Comments Add Comment

विशाखापट्टनम अब विद्युतीय प्रणालीमा, आयात सहज हुने

७ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय व्यापारका लागि वैकल्पिक बन्दरगाहको रुपमा प्रयोग गर्न थालिएको भारतको विशाखापट्टनम पूर्णतः विद्युतीय प्रणालीमा प्रवेश गरेको छ । यससँगै उक्त बन्दरगाहबाट हुने व्यापार सहज हुने विश्वास वाणिज्य मन्त्रालयको छ ।

आइतवार वाणिज्य मन्त्रालय, परराष्ट्र मन्त्रालय र भारतीय सरोकारवाला अधिकारीहरूको बैठकले विशाखापट्टनमबाट हुने व्यापारीक गतिविधिलाई विद्युतीय प्रणालीबाट सञ्चालन गर्ने सहमति गरेको हो । हालसम्म उक्त बन्दरगाह कागजी प्रविधि (म्यानुअल) बाट सञ्चालन हुँदै आएको छ ।

‘अब विशाखापट्टनम परम्परागत कागजी प्रक्रियाको झन्झटबाट मुक्त भएको छ ।’ मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरले भने ।

प्रतितपत्र (एलसी) बाट हुने व्यापारका लागि सम्बन्धित बैंकले नेपाल राष्ट्र बैंक, राष्ट्र बैंकले भारतस्थित नेपाली दूतावास र उक्त दूतावासले सम्बन्धित बन्दरगाहसम्म विभिन्न प्रक्रिया पूरा गर्नुपर्छ । प्रतितपत्रबिनाका गतिविधिका लागि भने वाणिज्य विभागबाट भारतस्थित नेपाली दूतावास हुँदै सम्बन्धित बन्दरगाहसम्म प्रक्रिया अबलम्बन गर्नुपर्छ ।

अब विशाखापट्टनम बन्दरगाहमार्फत गरिने सम्पूर्ण गतिविधि विद्युतीय माध्यमबाट हुनेछ । त्यसका लागि उक्त बन्दरगाहसमेतले सहमति जनाएको छ ।

विद्युतीय प्रणालीमा जाँदा त्यसले लागत, समय, प्रक्रियालाई घटाउन सहयोग मिल्ने मन्त्रालयको विश्वास छ ।

हालसम्म उक्त बन्दरगाहबाट हुने अन्तर्राष्ट्रिय व्यापारको यस्ता गतिविधि परम्परागत प्रक्रियामा आधारित थिए । कोलकत्तामा भने अहिले पनि परम्परागत प्रक्रिया नै कायम छ ।

पछिल्लो समय व्यापारीक गतिविधि क्रमशः विशाखापट्टनमतर्फ आकषिर्त भइरहेको मन्त्रालय बताउँछ । हाल हरेक महिना १५ वटासम्म रेलमा कन्टेनर कार्गो नेपाल आइरहेका मन्त्रालयका सचिव घिमिरेले बताए । ‘बन्दरगाहको प्रविधि र प्रभावकारीता कारण विशाखापट्टनमतर्फ आकर्षण बढेको छ,’ उनले भने ।

विशाखापट्टनमको प्रभावकारीताका कारण त्यसले कोलकता बन्दरगाहलाई पनि नयाँ प्रविधिमा जान सकारात्मक चाप पर्ने विश्वास मन्त्रालयको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment