Comments Add Comment

‘हास्यास्पद’ मोडमा हास्य चलचित्र

छाडा शब्द र बांगो मुखकै भर कहिलेसम्म ?

नेपाली चलचित्रमा कुनैबेला ‘आँसु’ बेचिन्थ्यो । कथालाई बटारेर, निचोरेर या थेचारेर किन नहोस्, दर्शकलाई रुवाउने उद्यम गरिन्थ्यो । त्यस्ता चलचित्रको प्रचारमै भनिन्थ्यो, ‘हलमा जाँदा रुमाल लिएर जानुहोला ।’ एउटा चलचित्रले त सित्तैमा रुमाल नै बाँड्यो ।

अचेल ठ्याक्कै उल्टो छ, चलचित्रमा ‘हासो’ बढी बेचिन्छ । रुवाउने होइन, खित्का छाडेर हसाउने चेष्टा गरिन्छ । मुख बंग्याएर होस्, बिचित्रको हुलिया बनाएर होस् या अश्लील शब्दावली ओकलेर नै किन नहोस्, हलमा हासोको फोहोरा छुट्नैपर्छ ।

जमाना हास्य रसको छ । कमेडी चलचित्रमा मात्र हैन, अन्य विषयका चलचित्रले समेत दर्शक तान्न हास्य रसकै सहारा लिन थालेका छन् । प्रदर्शनोन्मुख चलचित्रका ट्रेलरहरुमा पनि ‘कमेडी बर्चस्व’कै छनक पाइन्छ । यो ट्रेन्ड  कतिसम्म गहिरिएको छ भने, अब चल्तीका हिरोहरु ‘हास्य अभिनेता’जस्ता बनाइएका छन् । कतिलाई त जोकर पनि ।

हास्य रस भजाउने धूनमा कतिपय फिल्ममेकर्स ‘हासउठ्दो चलचित्र’ बनाउने कसरतमा लागेकोसमेत देखियो । कतिले बनाइसके । ‘लालपूर्जा’ र ‘फाटेको जुत्ता’ त्यसैकै बाइप्रोडक्ट हुन् ।

हास्य फोबिया कतिसम्म गहिरिएको छ भने, अब चल्तीका हिरोहरु ‘हास्य अभिनेता’जस्ता बनाइएका छन् ।

ब्लकबस्टर भनिएका ‘छक्का-पन्जा’ मात्र होइन, ‘जात्रा’,  ‘मिस्टर झोले’ सबै कमेडी जनराकै चलचित्र हुन् । यसबीचमा केही एक्सन, लभस्टोरी र  ‘कलात्मक’ चलचित्र आए । तर, बाजी जिते कमेडी जनराले । कमेडी चलचित्रमा दर्शक जसरी ओइरिए, अन्यले त्यसको छेउटुप्पो भेट्न सकेनन् । त्यसैले फिल्म मेकर्सले ठाने, फिल्म त कमेडी नै बनाउनुपर्छ । बनाइदिए । चल्यो पनि । तर, किन चल्यो त ?

कमेडी नै किन ?

कमेडी फिल्म किन चल्यो ? यस्तै जनराको फिल्म बनाउने लहड कसरी आयो ? यसको एउटा मात्र जवाफ छैन ।

एक,

लामो गृहयुद्ध, राजनीतिक उथलपुलथ, आर्थिक शिथिलता, सामाजिक विच्छृंखलता झेल्दै बाँचेको नेपाली समाजले खुलेर हाँस्न पाएका थिएनन् । खाँचो थियो उन्मुक्त मनोरञ्जनको । फिल्मको माध्यामबाट उनीहरुले त्यही खुराक पाए । खुसी र हाँसो खोजीमा रहेको सुक्ष्म मनोविज्ञानले दर्शकलाई हलसम्म तान्यो ।

दुई,

हास्यब्यङ्गको आलोकमा टेकेर कलाकर्म गरिरहेकाहरु फिल्म मेकिङमा लागे । लोडसेडिङ र अनेकौ जटिलताले खस्किदै गएको टेलिशृंखलाका दर्शकलाई उनीहरुले सिनेमा घरमा एकत्रित गरे । माग्ने बुढादेखि तक्मेसम्म हेर्न लालयित आँखाहरु कमेडी फिल्मका दर्शक भइदिए । यहि लहडमा मूलधारे फिल्ममेकर्स पनि मिसिए ।

तीन,

नेपाली सन्र्दभमा हास्य जनराको फिल्म अरुभन्दा उत्कृष्ट बन्न सक्छ । यसका प्राविधिक, आर्थिक र थुप्रै कारण छन् । यो सस्तो र सुलभ कन्टेन्ट पनि हो । पौराणिक, ऐतिहासिक, अलौकिक, साइन्स फिक्सन, एक्सन, लभ स्टोरी जनराको फिल्ममा हाम्रो ताकत पुग्दैन । त्यही कारण हास्य विधा सरस र सरल भएको हो, जो दर्शकका लागि पनि रसिलो हुन्छ ।

चार,

हरेक कुराको समय आउँछ । यसलाई लहड वा ट्रेन्ड भनेपनि हुन्छ । अहिले भटाभट हास्य जनराकै लहड चलेको छ । लहडले आम मनोविज्ञानलाई प्रभावित पार्छ । यो दर्शकको भन्दा पनि फिल्ममेकर्सको लहड हो ।

कमेडी जनराकै फिल्म किन भन्ने प्रश्नलाई अझ मिहिन ढंगले पनि हेर्न सकिन्छ ।

हाम्रो फिल्मको बजार, लगानी, त्यसको प्रतिफल सबैको हिसाब-किताब गर्दा पनि कमेडी जनरा अरुभन्दा छरितो र सुरक्षित हुन्छ । हुन त नेपाली दर्शककै खल्तीबाट विदेशी (पिके, बाहुबली आदि) फिल्मले करोडौं उठाएको छ । हाम्रो सन्दर्भमा ‘कोहिनुर’, ‘छक्का पञ्जा’ जस्ता केहि फिल्मले प्रतिफलको मोटामोटी आँकडा देखाएको छ । तथ्यांक पत्याउने हो भने, यि फिल्महरुले १० करोडको हाराहारीमा कारोबार गरे । तर, यी अपवाद हुन् ।
नेपालको कुल जनसंख्याको एक प्रतिशत दर्शक अर्थात लगभग तीन लाखले मात्र पनि फिल्म नहेर्ने गरेको पाइन्छ । यति साँघुरो बजारमा करोडौं खर्चेर फिल्म बनाउन संभव छैन । संभव यसकारण छैन, त्यो घाटाको व्यापार हुन्छ ।

बजारको यो दायराले पनि फिल्ममेकर्सलाई कमेडी जनराको फिल्ममा सीमित गरेको प्रष्ट हुन्छ ।

पौराणिकः बजेटले भ्याउँदैन

केही समयअघि सञ्जय लिला भन्सालीको फिल्म ‘पद्मावत’ चल्यो । त्यसअघि एसएस राजमौली निर्देशित ‘बाहुबली’, ‘बाहुबली-२’ चल्यो । यी पौराणिक शैलीका चलचित्र थिए । यस्ता चलचित्र हेर्न दर्शकका आँखा सधैै लालायित हुन्छन् । पौराणिक विषयवस्तुकै कारण मात्र हैन, बरु पौराणिककाल झल्काउने दृश्यको भव्य छायांकनले  ।

पौराणिक कथा हामीसँग पनि छ । भृकुटी, सीता, अरनिको, कैलासकुट भवनदेखि मल्लकालिन कथाहरु खोतल्ने हो भने, त्यो ‘बाहुबली’ वा ‘पद्मावत’ भन्दा कम रोचक हुन्न । पृथ्वीनारायण शाहले भोजमा व्यस्त पाटनका राजामाथि हमला गर्दाको दृश्य जिवन्त पाराले देखाउन जान्ने हो भने ‘पद्मावत’मा देखाइएको दिल्ली र चित्तौढगढका सेनाबीचको युद्धभन्दा बढी रोमाञ्चक हुनसक्छ ।

तर, त्यस्तो चलचित्र निर्माणको सामार्थ्य हामीसँग अझै विकास हुन सकेन । उठाउन सक्दैन । बिदेशी बजार हस्तक्षेप गर्ने सिलसिला सुरु भएकै छैन । नीर शाहले ‘बसन्ती’, ‘सेतो बाघ’ तथा यादव खरेलले ‘प्रेम पिण्ड’ र ‘आदिकवि भानुभक्त’ त बनाए, तर ति चलचित्र सीमित लम्बाइ-चौडाइकोे स्टेजमा देखाइएको नाटकभन्दा गतिला भएनन् ।

यसखालका पौराणिक विषयवस्तुमा आधारित चलचित्र निर्माणमा निर्देशकीय दखल आफ्नो ठाउँमा छ, त्यसबाहेक सेट डिजाइन, कस्ट्युम, भिएफएक्सजस्ता थुप्रै पक्षले लगानी अत्याधिक बढाइदिन्छ ।

मुल प्रश्न हो, लगानीको  प्रतिफल कसरी उठाउने ? काठमाडौं, पोखरालगायतका सीमित मल्टिप्लेक्सले त्यसको भार थेग्न सक्दैनन् । देशभरका शहरहरुमा केही सिनेमा हल छन्, तर ती सबैबाट पनि यत्तिका लगानी उठ्न सम्भव छैन ।

एक्सनः पन्च नै पुगेन

एक्सन चलचित्रमा हलिउडकै बर्चश्व छ । हामीकहाँ पनि त्यसको नक्कल नगरिएको होइन । हलिउडकै नक्कलभन्दा पनि दक्षिण भारतीय चलचित्रको ।

दक्षिण भारतीय चलचित्रमा अपत्यारिलो एक्सन दृश्यलाई पनि रोमाञ्चक र स्वाभाविक ढंगले प्रस्तुत गरिन्छ । त्यसो हुनुमा कलाकार, निर्देशक, क्यामेरा, एंगल, फ्रेमिङ सबैको तालमेलले मात्र काम गरेको छैन । एनिमेसन/ग्राफिक्स/भिएफएक्सले व्यापक सघाउ पुर्‍याएको हुन्छ ।

हाम्रा हिरोहरुले पनि भुँइमा गुन्डालाई बजार्दा धर्ती थर्किएको देखाउने चेष्टा त गरिन्छ, तर कता के नमिलेजस्तो हुन्छ । नमिलेको प्राविधिक पक्ष नै हो, जसमा हाम्रो पहुँच पुग्दैन ।

हुन त यही नेपाल, अझ काठमाडौंबाट विश्व फिल्म उद्योगको लागि भिएफक्सको कतिपय कामको आउटसोर्सिङ हुन्छ । तर त्यो एकदमै खर्चालु हुन्छ, नेपाली निर्मातालाई धान्नै गाह्रो । हाम्रा निर्देशकसँग यस्ता प्राविधिक ज्ञान र पहुँच सायदै होला ।

लभस्टोरीः भाव संवेगकै अभाव

केही वर्षअघि ‘आशिकी-२’ लगायत हिन्दी चलचित्रले नेपाली दर्शकबाटै पैसा कुम्ल्याएर लगे । त्यस्तै चलचित्र हामीकहाँ पनि समानान्तर बनिरहेका छन्, ‘प्रेमगीत’, ‘बटरफ्लाई’, ‘दर्पणछायाँ-२’, ‘म यस्तो गीत गाउँछु’ । तर, यी चलचित्र अपेक्षाकृत सफल भएनन् । किन ?

लभस्टोरी फिल्म बनाउन अथाह पैसा खर्चनुपर्ने पनि होइन । प्रविधिको उच्च प्रयोग गर्नुपर्ने पनि होइन । तर, यस्ता चलचित्रले संवेदनाको गहिराइ छुन सक्नुपर्छ । दर्शकको मनमा स्पर्श गर्न सक्नुपर्छ ।

यति गर्नका लागि वियोगान्त कथा बुनेर मात्र पुग्दैन । कथा, प्रस्तुती एवं संवादमा भाव, संवेग, आवेग सबै तत्व यसरी ‘एडजस्ट’ गराउनुपर्छ, जसले दर्शकको मनमा उथलपुथल ल्याओस् ।

तर, यसका लागि निर्देशकमा एक किसिमको पागलपन हुनुपर्छ । साधना हुनुपर्छ । खुबी हुनुपर्छ । दुई-चार चलचित्र हेरेर त्यस्तै फिल्म बनाउने फिल्ममेकर्सको चेतले मानवीय भावनालाई पर्दासँग जोड्ने सामर्थ्य राख्दैन ।

साइन्स फिक्सनः छैन ल्याकत

जेम्स क्यामरुनले जस्तो अलौकिक चलचित्र निर्माणको कल्पना हाम्रो लागि धेरै टाढाको कुरा हो । साइन्स फिक्सन चलचित्रका लागि हामीसँग न दक्षता छ, न प्राविधिक खुबी । हुन त स्थानीय स्रोत साधनलाई जोडेर नविन अवालले ‘बिजुली मेसिन’ भन्ने चलचित्र बनाए तर, यसले उनको लगानी पनि डुबाइदियो । गहन सामाजिक विषयवस्तुलाई कमर्सियल भ्यालूमा परिणत गर्ने हाम्रो खुबी छैन ।

हामीकहाँ केही प्रयोगात्मक चलचित्र बन्ने गरेका छन् । त्यस्ता चलचित्र चल्नु र नचल्नुमा एक हिसाबले ‘भाग्य चिट्ठा’ जस्तो भइदिन्छ । चर्चित पुस्तकमाथि बनेका चलचित्र पनि पुस्तकमा जति गहिराइमा पुग्न सकेनन् । बायोपिक चलचित्र बनेका वा बनिरहेका छन्, जुन उति रुचीकर मानिएका छैनन् ।

केही समययता हास्य विधालाई भजाउने चक्करमा चलचित्रलाई ‘हास्यास्पद’ बनाइँदैछ ।

हास्य चलचित्रः हास्यास्पद

यस्तो पृष्ठभूमीमा मौकामा चौका हानिरहेका छन्, कमेडी जनराका चलचित्रले । हास्य चलचित्रमा सम्पूर्ण ताकत हसाउनमै लगाए पुग्छ । यस्ता चलचित्रले न अचाक्ली लगानी माग्छन्, न उच्चस्तरको प्रविधि । न गहन संवेदना माग्छन्,  न खर्चिलो सेट । यही कारण कमेडी चलचित्र हामीकहाँ व्यावसायिक हिसाबले सफल हुँदै आएका छन् । ‘कबड्डी’, ‘जात्रा’, ‘छक्का पञ्जा’, ‘मिस्टर झोले’ यसका दृष्टान्त हुन् ।

कमेडी चलचित्र हास्य कलाकारको उपस्थितिमा भन्दा पनि कथा, बिषय, प्रसंग, प्रस्तुती, संवाद आदिको ताकतमा उभिनुपर्ने हो । यस्ता फिल्मको कथानक वा घटनाक्रमले नै दर्शकमा हाँसो फुत्काउनुपर्छ । खासगरी कथाको मोड र घटनाक्रम यसरी बुनिएको हुनुपर्छ, जसले रामदेवकै शैलीमा ‘अन्तरहृदयलाई प्रफुल्ल बनाएर’ ओंठमा हासो ल्याउनुपर्छ । यस्तो हासो, जसले फोक्सोको कसरत पनि होस् ।

कथानकसँगै क्यारेक्टर डिजाइन, संवादले यसमा खास भूमिका खेल्छ । हसाउनका लागि जोकर नै हुनुपर्छ भन्ने छैन, गम्भिर पात्रले, गम्भिर शैलीकै प्रस्तुतीमा पनि हासो ल्याउन सक्छ । फिल्म ‘पद्मावत’मा अलाउद्दीन खिलजी हसाउने पात्र होइनन्, तर उनको मूर्खतापूर्ण हर्कतले बेलाबखत दर्शकमा हासो ल्याउँछ । यस्तो प्राकृतिक हाँसोमा दर्शक रमाउन सक्छन् ।

केही समययता हास्य विधालाई भजाउने चक्करमा चलचित्रहरु हास्यस्पद बन्ने जोखिम छ । पछिल्लो प्रवृत्तिलाई केलाउने हो भने ठोकुवा गर्न सकिन्छ, हास्य विधालाई हास्यस्पद बनाइँदैछ ।

‘लालपूर्जा’, ‘फाटेको जुत्ता’, ‘झ्यानाकुटी’, ‘लालजोडी’, ‘हाउ फन्नी’ जस्ता फिल्म पनि बने, जसलाई कमेडी जनराको भन्ने कि नभन्ने ? द्विविधा छ ।

हामीकहाँ हास्य चलचित्रमा हिरो र हिरोइन जोकर जस्ता देखाइन्छन् । उनीहरुको हुलिया, बोल्ने टोन सबै बिचित्रको हुनेगर्छ । यस्ता पात्रलाई द्विअर्थी -अलिकति छाडा, अलिकति सद्दे) डाइलग बोल्न लगाइन्छ ।

तर, प्रस्तुती, घटनाक्रम, कथाको मर्मलाई अलपत्र पारिन्छ । यस्ता चलचित्र हेर्दा दर्शकमा हासो छुट्ने भन्दा पनि कन्सिरीको रौं तात्तिने सम्भावना हुन्छ ।

हास्य फिल्म ‘हास्यास्पद’ बन्नुमा फिल्ममेकर्सको कच्चा चेत, अपरिपक्व तयारी र कञ्जुस्याइपूर्ण श्रम नै कारक हुन् । चिन्ता एउटै छ, दर्शकलाई जबरजस्ती हसाउने चेष्टा गर्दा निर्माताले रुनु चाहिँ नपरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment