+

क्रिकेटर करण केसी पोखरामा सम्मानित, प्रदेश सरकारले १ लाख दिने

२०७४ फागुन  ९ गते ११:३१ २०७४ फागुन ९ गते ११:३१
क्रिकेटर करण केसी पोखरामा सम्मानित, प्रदेश सरकारले १ लाख दिने

९ फागुन, पोखरा । राष्ट्रिय किक्रेट खेलाडी करण केसीलाई पोखरामा सम्मान गरिएको छ ।

आईसीसी क्रिकेट लिग डिभिजन टु मा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई विश्वकप छनौट खेल चरणमा प्रवेशसँगै डिभिजन वानमा पुर्‍याउन महत्वपूर्ण योगदान दिएको भन्दै समस्त पोखरेलीको तर्फबाट क्षेत्रीय खेलकुद विकास समितिले बुधबार पोखरामा करणलाई सम्मान गरेको हो ।

स्याङ्जा जन्मघर भएका केसीको उत्कृष्ट प्रदर्शनका कारण नेपाल डिभिजन वानमा प्रवेशसँगै विश्व क्रिकेट छनौट चरणमा प्रवेश गरेको थियो ।

केसी प्रदेश नम्बर ४ को गौरब भएकाले सम्मान गरिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले बताए ।

कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समितिको आयोजनामा प्रदेश नम्बर ४ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामशरण बस्नेत, कस्केली सांसद दिपक कोइराला ‘रुपक’, कृष्ण थापा, राजिव पहारी, मुस्ताङी सांसद इन्द्रधारा विष्ट, समितिका अध्यक्ष खगराज पौडेल, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष यामबहादुर गुरुङ, कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष संजयकान्त सिग्देल, कास्की जिल्ला खेलाडी संघका अध्यक्ष दिपक गोदार, कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहलगायतले सम्मानपत्रको साथमा फुलमाला, खादा तथा अविर लगाएर सम्मान गरे ।

उक्त अवसरमा खेलकुद परिषद्का पूर्व सदस्य एवम् पोखरा मनकामना दर्शन प्रालिका संचालक राजेश गुरुङले केसीलाई नगद १५ हजारसहित सम्मान गरेका थिए ।

सम्मान कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले प्रदेश नम्बर ४ को क्रिकेट खेलको विकासमा मात्र नभइ देशकै नाम राख्ने खेलाडी केसीलाई प्रदेश सरकारले नगद १ लाखसहित सम्मान गर्ने घोषणा गरे ।

उनले खेलाडी उत्पादनका लागि खेलको पूर्वाधार निर्माण, खेल सामग्री र प्रशिक्षक ब्यबस्थाका लागि सरकारले चाँडै योजना बनाउने जानकारी दिए ।

उनले प्रदेश सरकारले ल्याउने पहिलो बजेटमा खेलकुदलाई प्राथमिकता दिइनेपनि प्रतिबद्धता जनाए ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले खेलाडीलाई खेलेरै बाँच्न सक्ने आधार तयार गरिदिन प्रदेश सरकारलाई आग्रह गरे ।

उनले खेलकुदका माध्यमबाट विश्वमा नेपाल र सिङ्गो प्रदेशको छवि उचो राख्ने खेलाडीलाई सम्मान गर्न पाउनु प्रदेश नम्बर ४ को अहोभाग्य भएको बताए ।

करण केसी
लेखक
सन्देश श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय