Comments Add Comment

जनतासँग सुमधुर सम्बन्ध बनाउँदै काठमाडौं प्रहरी, ४२ स्थानमा सार्वजनिक सुनुवाई

१२ फागुन, काठमाडौं । काठमाडौं प्रहरी परिसरले जनतासँग सुमधुर सम्बन्ध बनाउँदै सहकार्य गर्ने वातावरणको सिर्जना गर्न मातहतको इकार्इ भएको क्षेत्रमा जनतासँग प्रहरी कार्यक्रम गर्न सुरु गरेको छ ।

परिसरले काठमाडौंका ४२ क्षेत्रमा रहेका वृत र प्रभागमा सार्वजनिक सुनुवाई कार्यक्रम गर्न सुरु गरेको हो । सम्बन्धित वृत र प्रभागको अगुवाई र नागरिक समाजको सहकार्यमा यो अभियान थालिएको हो ।

परिसरले अहिलेसम्म काठमाडौंको ३ स्थानमा कार्यक्रम गरेर जनताको गुनासो र सुझाव सङ्कलन गरेको छ । नयाँ बसपार्क, छोह्रखुट्टे र विशालनगरमा कार्यक्रम सम्पन्न भइसकेको हो ।

विभिन्न स्थानमा जनता माँझ पुगेर सङ्कलित विषयहरुले त्यस ठाउँको शान्ति, सुरक्षालाई मजदुत बनाउनका लागि रणनीति बनाउन समेत सघाउ पुर्‍याउने प्रहरीको बुझाइ छ ।

‘काठमाडौंका जनतामा अहिले प्रहरीप्रति गलत बुझाइ छ । हामी कहाँ चुकेको छौं ? कहाँ पुग्न सकेको छैनौं । त्यसलाई पहिचान गर्न पनि यो अभियान थालिएको हो’, काठमाडौंका प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेल भन्छन्, ‘प्रहरी र जनताबीच सहकार्य गर्ने वातावरणको सिर्जना गर्नु हाम्रो उद्देश्य हो ।’

‘अपराधी समाजमै बस्छ, समाजमै अपराध गर्छ र यहीँ लुक्छ । र, यसको सूचना पनि जनतामै हुन्छ’, पोखरेलले अनलाइनखबरसँग भने, ‘त्यसैले पनि जनता र प्रहरीबीचमा कुनै दूरी रहनु हुँदैन ।’

सुरक्षा सबैको साझा विषय भएको भन्दै पोखरेलले प्रहरीप्रति जनताको सन्तुष्टि/असन्तुष्टि र अपेक्षाको खोजी गरेर सोही अनुसारको कार्यशैली अपनाउनु समेत कार्यक्रमको उद्देश्य भएको बताए ।

‘प्रहरी पनि एउटै समाजको हो । त्यसैले समाजको स्तर अनुसार संगठनको सदस्यको स्तर पनि हुन्छ । त्यसैले केही व्यक्तिबाट गल्ती भएको छ भने त्यो त्यस व्यक्तिले गरेको गल्ती हो । एउटाले गरेको कमजोरीबाट सिंगो संगठनप्रति अविश्वास गरिनु हुँदैन’, पोखरेल भन्छन्, ‘यदी प्रहरीले पनि गलत काम गरेका छन् भने उनीहरु कारबाहीको दायरामा आएरै छोड्छन् । गल्ती गर्नेमाथि कारबाही पनि भएकै छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment