Comments Add Comment

अमेरिकासँग नझुक्ने पाकिस्तानी प्रधानमन्त्री, जो आउँदैछन् नेपाल

पुनर्ताजगी होला त महेन्द्रकालीन नेपाल-पाकिस्तान सम्बन्ध ?

१८ फागुन, काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शाहीद खाकान अब्बासी दुईदिने नेपाल भ्रमणमा आउन लागेको समाचार अकस्मात सार्वजनिक भएको छ । प्रधानमन्त्री अब्बासी दुई दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।

उनी नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाइ दिन आउन लागेको बताइएको छ । भ्रमणका क्रममा सार्क शिखर सम्मेलनबारे छलफल हुने अनुमान छ ।

अमेरिकामै विश्वविद्यालय पढेका त्यहीँ केही समय जागिरसमेत खाएका पाकिस्तानी प्रधानमन्त्री अब्बासी राष्ट्रवादी नेता मानिन्छन् । उनले गत वर्ष प्रधानमन्त्री बनेदेखि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामना गरिरहेका छन् । उनै अब्बासीको नेपाल आगमनले हाल निश्त्रिmय अवस्थामा रहेको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) ले त्राण पाउने अनुमान लगाउनु अन्यथा हुनेछैन ।

तर, योभन्दा अगाडि के भन्न सकिन्छ भने तत्कालीन राजा महेन्द्रले २०१७ सालपछि प्रगाढ बनाएको पाकिस्तान-नेपाल सम्बन्धलाई पुनर्ताजगी गर्ने अवसर आधा शताब्दिपछि केपी ओलीले पाउन लागेका छन् ।

संयोगचाहिँ के परेको छ भने राष्ट्रवादको मामिलामा अब्बासी र केपी ओलीको ‘केमेष्ट्री’ लगभग मिल्दोजुल्दो प्रकारको देखिन्छ ।

अमेरिकामा पढे, ६ पटक सांसद बने

कराँचीमा जन्मिएका ६० वर्षीय शाहीद खाकान अब्बासी गतसालको अगष्टदेखि पाकिस्तानी प्रधानमन्त्री बनेका हुन् । राजनीतिमा उनी सन् १९८८ देखि नै संलग्न थिए ।

राजनीतिमा आउनुअघिसम्म उनी अमेरिका र मध्यूर्वका विभिन्न देशमा प्रोफेसनल इञ्जिनियरका रुपमा कार्यरत थिए । रावलपिण्डी क्षेत्रबाट पाकिस्तानको संसदमा ६ पटक निर्वाचित अब्बासीले अमेरिकाको जर्ज वाशिंटन विश्वविद्यालयबाट उच्च शिक्षा अध्ययन गरेका छन् ।

त्यसो त एक समय काठमाडौंदेखि कराँचीसम्म पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआइए) को नियमित उडान हुने गरेको थियो । सोही पीएआईएको प्रमुखका रुपमा पनि अब्बासीले केही समय जिम्मेवारी सम्हालेका थिए । प्रधानमन्त्री बन्नुअघि उनले पेट्रोलियम एवं प्राकृतिक शंशाधन मन्त्रीको अनुभव संगालेका थिए ।

४५ दिनका लागि प्रधानमन्त्रीको चिठ्ठा !

नवाज सरिफकै पार्टीका नेता रहेका अब्बासीलाई प्रधानमन्त्री पद ४५ दिनका लागि ‘चिठ्ठा’ मा परेको हो ।

तत्कालीन प्रधानमन्त्री नवाज सरिफले २९ जुलाई २०१७ मा राजीनामा दिए । र, उनले आफ्नो उत्तराधिकारीका रुपमा आफ्नै परिवारका सदस्य एवं पञ्जावका मुख्यमन्त्री शेहबाज सरिफलाई प्रधानमन्त्रीका रुपमा अघि सारे । तर शेहबाजले केन्द्रीय संसदको सदस्य नभएका कारण सपथग्रहण गर्न पाएनन् । त्यसपछि नबाजको पार्टीले अब्बासीलाई ४५ दिनका लागि प्रधानमन्त्री बनायो ।

यसवीचमा नवाजले प्रधानमन्त्री बनाउन चाहेका शेहबाजले लाहोरमा नवाजले खाली गरिदिएको सीटमा संसदको चुनाव लडे । र, प्रधानमन्त्रीका लागि योग्य बने । तर, यसवीचमा नवाजले यो सोचे कि शेहबाजले पञ्जावको मुख्यमन्त्रीबारे सोचुन् र अब्बासीले प्रधानमन्त्रीमै निरन्तरता दिउन् ।

सत्तारुढ दलका नेता नवाजको सोचाइमा आएको परिवर्तनसँगै ४५ अब्बासीले अब आगामी जूनमा हुने आम निर्वाचनसम्मै पाकिस्तानको प्रधानमन्त्री पद सम्हाल्नेछन् ।
अब्बासीले १ अगस्त २०१७ मा संसदमा प्रधानमन्त्रीको चुनाव जिते । र, उसै दिन सपथग्रहण गरे । अब्बासीले पाकिस्तानको २८ औं प्रधानमन्त्रीमा संसदबाट निर्वाचित भएकै दिन भनेका थिए- म ४५ दिन प्रधानमन्त्री बनौं वा ४५ घण्टा, कुर्सी न्यानो बनाउनमात्रै म यहाँ आएको होइन ।

नभन्दै अब्बासीले अहिलेसम्म आरामले कुर्सी तताउन पाएका छैनन् । पाकिस्तानलाई विश्वजगतबाट अलग-थलग बनाउने ट्रम्प प्रशासनको रणनीतिको सामना गर्नेक्रममा उनी रसिया र चीनसँगको सम्बन्ध विस्तारमा सक्रिय छन् । अरब राष्ट्रहरुसँग पनि उनी सघन सम्पर्कमा छन् । र, उनी अहिले नेपाललाई प्राथमिकतामा राखेर काठमाडौं आउँदैछन् ।

अमेरिका विरोधी विदेश नीति

जतिबेला अब्बासी पाकिस्तानको प्रधानमन्त्री बने, त्यसबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानमाथि ‘राज्य संरक्षित आतंकवाद’को आरोप लगाइरहेका थिए ।

प्रधानमन्त्री बनेपछि अब्बासीले आफ्नो पहिलो विदेश भ्रमण अमेरिकापरस्त मानिएको साउदी अरेबियाबाट गरे । उनले त्यहाँका राजकुमार मोहम्मद बिन सलमानसँग नयाँ अमेरिकी रणनीतिबारे छलफल गर्नुका साथै कतिपय दुई देशीय सहमति गरे ।

साउदीबाट फर्केलगत्तै अब्बासीले राष्ट्रिय सुरक्षा परिषदको बैठक बोलाएर ट्रम्पको आरोप खारेजीको घोषणा गरे । अमेरिकाले पाकिस्तानलाई बलीको बोको बनाउन खोजेको उनले प्रतिक्रिया दिए ।

संयुक्त राष्ट्र संघको ७२ औं महासभामा भाग लिन प्रधानमन्त्री अब्बासी सन् २०१७ को सेप्टेम्बरमा अमेरिका गए । त्यहाँ उनले उपराष्ट्रपतिसँग भेटेर आफ्नो देशमाथि ट्रम्प प्रशासनले लगाएका आरोपहरुको खण्डन गरे ।

राष्ट्रसंघको महासभामा गएका बेला अब्बासीले इरान र टर्कीका राष्ट्रपतिहरुसँग बेग्लाबेग्लै साइड लाइन भेटवार्ताहरु गरे, जुन भेटवार्ता निकै अर्थपूर्ण थिए ।

त्यस्तै गत डिसेम्बरमा सांघाइ को-अपरेशन अर्गनाइजेसनको समिटमा भाग लिन अब्बासी रसिया गए । जहाँ उनले रसियाका प्रधानमन्त्रीसँग भेटवार्ता गरे । त्यहीँ उनले चिनियाँ प्रधानमन्त्रीसँग पनि भेटवार्ता गरे । यी भेटहरु पनि अमेरिकाका लागि टाउको दुखाइका विषय बने ।

डिसेम्बरको दोस्रो साता जेरुसेलममा आयोजित अर्गनाइजेन अफ इस्लामिक को-अपरेशसनको आपतकालीन बैठकमा पाकिस्तानी प्रधानमन्त्री अब्बासीले सहभागिता जनाए, जुन ट्रम्प प्रशासनका लागि अर्को चुनौतीको विषय बन्यो ।

यसै क्रममा डिसेम्बर २९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानलाई दिँदै आएको २२५ मिलियन डलर बराबरको सैन्य सहायता रोक्ने घोषणा गरे । जसको प्रधामनमन्त्री अब्बासीले सहजै सामना गरे ।

दक्षिण एशियामा भारतपछिको दोस्रो आणविकब राष्ट्र पाकिस्तान यतिबेला विस्तारै अमेरिकी ध्रुवबाट चिनियाँ ध्रुवतिर सिफ्ट हुन थालेको अवस्था छ । पाकिस्तानमा चिनियाँ प्रभाव र लगानी बढिरहेको छ । र, नेपाल पनि केपी ओलीको नेतृत्वमा चिनियाँ ध्रुवतिर ढल्केको भारतीय पक्षले आरोप लगाइरहेको अवस्था छ ।

यहीबेला पाकिस्तान र नेपालवीचको सम्बन्ध उच्चस्तरीय भ्रमणकै लेभलमा दोहोरिनुले महेन्द्रकालीन दुई देशीय सम्बन्धको झल्को दिएको छ ।

नेपाल पाकिस्तान सम्बन्ध

पाकिस्तान र नेपालवीचको कूटनीतिक सम्बन्ध सन् १९६२ बाट औपचारिकरुपमा सुरु भएको हो । पाकिस्तानले सन् १९६३ तिरै चित्तगोंगमा नेपाललाई व्यापार र पारवहनको पहुँच दिने निर्णय गरेको थियो । हाल त्यो भूभाग बंगलादेशमा पर्छ ।

सन् १९६३ मा पाकिस्तानी प्रधानमन्त्री अयुव खानले नेपाल भ्रमण गरेका थिए । त्यसपछि धेरैवटा उच्चस्तरीय भ्रमणहरु आदान-प्रदान भए । तर, ०४६ सालको परिवर्तनपछि नेपालले पाकिस्तानसँगको सम्बन्धलाई कम ध्यान दियो र भारतमुखी विदेशनीतिमा बढ्ता केन्दि्रत भयो । नेपालको भूराजनीतिक अवस्थाले पनि सीमाना जोडिएको भारतसँगको निर्भरता बढायो ।

अहिले दक्षिण एशियाली साझा फोरम सार्क थला परिराखेको अवस्था छ । उरी आक्रमणपछि भारतले पाकिस्तानलाई बाइकट गर्न खोज्दा सार्क सम्मेलन रोकिइरहेको अवस्था छ ।

यस्तो बेलामा पाकिस्तानी प्रधानमन्त्री अब्बासीको नेपाल भ्रमण केवल ओलीलाई बधाइ दिने कार्यमा मात्रै सीमित नरही सार्कलाई सक्रिय बनाउने बारेमा पनि नेपाल र पाकिस्तानका सरकार प्रमुखहरुले सार्थक कुराकानी गरे भने यो दक्षिण एशियाकै लागि फलदायी भ्रमण हुन सक्ने देखिन्छ ।

नेपाल र पाकिस्तानवीचको सम्बन्ध सार्क फोरममा मात्रै नभई आर्थिक र सामाजिक क्षेत्रमा पनि छ । पाकिस्तानको लाहोरमा चिकित्साशास्त्र, अन्तरराष्ट्रिय सम्बन्ध एवं मासकम्युनिकेशन पढ्न जाने नेपालीहरु पनि छन् ।

भारत र पाकिस्तानवीच क्रिकेट म्याच हुँदा नेपाली दर्शकहरुले प्रायः पाकिस्तानी टोलीको सपोर्ट गर्ने गर्छन् । त्यसैगरी भारतले नेपालमाथि नाकाबन्दी लगाएका बेला पाकिस्तानीहरुले नेपालको पक्षमा सहानुभूति प्रकट गरेका थिए । यसले पनि नेपाल र पाकिस्तानवीचको सम्बन्ध कूटनीतिकमात्रै नभएर भावनात्मक रहेको स्पष्ट हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment