिम्बु, मगर र बाहुनक्षेत्रीदेखि हरेकको बसोबास छ । पुरानो बसोबास भएको शहर हो यो । हरेक राजनीतिक क्रान्ति बिराटनगरबाटै भएको हो । धेरै प्रधानमन्त्री, मन्त्री र अर्थमन्त्रीहरु बिराटनगरबाट भएका हुन् । पहिलो उद्योग यहीँ स्थापना भएको हो । यहाँ नेपालको पहिलो चेम्बर छ । नेपालको पहिलो उद्योग वाणिज्य संघ हो मोरङ्ग ब्यापार संघ, वि.सं २००७ सालमा स्थापना भएको ।

यो बिराटनगर एकसय वर्षभन्दा पुरानो सहर हो । कलकारखानामा धेरै मानिसहरुले रोजगारी पाइराखेका छन् । बिराटनगरमा मात्रै २ लाख चलायमान जनसंख्या छ, यसको मतलव, यहाँका कलेज स्कुलहरुमा पढ्ने विद्यार्थीहरु । यो एक नम्बर प्रदेशमा जति स्कुलहरु छन्, त्यति यो बिराटनगरमा मात्रै छन् । जति अस्पतालहरु प्रदेश १ मा छन् र विरामीले सुविधा पाइरहेका छन्, त्यति नै संख्या बिराटनगरमा मात्रै छ ।

बिराटनगर शिक्षा र स्वास्थ्यको हब भइसक्यो । दुई दुईवटा मेडिकल कलेज छन् यहाँ । यहाँ कम्तिमा ५० वटा नर्सिङ होमहरु छन् । सैकडौं स्कुलहरु छन् । बंगाल, बिहार र युपीबाट आएर यहाँ उपचार गराइराखेका छन् ।

राजधानी घोषणा भएपछि जग्गाको मूल्य बढ्यो । तर, बिराटनगरमा त्यस्तो छैन । किनभने बिराटनगरको आफ्नै ‘होल्डिङ क्यापासिटी’ छ

बिराटनगरमा जनसंख्यालाई धान्ने क्षमता पनि प्रचुर छ । अहिले बिराटनगरमा जति मान्छे छन्, त्यसको चौगुणा यहाँ बसोबास गर्नका लागि जग्गा उपलब्ध छ । धनकुटामा चारवटा कार्यालयहरु खोल्नुपर्‍यो भने ठाउँ छैन ।

तपाईहरुले धेरै ठाउँमा हेर्नुभयो भने राजधानी घोषणा भएपछि जग्गाको मूल्य बढ्यो । तर, बिराटनगरमा त्यस्तो छैन । किनभने बिराटनगरको आफ्नै ‘होल्डिङ क्यापासिटी’ छ । यहाँ कोठाभाडाको कुनै समस्या छैन । तपाईलाई कतिवटा कोठा चाहियो ? उपलब्ध छ ।

तपाईलाई सरकारी अफिसहरु कति चाहियो ? यहाँ ५६ वटा सरकारी कार्यालयका प्रमुखहरुको अफिस छन् । राष्ट्र बैंक यहीँ छ । उद्योग यहीँ छन् । शिक्षाको सबै पकड यहाँ छ । स्वास्थ्य क्षेत्रमा यहाँ पकड छ । ट्रान्सपोर्टेसनको फ्री मुभमेन्ट छ । विमानस्थल यहीँ छ । मुख्यमन्त्रीलाई भेट्न दिल्ली वा बैंककबाट कोही मान्छे आयो भने एयरपोर्टबाटै आउँछ ।

बिराटनगरमा कुनै सेमिनार गर्नुपर्‍यो भने ५ हजार मान्छे अटाउन सक्छन् । अहिले यहाँ लाइन्स क्लबको अधिवेशन हुँदैछ, यसमा ४ हजार पाहुनाहरु आइराखेका छन् । योभन्दा पहिले रोटरीको कार्यक्रम भएको थियो । गतसाल लाइन्सको एउटा कार्यक्रम थियो, धरानमा । त्यहाँ ३/४ सय मानिसहरु आएका थिए । कार्यक्रम सकिएपछि होटलका कोठाहरुमा २ सयभन्दा बढीलाई व्यवस्थापन गर्न सकेनन् र केही मान्छेलाई सारेर इटहरी ल्यायो ।

तर, बिराटनगरमा यस्तो समस्या छैन । यहाँ हजारौं मान्छेलाई राख्न सकिन्छ । जैन भवन, मारवाडी सेवा सदन, अतिथि सदन छन् । यहाँ भारतबाट बेहुलाबेहुलीहरु आएर बिवाह गर्छन् । त्यस्तै तोदी भवन छ । कालीमन्दिरमा पनि बिहेका लागि संरचना बनिँदैछ । यहाँ हेरिसन होटलदेखि अन्य ४/५ वटा होटलहरु पाइपलाइनमा छन् । यो सबै पूर्वाधारहरुमा लगानी गर्दांखेरि राजधानीलाई लक्षित गरेर गरिएको होइन । यहाँको डिमाण्ड र सप्लाइमा काम भएको हो ।

तपाईहरु धरान राजधानी लाने कुरा गर्नुहुन्छ, धरानमा जग्गा महंगो छ । इटहरी पनि त्यस्तै छ । फेरि, सहर फैलिएर कहाँसम्म जाने ? त्यहाँ इटहरीमा कोही स्थानीय बसोबासवाला मान्छेहरु छैनन्, सप्पै बसाइँ सरेर आएका मान्छेहरु छन् । बिराटनगरमा कोइराला परिवारदेखि सबै परिवारहरुको पुरानो बसोबास छ ।

प्रदेशको कुरा गर्दा बिराटनगरमा हाइकोर्ट छ । यहाँ एआइजी कार्यालय पनि राजधानी आउनुभन्दा पहिल्यै बनेको छ । हामीले नयाँ ठाउँमा नयाँ संरचना कसरी बनाउने ? जबकि भूकम्प भएको दुई वर्ष बितिसक्दा पनि आजसम्म उनीहरुको घर बन्न सकेको छैन । तपाईले कसरी राजधानी लगेर एकै दिनमा नयाँ बनाउन सक्नुहुन्छ ? केे टेण्ट टाँगेर राजधानी बनाउने हो ?

(अनलाइनखबरसँग कुराकानीमा आधारित)

यो पनि पढ्नुहोस्
कहाँ बस्छन् शेरधन ? बिराटनगर कि इटहरी ?


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment