Comments Add Comment

प्रदेश ६ लाई अर्गानिक प्रदेश बनाइने, भारतीय तरकारीमा प्रतिबन्ध !

८ फागुन, काठमाडौं । प्रदेश ६ लाई अर्गानिक प्रदेश बनाउने तयारी गरिएको छ ।

प्रदेश ६ को पहिलो मन्त्रिपरिषद् बैठकले नै अर्गानिक प्रदेशको आधार तयार गर्ने गरी निर्णयहरु गरेको हो ।

खाद्यान्न र तरकारी उत्पादनमा प्रदेशलाई आत्मनिर्भर बनाउने, विषादी प्रयोगमा निषेध गर्ने, बाहिरबाट आउने विषादियुक्त तरकारीलाई प्रतिबन्ध लगाउने तयारी गरिएको प्रदेश सरकारकी प्रवक्त बिमला केसीले जानकारी दिइन् ।

भूमि ब्यवस्थापन, कृषि तथा सहकारी मन्त्री समेत रहेकी प्रवक्ता केसीले अहिले आधार तयार गर्नका लागि मन्त्रिपरिषद्बाट केही निर्णय गरिएको भन्दै यसलाई दीर्घकालीन योजनाका रुपमा अघि बढाउने बताइन् ।

‘तत्काल त सम्भाना छैन्, हामीले अहिले आधार तयार गर्नका लागि मन्त्रिपरिषद्बाट निर्णय गरेका छौं,’ मन्त्री केसीले भनिन्,’अब दीर्घकालीन योजना बनाएर काम सुरु गर्छाै ।’

उनका अनुसार प्रदेशमा कृषिलाई व्यवसायिकरण गरिने छ भने भारतीय बजारबाट आयात हुने विषाधियुक्त तरकारीलाई बिस्तारै प्रतिबन्ध लगाइने छ ।

प्रदेशलाई अर्गानिक प्रदेशका रुपमा चिनाउनका लागि मन्त्रिपरिषदको बैठकले रैथाने बालीको संरक्षण, व्यवसायिक खेती प्रणालीको प्रोत्साहन गर्ने निर्णय गरेको छ ।

यस्तै उच्च मूल्य कृषि बस्तुको उत्पादनमा बृद्धि, एक समूह एक सहकारी, एक सहकारी एक उत्पादनको नीति लिएर काम गर्ने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको छ ।

प्रदेशलाई अर्गानिक बनाउनका लागि हरेक क्षेत्रसँग सल्लाह र सुझाव लिएर सम्भाव्यता अध्ययन गरेर काम सुरु गरिने मन्त्री केसीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment