Comments Add Comment

‘मेरो नाम नै मेरो आत्मकथा हो’

लेख्नु र लेखेजस्तै बाँच्नु दुई भिन्न कुरा हुन् । विश्व साहित्यमै यस्ता घटना दुर्लभ छन् । सरुभक्त यस्ता साहित्यकार हुन्, जसले जस्तो जीवन भोगे, त्यसलाई उपन्यासमा कलात्मक रुपमा पोखे । त्यहाँसम्म ठीकै थियो तर उनी एक पाइला अगाडि सरेर जस्तो लेखेका छन्/लेख्दैछन्, जीवन पनि त्यस्तै बाँच्दैछन् ।

प्रेम गर्नु नै जीवन बाँच्नु हो भन्ने विश्वास राख्नेहरुका लागि मिथकजस्तै लाग्ने तर जीवित पात्र हुन्, सरुभक्त । उनले जसलाई प्रेम गरे, उसैको नाम ग्रहण गरे । अनि, झण्डै आत्मकथा शैलीमा आफ्नो प्रेमलाई विषय वस्तु बनाएर ‘पागलवस्ती’ लेखे । त्यस कृतिले नेपाली साहित्यको सर्वोत्तम मदन पुरस्कार प्राप्त गर्‍यो ।

साहित्यकारले आफ्नो नाम परिवर्तन गर्नु सामान्य कुरा हो तर प्रेमको नाम ग्रहण गरेर जीवनभर बाँच्ने हिम्मत गर्नु चानचुने आँट होइन । करिब पाँच दशकअघि पोखराजस्तो सानो बजारमा आफ्नो प्रेमलाई सगौरव ग्रहण गर्दा उनले कति पीडा भोग्नु पर्‍यो, यसको कथा उनीबाहेक अरुलाई थाहा छैन ।

आज पनि यो पीडा बोकेर उनी हिँडिरहेका छन् । यो कस्तो कथा थियो, स्पष्ट रुपमा आजपर्यन्त कसैलाई थाहा हुन सकेको छैन । यसपटक प्रणय दिवसको छेको पारेर सरुभक्तसँग प्रेमका विविध आयामका विषयमा अश्विनी कोइरालाले लामो कुराकानी गरेका थिए ।

तपाईं भक्तमान श्रेष्ठबाट सरुभक्तमा परिवर्तन हुनुका किस्सा बजारमा जताततै भेटिन्छन् । ती किस्सा कति सत्य हुन्, कति गलत भन्नेमा तपाईंका शुभचिन्तक दिग्भ्रमित छन् । यस विषयमा आत्मकथा किन लेख्नुहुन्न ? 

 प्रेम गर्नु ठूलो कुरा होइन, प्रेममय जीवन यापन गर्नु ठूलो कुरा हो

मेरो नाम नै मेरो आत्मकथा हो । यहाँभन्दा लेख्न वा बोल्न मसित शब्द छैनन् । जीवन सरुमय छ र त्यसैमा समर्पित छ ।

तर, तपाईंका शुभचिन्तकको आग्रह छ, तपाईंद्वारा यो सरुमय जीवनका विषयमा पुस्तक लेखिनुपर्छ ।

म यस्ता शुभचिन्तकको आग्रहलाई सम्मान गर्छु । तर, म जुन रुपमा लेखनमा सक्रिय छु, त्यसले आत्मकथा लेख्ने हैसियतमा पुगिसकेको छैन ।

मदनमणि दिक्षित र सत्यमोहन जोशीजस्ता शताब्दी पुरुषहरु लेखनमा व्यस्त हुनुहुन्छ । उहाँहरुले आत्मकथा लेख्नु श्रेयस्कर हुन्छ । विक्रमको १० र २० का लेखकहरु पनि अझै सक्रिय हुनुहुन्छ । म ३० को दशकमा उदाएको लेखक, मेरो बेला भएको छैन । र, अहिले नै आत्मकथा लेख्ने महान दायित्व पूरा गर्न सक्छुजस्तो लाग्दैन ।

बजारमा त तपाईंभन्दा कान्छा लेखकहरुका आत्मकथा आइसके । फेरि आत्मकथा लेख्नु सामान्य कुरा हो भन्ने कुरा विश्वमा आएका सेलिब्रेटीका पुस्तकहरुले पनि स्पष्ट पार्छन् नि ?

यस कुरामा म टिप्पणी गर्न चाहन्नँ । सबैको आ-आफ्नो मानसिकता हुन्छ । मेरो मानसिकताले मलाई आत्मकथा लेख्न योग्य मानेको छैन ।

तपाईंको आत्मकथाले कसैको जीवनलाई अप्ठ्यारो पार्छ भन्ने डर हो ?

जब किशोर उमेरमा शारीरिक परिवर्तनहरु हुन थाल्छन् मानिस प्रेमको बेसक्याम्पमा पुग्न हतारिन्छन् तर त्यहाँबाट शिखर धेरै टाढा छ र दुर्गम पनि

म त्यसरी सोच्दिनँ । मलाई लाग्छ, प्रेमीहरु कसैलाई क्षति पुर्‍याउन प्रेम गर्दैनन् । कुनै व्यक्तिले कसैलाई प्रेम गर्छ भने त्यसको शतप्रतिशत सम्मान पनि गर्छन् । गर्दैनन् भने बुझ्नुपर्छ, उसको प्रेमले शिखरतर्फको यात्रा शुरु नै गरेको छैन । प्रेमको न्यूनतम शर्त पालना गरेकै छैन । प्रेम गर्नु ठूलो कुरा होइन, प्रेममय जीवन यापन गर्नु ठूलो कुरा हो ।

प्रेम के हो ? 

सर्वश्रेष्ठ मानवीय अहम् । हिमाल आरोहणको भाषामा भन्दा प्रेम जीवनको सर्वोच्च शिखर सगरमाथाको आरोहण हो ।

सायद प्रेमको सर्वोच्च शिखर तपाईंले आरोहण गर्नुभयो, यसको अर्थ प्रेमका आफ्ना अग्लाइहरु हुन्छन्, हो ?

अवश्य पनि । मलाई लाग्छ, प्रेमको एउटा बेस क्याम्प पनि हुन्छ । त्यो बेसक्याम्पसम्म सबै मान्छे पुगेकै हुन्छन् । त्यहाँबाट प्रेमतर्फको यात्रा शुरु हुन्छ र त्यो सर्वोच्च शिखरतर्फ उकालिन्छ ।

त्यसोभए भनिदिनुस् न, प्रेमको बेसक्याम्प कहाँ छ ?

त्यो जीवनमै अन्तर्निहित छ । जब किशोर उमेरमा शारीरिक परिवर्तनहरु हुन थाल्छन् मानिसहरु त्यस बेसक्याम्पमा पुग्न हतारिन्छन् ।

सचेत रुपमै ?

प्रेमको शिखरमा पुगेको अनुभूति विवाह गरेपछि वा सँगै बसेपछि मात्र प्राप्त हुन्छ भन्ने होइन

यसमा सचेतना होइन, नैसर्गिकता हुन्छ । नैसर्गिक रुपमा किशोर-किशोरीहरु शरीरमा रासायनिक परिवर्तन भएपछि विपरितलिंगीप्रति आकषिर्त् हुनथाल्छन् । यो आकर्षण प्रेमको बेसक्याम्पतिर जाने यात्राको प्रारम्भ हो ।

यौनको बेसक्याम्पबाट प्रेमको सर्वोच्च शिखर कति टाढा छ ? 

धेरै टाढा छ र दुर्गम पनि । मैले माथि संकेत गरिसकें, बेसक्याम्प तपाईं रहरले पुग्न सक्नुहुन्छ र आकर्षणले पनि । थोरै मिहिनेतले पनि त्यहाँ पुग्न सक्नुहुन्छ ।

तर, प्रेमको शिखर त्यहाँबाट दुरुह हुनथाल्छ । आज केही प्रेम विवाहमा परिणत नहुँदै टुट्छन् । उनीहरु बेसक्याम्पबाट उकालो त लाग्छन् तर पहिलो गन्तव्यमा पुग्न नसकी फर्किन्छन् ।

केही प्रेम विवाहपछि केही वर्षमा टुट्छन् । केही प्रेम केही उकालो लाग्दालाग्दै बाहिर देखिनेगरी टुट्छन्, केही नदेखिनेगरी टुट्छन् । उनीहरुले प्रेमको कति लामो यात्रा गरे उनीहरुले अनुभव गर्ने कुरा हो ।

 म पागलबस्तीजस्तो आदर्श समाज स्थापित होस् भन्ने चाहन्छु तर समाज तरुनीखेतीजस्तो कुरुप छ

सत्य के हो भने प्रेमको दुरुह उकालो उक्लिन सकेनन् । प्रेमको यात्रामा उनीहरुलाई लाग्यो, यहाँ अक्सिजनको कमी छ । यहाँ पीडा छ, यहाँ चिसो छ । तर, उनीहरुलाई थाहै भएन, यो उकालोमा उक्लिनुको आफ्नै महानता छ ।

मानिसले अर्को प्रेम खोज्नुको अर्थ, बेसक्याम्पबाट उक्लन सजिलो हुन्छ भन्ने हो ?

म दोस्रो प्रेम हुन्छ भन्ने जानकारी राख्दिनँ ।

प्रेमको अर्थ मिलन नै हो ?

प्रेमको अर्थ शारीरिक मिलन हो र त्यसभन्दा माथि अनुभूतिजन्य मिलन हो । यसको अर्थ सधैं सँगै बसेर प्रेम महान हुन्छ भन्ने होइन । विवाह प्रेमको बेसक्याम्पसम्मको मिलन हो । त्यसपछिको अनुभूति प्रेमको माथिल्लो यात्रा तय गर्दै गएपछि हुन्छ ।

सँगै शिखर चढ्नुपर्छ । तर, यो अनुभूति विवाह गरेपछि वा सँगै बसेपछि मात्र प्राप्त हुन्छ भन्ने होइन ।

भनेपछि प्रेम विछोडको पीडामा अनुभूत हुन्छ, हो ? जस्तो- तपाईंले अनुभव गर्नुभयो भन्ने हामीलाई लाग्छ ।

त्यस्तो होइन । यो मिलन र विछोडजस्ता बाहिरी घटनासँग सम्बन्धित छैन । तपाईंले प्रेमलाई कुन रुपमा अनुभूत गर्नु भयो, त्यससँग सम्बन्धित छ । बेसक्याम्पबाटै र्फकनु भयो कि शिखरतर्फको यात्रा तय गर्ने अठोट लिनुभयो, त्यसमा भरपर्छ ।

संसारमा प्रसिद्ध प्रेम गाथाहरु मध्ये विछोडका कथा बढी लोकप्रिय छन् । प्रेममा विछोड अनिवार्य छ ?

लैला-मजनु, हीर-राँझा, देवदास-पारु, रोमियो-जुलियट यी सबै कथा प्रसिद्ध भए र विछोडमा अन्त्य भए । यसको अर्थ यो होइन, सबै विछोडकै कथा महान हुन्छन् ।

आजभन्दा करिब सय वर्षअघि युरोपमा भर्खरै कलेज पुगेका किशोर-किशोरीबीच प्रेम उत्पन्न भयो । उनीहरुले पहिले भेटमै असीम प्रेमको अनुभूति प्राप्त गरे । युरोप-अमेरिकामा एउटा प्रेमपछि अर्को प्रेम हुन्छ । अर्को प्रेमपछि फेरि अर्को प्रेेम हुन्छ । तर, विवाहको कुरा हुँदैन । विवाह भइहाल्यो भने त्यो लामो समय टिक्दैन भनिन्छ ।

तर, यो जोडीले यति गहिरो प्रेम अनुभूति गरे कि अर्को प्रेम हुन्छ भन्ने विश्वासै गरेनन् । उनीहरुले चाँडै विवाह गरे । उनीहरुसँगै पढ्नेहरुले दर्जनौं पटक प्रेम गरे । ढिलो विवाह गरे र चाँडै पारपाचुके पनि गरे ।

तर, यो जोडी अनवरत प्रेमको शिखरयात्रामा अनवरत बढिरहे । करिब सय वर्षको उमेरमा प्रेमिकाको निधन भयो । जब प्रेमिकाले देहत्याग गरिन्, त्यसको एक घण्टामा पुरुषले पनि प्राण त्यागे । दुवैको अन्त्येष्टि एउटै कफिनमा गरियो ।

प्रेममा उत्सर्गको भावना कुन बेला आउँछ ?

प्रेम र उत्सर्गको भावना एकअर्काका परिपूरक हुन् । जहाँ प्रेम हुन्छ, त्यहाँ उत्सर्ग हुन्छ ।

‘पागलवस्ती’ तपाईंको आत्मकथा हो ?

पागलवस्ती मेरो आत्मकथा होइन, विचारकथा हो भनेको छु । यो पुस्तकमा मेरा विचार मात्र होइन, भावना र संवेदना पनि समेटिएका छन् ।

साहित्यको शुरुवात कसरी भयो ? केही सम्झनु हुन्छ ?

साहित्य लेखनको शुरुवात बालककालदेखि नै भएको हो । म सम्झन्छु, कक्षा ६ मा अध्ययन गर्दा मैले पहिलोपल्ट कविता रचना गरेको थिएँ । त्यसपछि विद्यालय जीवनमा केही कथा लेखें ।

शुरुवाती दिनमा कसलाई पढ्नु भयो ? हाम्रा पाठकलाई पठनसम्बन्धी केही सल्लाह दिनुपर्‍यो भने के भन्नुहुन्छ ?

मैले युधीर थापा, गुल्सन नन्दा, रानु, श्रीधर खनाल, प्रकाश कोविद र सुवास घिसिङका उपन्यासहरुबाट आफ्नो पठन शुरु गरें । पछि अन्य स्तरीय साहित्यिक उपन्यासहरुको अध्ययन गर्न थालें ।

मलाई लाग्छ, युधिर थापा, प्रकाश कोविदजस्ता उपन्यासकारका उपन्यासले किशोर उमेरमा औपन्यासिक अभिरुचि जगाउन मद्दत गर्छन् । म शुरुवाती पाठकलाई सजिलो पुस्तकबाट आफ्नो यात्रा थाल्न सुझाव दिन्छु ।

पागलवस्ती जस्तो उत्कृष्ट उपन्यास लेखिसकेको मान्छेले दोस्रो कृति ‘तरुनी खेती’जस्तो सामान्य उपन्यास लेख्नु भयो भन्ने आलोचना गरिन्छ, के भन्नुहुन्छ ?

‘पागलबस्ती’ एउटा आदर्श समाजको परिकल्पना थियो । तर, पागलबस्ती बाहिर कस्तो छ, त्यो तरुनीखेतीमा पाइन्छ । खासमा, नेपाली समाज कस्तो छ भन्ने कुरा ‘तरुनीखेती’मा पाइन्छ ।

नेपाली समाजको ब्लुपि्रन्ट हो, यो उपन्यास । मलाई लाग्छ, यसलाई जसरी बुझ्नुपथ्र्यो, बुझिएन । धेरै नारीवादीहरुले मलाई यस विषयमा टिप्पणी गर्नुभयोे । जब पुस्तकको उद्देश्य बुझाएँ, त्यसपछि शान्त हुनुभयो ।

म पागलबस्तीजस्तो आदर्श समाज स्थापित होस् भन्ने चाहन्छु तर समाज तरुनीखेतीजस्तो कुरुप छ । तरुनी खेती प्रयोगात्मक-प्रतिकात्मक शैलीमा रचना गरिएको छ ।

त्यसैले कतिलाई जटिल लाग्छ । अहिले यस उपन्यासको चर्चा राम्रै गरी समीक्षक र पाठकबीच हुनथालेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment