Comments Add Comment

भारतमा रिसइबी, नेपालमा ल्याएर हत्या

घटना गराउन सुरक्षित स्थलको रुपमा नेपालको प्रयोग

११ फागुन, सिमरा । फागुन ४ गते बिहान, बाराको परवानीपुर गाउँपालिका ५ बहुअरीमा पूर्वपश्चिम बग्ने गण्डक नहर किनारमा एउटा शव भेटियो । उनी थिए, भारत रक्सौल १० काली मन्दिर रोड बस्ने २२ बर्षका मनिषकुमार नारायण ।

मनिषको घर भारतको घोडाहसनमा फागुन ११ गते हुने विवाहको तयारी चल्दै थियो । उनी आफ्ना साथीभाई र इष्टमित्रलाई बिहेको निमन्त्रणा पत्र बाँड्न ब्यस्त थिए । उनलाई तीन दिन अघिदेखि नै साथीहरु सन्तोष गुप्ता र राहुल पटेलले बिहेको निमन्त्रणा बाँड्न सँगै वीरगञ्ज जाने प्रस्ताव गरेका थिए, उनी मानिरहेका थिएनन् ।

साथीहरुले जिद्दी गरेपछि उनी वीरगञ्ज आउन राजी भए । फागुन ३ गते अपरान्ह उनीहरुले वीरगञ्जको चण्डालचोकस्थित होटलमा रक्सी पिए । बिहेको खुशीयाली भन्दै मनिषलाई अधिक रक्सी खुवाइ उनीहरुले अर्धचेत अवस्थामा त्यहाँबाट इ रिक्सामा बुहअरीको गण्डक नहरमा ल्याए ।

फागुन ४ गते बिहान नहर किनारमा स्थानीयले घाटी रेटिएको अवस्थामा शव भेटिएपछि प्रहरीलाई खबर गरे र प्रहरीले अनुसन्धान थाल्यो । केही दिनमा प्रहरीले मृतक र घटनामा संलग्नलाई पक्राउ गर्न सफल भयो ।

शुक्रबार बारामा प्रहरीले पत्रकार सम्मेलन गरी अभियुक्तसहित घटनाबारे प्रारम्भिक विवरण सार्वजनिक गरेको छ ।

घटनामा संलग्न विहार जिल्ला पूर्वी चम्पारण पन्टोका ग्राम पञ्चायत १७ का २५ बर्षे सन्तोष गुप्ता र सहदेवा ग्राम पञ्चायत घर भई हाल रक्सौल बस्दै आएका राहुल पटेललाई ९ फागुनमा प्रहरीले नेपाल र भारतको सिमावर्ती क्षेत्रबाट प्रक्राउ गरेको हो ।

घटनामा संलग्न अरु दुई जना भारतीय नागरिक फरार रहेको प्रहरीले बताएको छ । फरार अन्य दुई जनालाई केही दिनभित्रै पक्राउ गरिने बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले जानकारी दिए ।

नेपाललाई घटना घटाउन सुरक्षित गन्तव्यका रुपमा लिई भारत रक्सौलबाट वीरगञ्जमा ल्याएर हत्या गरेको प्रहरीको भनाइ छ । यसअघि पनि गण्डक नहर क्षेत्रमा भारतसंग जोडिएको धेरै आपराधिक घटना भइसकेका छन् ।

पक्राउ परेेको दुई अभियुक्तलाई हिरासतमा राखी अनुसन्धान गरिरहेको प्रहरी प्रमुख एसपी वैदवारले जानकारी दिए । उनका अनुसार घटना गराउने र मृतक दुवै भारतीय नागरिक रहेकोले भारतसंग आवश्यक कानुनी प्रक्रियाका बारेमा जानकारी लिई थप अनुसन्धान गरिने वा भारतलाई बुझाइने छ ।

नेपालको भूमिमा ल्याएर मारेका कारण अभियुक्तलाई अपहरण मुद्दासहित कर्तव्य ज्यान मुद्दामा जिल्ल्ाा अदालत बाराबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

के थियो कारण ?

सुरुमा व्यापार व्यवसाय र केटीका विषयमा रिसइबी भनिए पनि प्रहरीले अर्कै तथ्य पत्ता लगाएको छ । पक्राउ परेका राहुल पटेलकी बहिनीसंग मृतक मनिषको प्रेम सम्बन्ध र अवैध यौन सम्बन्ध घटनाको मुख्य कारण बुझिएको प्रहरीको भनाइ छ ।

आफ्नी बहिनीसंग प्रेम सम्बन्ध राखेर अर्कैसंग बिहेको तयारी भएपछि राहुलले आफ्नी बहिनीलाई धोका दिनेलाई ज्यान मार्ने योजना बनाएको प्रहरीको भनाइ छ ।

घटनाका मुख्य योजनाकार भने पक्राउ परेका सन्तोष गुप्ता हुन् । प्रहरीका अनुसार गुप्ता यसअघि पनि कर्तव्य ज्यान मुद्दामा फसिसकेका र खोजीमा रहेका व्यक्ति हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment