+
+
Shares

असुरक्षित भएको भन्दै डोटीका डाक्टरले जिल्ला छोडे

रामहरी ओझा  रामहरी ओझा
२०७४ फागुन ९ गते १७:३९

९ फागुन, डोटी । जिल्ला अस्पतालमा कार्यरत चिकित्सकहरुले आफूहरु असुरक्षित भएको भन्दै जिल्ला छोडेका छन् ।

आइतबार जिल्ला अस्पताल डोटीमा काजमा कार्यरत चिकित्सक डा. जितेन्द्र सिंहमाथि कुटपिट भएपछि सुरक्षाको कारण देखाउँदै जिल्ला अस्पताल डोटीका चिकित्सकहरु विबस पराजुली, जितेन्द्र सिंह र सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक डा. राजकुमार बिश्वकर्माले जिल्ला छोडेका हुन् ।

आइतबार जिल्ला अस्पताल डोटीमा एक महिलाको भिडियो एक्स-रे गर्ने क्रममा डा. जितेन्द्र सिंहले दुर्व्यबहार गरेको भन्दै महिलाका आफन्तहरुले सिंहलाई कुटपिट गरेका थिए ।

कुटपिटबाट सिंहको दाँत भाँचिएको छ । उक्त घटनापछि नेपाल चिकित्सक संघ र सरकारी चिकित्सक संघ (गोडान) ले बिज्ञप्ति जारी गरी जिल्लाका सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरुलाई जिल्ला छोड्न आग्रह गरेपछि सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरुले जिल्ला छोडेका हुन ।

जिल्ला स्वास्थ्य कार्यालय डोटीका बरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश बिष्टले चिकित्सकहरुले जिल्ला छोडेको पुष्टि गरे ।

‘चिकित्सकहरुमाथि हमला भएपछि असुरक्षित भएको महसुस गर्दै आज हिडे’ बिष्टले भने ‘उहाँहरुका पेशागत संगठनहरुले विज्ञप्ति निकालेर काठमाडौं आउन भनेका रहेछन्, त्यसैले उहाँहरु जानु भयो ।’

आइतवार चिकित्सकमाथि भएको कुटपिटको घटनामा संलग्न भएको भन्दै जिल्ला प्रहरी कार्यालय डोटीले चार जनाबिरुद्ध सार्वजनिक अपराधको मुद्धा दर्ता गरी अनुसन्धानको क्रममा रहेको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीमा प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहका अनुसार डोटी दिपायल सिलगढी नगरपालिका-७ का हिम्कत सिंह बिष्ट, बिजय बिष्ट, टेकबहादुर विष्ट र सोही नपा-६ का अरुण महतलाई नियन्त्रण लिएर अनुसन्धान भइरहेको छ ।

सरकारी कोटामा रहेका दुवै डाक्टरले अस्पताल छोडेपछि निक साइमन नामक गैरसरकारी संस्थाबाट नियुक्त डा. गिरीष अवस्थी मात्रै अस्पतालमा छन् ।

डा. अवस्थी पनि बिहीवार जिल्ला छोड्ने तयारीमा छन । ‘नेपाल चिकित्सक संघले आउन भनिसकेपछि म पनि भोलि जाने तयारीमा छु’ डा. अवस्थीले बताए ।

‘काउण्टर मुद्धा दिने तयारी भएपछि जिल्ला छोड्यौं’

आइतवार भएको घटनाको बिरुद्धमा मुद्धा दर्ता भएपछि मुद्धाका बिपक्षीहरुले चिकित्सक डा. जितेन्द्र सिंहबिरुद्ध जवरजस्तीकरणी उद्योगमा मुद्धा हाल्ने चेतावनी दिएकोले आफूहरु असुरक्षित भएको महसुस गर्दै जिल्ला छोडेको जिल्ला अस्पतालमा कार्यरत डा. विवस पराजुलीले बताए ।

‘तपाई मुद्धा हाल्ने भए हामी पनि मुद्धा हाल्छौं भन्ने धम्की आयो’ पराजुलीले भने ‘त्यसपछि हामीहरुले पेशागत संगठनहरुसँग सल्लाह गरी असुरक्षित भएको महसुस गर्दै जिल्ला छोड्यौं ।’

के हो घटना ?

जिल्ला अस्पताल डोटीमा भिडियो एक्स-रे गर्ने चिकित्सक डां गिरीष अवस्थी परिवार नियोजनको स्थायी बध्याकरण शिविरका लागि गाउँतिर गएका थिए । यो अवधिमा केदार अखडा प्राथमिक स्वास्थ्य केन्द्रका डा. जितेन्द्रलाई जिल्ला जिल्ला अस्पतालमा एक महिनाको लागि काजमा बोलाइएको थियो ।

आइतवार उनी बिरामीहरुको भिडियो एक्स-रे गरिरहेका बेला एक महिलासँग भनाभन भयो । महिलाहरुसँग भनाभन भएपछि डा. जितेन्द्रले ती महिलाको भिडियो एक्स-रे नगरि बाहिर पठाए ।

डाक्टरले आफूमाथी अभद्र व्यबहार गरेको र भिडियो एक्स-रे पनि नगरिदिएको भन्दै ती महिलाले आफन्तलाई खबर गरिन् ।

महिलाका आफ्न्त जिल्ला अस्पताल पुगेर डाक्टरलाई किन एक्स-रे नगरेको भन्दै प्रश्न गरे । यस क्रममा डाक्टर र ती व्यक्तिको बादबिवाद भयो । डाक्टरले ती व्यक्तिको गालामा हिर्काए । त्यसपछि बिबादले ठूलो रुप लियो ।

ती व्यक्तिले आफन्तहरुलाई बोलाएपछि अस्पतालका मेडिकल सुपरिटेण्डेण्टको कार्यकक्षमा बसिरहेका डाक्टरलाई कुटपिट गरे । तत्काल प्रहरीलाई खबर भएपछि प्रहरीलाई घटनामा संलग्नहरुलाई नियन्त्रणमा लियो ।

‘डाक्टरले पनि बिरामीसँग नराम्रो व्यवहार गरेको देखियो’ प्रहरी नायव उपरीक्षक सिंहले भने ‘तर साँघातिक आक्रमण गर्नु राम्रो भएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?