Comments Add Comment

सिन्धुपाल्चोकका जनप्रतिनिधिको तलब ३५ हजार ! (सूचीसहित)

१२ स्थानीय तहको तलबभत्ताको नालीबेली


१५ फागुन, सिन्धुपाल्चोक । करिब २० वर्षसम्म कर्मचारीले चलाइरहेको स्थानीय तहले जनप्रतिनिधि पाएको लगभग १० महिना पुगेको छ ।

यसबीचमा अधिकांश स्थानीय तहका जनप्रतिनिधिले सेवासुविधा नपाएको गुनासो गरिरहेका छन् । तर, सिन्धुपाल्चोकका जनप्रतिनिधिले भने आफ्नो तलब आफैं तोकेका छन् ।

सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये ६ वटाले निर्णय गराएरै मासिकरुपमा ‘तलब’ बुझ्न थालेका छन् । प्रायः स्थानीय तहका प्रमुख/उपप्रमुख र वडाअध्यक्षहरुले गत साउनदेखि नै मासिकरुपमा सेवा सुविधा लिइरहेको पाइएको छ ।

सिन्धुपाल्चोकमा तीन नगरपालिका र नौ गाउँपालिका छन् । तीमध्ये मेलम्ची नगरपालिका, चौतारा र बाह्रबीसे, तिनै नगरपालिकाका प्रमुख/उपप्रमुख र वडा अध्यक्षहरुले मासिक रुपमा तलब बुझ्ने गरेका छन् ।

त्यस्तै भोटेकोशी, लिसंखुपाखर र त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष र वडा अध्यक्षहरुले समेत मासिक तलब बुझ्ने गरेका छन् ।

सबैभन्दा बढी चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङले सुविधा लिने गरेका छन् ।

तामाङले मासिक ३५ हजार तलब बुझ्ने गरेका छन् भने एउटा गाडी, लग बुक अनुसारको इन्धन र प्रति बैठक करसहित १५ सय रुपैयाँ भत्ता बुझ्ने गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्र बस्यालले जानकारी दिए ।

चौतारा साँगाचोकगढी नगरपालिकाको ०७४ असार २८ गते बसेको कार्यपालिका बैठकले मेयर, उपमेयर र वडा अध्यक्षहरुको पारिश्रमिक निर्धारण गरेको छ ।

निर्णय अनुसार उपमेयर जानुका पराजुलीले तलबवापत मासिक २५ हजार रुपैयाँका साथै स्कुटी र इन्धन सुविधा लिने गरेकी छन् । उनले पनि बैठकभत्ता १५ सय पाउँछिन् ।

वडा अध्यक्षहरुले पनि मासिक २० हजार बुझ्ने गरेका छन् । प्रत्येक वडामा चौमासिक रुपमा खर्च गर्ने गरी ७० हजार पठाइएको र यो रकम भत्ता लगायतका शीर्षकमा खर्च हुने गरेको बस्यालले बताए ।

वडा अध्यक्षहरुलाई समेत आवश्यकता अनुसार कुपन दिएर इन्धनको व्यवस्था गरिएको उनले बताए ।

त्यसैगरी मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालले नगरपालिकाबाट मासिक ३० हजार रुपैयाँ तलब लिने गरेका छन् । साथै गाडी, इन्धन र बैठक भत्ता पनि बुझ्ने गरेको प्रमुख प्रशासकीय अधिकृत देवी थपलियाले जानकारी दिए ।

उपमेयर भगवती नेपालले मासिक २० हजार र वडा अध्यक्षहरुले मासिक १५ हजार बुझ्ने गरेको उनले बताए ।

सिन्धुपाल्चोकमा तीन नगरपालिका र नौ गाउँपालिका छन् । तीमध्ये मेलम्ची नगरपालिका, चौतारा र बाह्रबीसे, तिनै नगरपालिकाका प्रमुख/उपप्रमुख र वडा अध्यक्षहरुले मासिक रुपमा तलब बुझ्ने गरेका छन् ।

वडा अध्यक्षहरुले प्रयोग गर्ने सरकारी नम्बर प्लेट भएको सबै सवारी साधनमा नगरपालिकाले इन्धन उपलब्ध गराउने गरिएको उनले बताए ।

‘उहाँहरुले त अलि धेरै माग गर्नुहुन्छ, तर हामीलाई मासिक १० लिटर मात्रै इन्धन दिनु भनेर अर्थ मन्त्रालयबाट पत्र आएको छ, त्यही देखाएर दिने गरेका छौं’ उनले भने ।

जिल्लाका तीनवटा नगरपालिकामध्ये आन्तरिक स्रोत सबैभन्दा धेरै भएको मेलम्ची नगरपालिका हो ।

उता बाह्रबीसे नगरपालिकाले मेयर निमफुञ्जो शेर्पाका लागि मासिक ३० हजार तलब तोकेको छ । तर, शेर्पाले भने यो रकम नगरपालिकाभित्रका विद्यालयका विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गरेको बाह्रविसे नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत निरज भट्टराईले जानकारी दिए ।

बाह्रबीसेकी उपमेयर सुशीला पाखि्रनले मासिक २५ हजार र गाडी सुविधा लिने गरेकी छन् । वडा अध्यक्षहरुले मासिक १९ हजार र वडा सदस्यहरुले मासिक ३ हजार तलब लिने गरेका छन् भने नगर कार्यपालिकाका सदस्यहरुले मासिक ४ हजार तलब सुविधा बुझ्ने गरेको भट्टराईले बताए ।

जिल्लाका कुल ९ वटा गाउँपालिकामध्ये ३ गाउँपालिकाका प्रमुखहरुले तलब सुविधा लिने गरेका छन् । भोटेकोशी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलका लागि गाउँ मासिक २५ हजार तलब छुट्याइएको छ भने उपप्रमुख दाबुटी शेर्पालाई मासिक २२ हजार ५ सयका साथै गाडी सुविधा दिइएको छ ।

गाउँपालिकाको आन्तरिक स्रोतबाट सेवा सुविधा पाउने गरी गाउँ कार्यपालिकाले औपचारिक निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत पूर्ण सहकर्मीले जानकारी दिए । वडा अध्यक्षहरुलाई मासिक २० हजार र कार्यपालिकाका सदस्यहरुका लागि मासिक १२ हजार दिने निर्णय बैठकले गरेको उनले बताए ।

इन्धन सुविधा दिने गरिए पनि नियम विपरीत कतिपयले सुविधा लिइरहेको प्रशासकीय अधिकृत सहकर्मीले गुनासो गरे । ‘सवारी साधनको लगबुक पनि भरिएको हुँदैन, पम्पमा चिठी लेखिदे भन्नुहुन्छ, तर त्यसरी चिठी लेख्न नियमले दिँदैन, समस्या छ हजुर’ सहकर्मीले भने ।

नियमले दिँदैन भन्दा कहाँको नियम ? नियम बनाउने हामी हौं भन्दै दबाव आउने गरेको उनले सुनाए । उनले दोहोर्‍याए- ‘गाउँपालिकामा समस्या छ, लठीबज्र रुपमा सञ्चालन भएको छ ।’

त्यसैगरी त्रिपुरासुन्दरी गाउँपालिकाको असार २४ गते सम्पन्न कार्यपालिका बैठकले प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरुको सुविधा निर्धारण गरेको छ । अध्यक्षले मासिक २५ हजार र गाडी सुविधा लिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र नेपालले जानकारी दिए । त्यस्तै सञ्चार खर्च भनेर अध्यक्षलाई मासिक १५ सय दिने गरिएको नेपालले बताए ।

निर्णयअनुसार उपाध्यक्ष दुर्गा नेपालले मासिक २० हजार र सञ्चार खर्च बापत १ हजार बुझ्ने गरेकी छन् । वडा अध्यक्षहरुले मासिक हजार र सञ्चार खर्च वापत ५ सय बुझ्ने गरेका छन् ।

लिसंखुपाखर गाउँपालिकाको सेवा सुविधा पनि अन्य गाउँपालिकाको जस्तै छ । गाउँ कार्यपालिकाको बैठकले निर्णय गरेरै अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षहरुको सुविधा तोकिएको प्रमुख प्रशासकीय अधिकृत निरञ्जन पाखि्रनले जानकारी दिए ।

अध्यक्ष कमल नेपालले मासिक २५ हजार र गाउँपालिकाले लिएको भाडाको गाडीको सुविधा पाएका छन् । उपाध्यक्ष हेमगंगा मोक्तानले मासिक २० हजार र त्यही गाडी आवश्यकता अनुसार प्रयोग गर्ने गरेको पाखि्रनले जानकारी दिए । वडा अध्यक्षहरुले भने मासिक १५ हजार र यसअघि वडा अध्यक्षहरुले प्रयोग गर्ने मोटरसाइकल सुविधामा पाएका छन् ।

जिल्लाका हेलम्बु, जुगल, इन्द्रावती, सुनकोशी, बलेफी र पाँचपोखरी थाङपाल गाउँपालिकाका जनप्रतिनिधिहरुले भने यसरी मासिक तलब सुविधा लिएका छैनन् ।

जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले गाउँपालिकाले भाडामा लिएको गाडी आवश्यकता अनुसार चढ्ने गरेको बताए । बैठकहरुमा १५ सयमा कर कट्टा गरेर भत्ता लिने बाहेक अन्य सुविधा नलिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । वडा अध्यक्षहरुका लागि मोटरसाइकल खरिद प्रक्रियामा रहेको श्रेष्ठले बताए ।

‘हामीले पनि सेवा सुविधा त लिने हो, तर हाम्रो सेवा सुविधाको बारेमा प्रदेशले कानुन बनाएपछि मात्रै लिने योजनामा रहेको छ,’ श्रेष्ठले भने ।

जनताको काममा धेरै हिँड्नुपर्ने बाध्यता रहेकाले अब गाउँकार्यपालिकाको बैठकबाटै निर्णय गराएर भ्रमण आदेश स्वीकृत गराएर केही सुविधा लिने/दिने तयारीमा आफूहरु रहेको उनले बताए ।

त्यसैगरी सुनकोशी गाउँपालिकाका अध्यक्षले पनि गाउँपालिकाले भाडामा लिएको गाडी बाहेक अन्य सुविधा नलिएको कर्मचारी बताउँछन् । उपाध्यक्ष र वडा अध्यक्षहरुले पनि बैठक भत्ता बाहेक केही सुविधा नलिएको प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर बस्नेतले जानकारी दिए ।

हेलम्बु गाउँपालिकाका जनप्रतिनिधिहरुले पनि अहिलेसम्म कुनै सुविधा लिएका छैनन् । अध्यक्ष निमाग्यालजन शेर्पाले गाडी सुविधा लिएका छन् । उनले तलब नलिई बैठक भत्ता मात्रै लिने गरेको प्रमुख प्रशासकीय अधिकृत पविता शाहीले जानकारी दिइन् ।

पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले पनि सुविधाका नाममा बैठक भत्ता र गाडी मात्रै लिएका छन् । ‘हामीलाई पहिले बजेट बनाउने बेलामा सबै कुरा थाहा भएन, बजेटमा व्यवस्था पनि गरिएन, त्यही भएर कसैले केही सुविधा लिनुभएको छैन,’ प्रमुख प्रशासकीय अधिकृत निशा लौडारीले भनिन् ।

बलेफी गाउँपलिकाका अध्यक्ष केदार क्षेत्री गाउँपालिकाले भाडामा लिएको गाडी प्रयोग गरिरहेका छन् । उनले मासिक २० लिटर तेल सुविधाका नाममा लिने गरेका छन् । वडामा मोटरसाइकल व्यवस्था गर्न सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत गणेश नेपालीले जानकारी दिए ।

हेर्नुहोस् कुन स्थानीय तहका जनप्रतिनिधिको तलब कति ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment