Comments Add Comment

फिल्म समीक्षा: नाकामा हल्का रमाइलोबीच मानवीय संवेदना


शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘नाका’मा के छैन ?

कलाकारको भिडभाड छैन । बनिबनाउ संवाद छैन । धुरन्धर लभस्टोरी छैन । धमकेदार फाइट छैन । उल्कै कथा छैन । नाचगान छैन ।

तिब्बतबाट नेपालको नाका हुँदै भारतस्थित दलाई लामाको आश्रम (धर्मशाला) जाने यात्रुको एकसरो कथा छ । तर, कथाको मियो स्थानिय दुई तन्नेरी हुन्, जो ति बटुवाहरुलाई सीमापार गराउने धन्दा गर्छ ।

फिल्ममा प्रवेश गर्नुअघि अभिनेता विपिन कार्कीको चर्चा गरौं । फिल्म छड्के, पशुपतिप्रसाद, जात्रा हुँदै नाकासम्म आइपुग्दा, बिपिनले आफ्नो कदको थप उचाई बढाएका छन् । करियरको पूवार्द्धमा उनले सानोतिनो भूमिका पाएका थिए । तर, त्यही भूमिकालाई टेकेर अहिले बिपिनले सिंगो फिल्म बोक्ने सामथ्र्य बनाएका छन् । रमाइलो चाहि के भने, अक्सर फिल्ममा उनी केन्दि्रय पात्र भएर पनि नेगेटिभ रोलमा छन् । खलनायकलाई केन्द्रमा राखेर फिल्म निर्माण गर्ने दुर्लभ सिलसिलाका सूत्रधार हुन्, बिपिन ।

फिल्म ‘नाका’मा बिपिनको चरित्र-चित्रण एकदमै घतलाग्दो छ । समग्र फिल्म उनकै काँधमा थमाइएको छ ।

कथानक

सीमाक्षेत्रमा तस्करी, कालोबजारी एवं अनेकन धन्दा हुनेगर्छ । त्यस्ता ठाउँमा ‘च्याँखे’ थापेर बस्ने तन्नेरीहरु पनि हुन्छन्, जो परिआएको अवस्थामा जस्तोसुकै जोखिम उठाइदिन्छन् ।

ठीक यस्तै तन्नेरी हुन्, गोल्डी (बिपिन कार्की) ।

लामो जुल्फी पालेका अलि ‘रफ’ शैलीका उनी पैसा कमाउनका लागि जे पनि हर्कत गर्छन् । जुवामा झेल गर्नेदेखि पैसा धुत्नेसम्मको कृत्य गरेर आसपासको क्षेत्रमा आफ्नो प्रभुत्व जमाएका छन् । यसो गर्नमा उनलाई कुनै ग्लानी छैन । भय पनि छैन । जीवनप्रति वेपर्वाह छ । न कसैसँग हच्किन्छ, न बिच्किन्छ । जब्बर पात्र ।

गोल्डीलाई जसरी पनि पैसा कमाउनुछ । पैसाप्रति उनको अथाह आशक्ति त होइन । तर, उनको प्रवृत्ति चाहि हात परेको पैसा हरसंभव फुत्कन नदिने हो ।

फिल्म: नाका
निर्देशक: अमित श्रेष्ठ
कलाकार: बिपिन कार्की, थिन्ले ल्हामु, रोबिन तामाङ, शिव मुखिया, प्रकाश गन्धर्व, सजन थापामगर, रामभजन कमात आदि

यस्तैमा उनले एक काम पाउँछ, नाकामा (सिन्धुपाल्चोक नाका) अलपत्र परेका बटुवालाई एउटा क्याम्प (काठ गोदाम)सम्म ल्याइपुर्‍याउने । उनका साथी छन्, कर्ली कपाल पालेका, च्याखुरे ज्यानका, सुर्के झोला भिरेका । नाम चाहि, हनुमान । गोल्डीका हनुमान ।

बटुवालाई नाका पार गराए बापत उनले प्रतिव्यक्ति कति पैसा लिने भन्ने कुनै टुंगो छैन । पैसाको मोलमोलाई हुन्छ । हनुमान भन्छ, ३० हजार रुपैयाँ । गोल्डीले थप्छ, एक लाख । फेरी दुई लाख । तीन लाख । अनि छ लाख । आखिरमा दुई जना बटुवालाई नाका पार गराएबापत ५ लाख रुपैयाँ लिने/दिने सहमती हुन्छ ।

गोल्डी र हनुमान एम्बुलेन्स लिएर नाकातिर लाग्छ । भिरालो जंगल क्षेत्रमा गोली लागेर लडेका तिब्बतियन अधवैंशे (शिव मुखिया) र उनीसँगै रहेकी नवजवान युवती (थिन्ले ल्हमु)लाई नाका कटाएर क्याम्पमा ल्याउँछन् । तर, त्यसपछि हुने धोकाधडी, मानविय संवेदना, मारकाट, लुछाचुडीले फिल्मलाई फरक बाटोतिर डोहोर्‍याउँछ ।

सवल पक्ष

एकदमै सामान्य परिघटनाले बाँधेर जसरी मानविय संवेदनालाई स्पर्श गर्ने प्रयास गरिएको छ, त्यो परम्परागत शैलीभन्दा नितान्त भिन्न छ । र, मिठासपूर्ण पनि ।

केन्द्रिय पात्रबाट सबै घटनाको बान्की मिलाउनुपर्छ भन्ने पुरातन सोंचलाई ‘नाका’ले वेवास्ता गरेको छ । बरु, साहयक पात्रको रुपमा देखा परेका दुई निमुखा पात्रबीच हुने आत्मालापले दर्शकलाई स्तब्ध बनाउँछ । जबकी ति दुबै पात्रबीच दोहोरो संवाद हुन सक्दैन । जबरजस्ती संवाद लादिएको पनि छैन । तर, घटनाको उठान र बिसौनीबाटै उनीहरुबीचको अव्यक्त प्रेमलाई देखाइएको छ । फिल्मको यो पक्ष जोडादार छ ।

अर्कोतिर सूत्रधारका रुपमा गोल्डी छन्, जसको दुश्सहास, हठ र उत्ताउलोपनले दर्शकलाई रमाइलो गराउँछ । गोल्डीको ढंग एवं बोल्ने शैली एकदमै घतलाग्दो छ । उनको मनोविज्ञान र प्रवृत्ति अनुरुपको हुलिया र व्यवहार तर्कसंगत छ । अक्सर नेपाली फिल्ममा पात्रको मनोविज्ञान र चरित्र निर्माणबीच सन्तुलन बिग्रने गर्छ ।

बिपिन आफै क्यारेक्टर डिजाइनमा बढी ध्यान दिन्छन् । आफ्नो भूमिकालाई स्वभाविक, सरल, सरस र सारपूर्ण बनाउनका लागि बिपिन हदैसम्मको कसरत गर्छन् । त्यसो हुँदा कहिले काहिँ फिल्ममा उनी हावी हुने भय रहन्छ । तर, ‘नाका’ले त्यो सन्तुलन पनि बिग्रन दिएको छैन ।

सानो फ्रेमभित्र सीमित लोकेसनमा सामान्य पात्रबाट घतलाग्दो कथा पस्किएको छ फिल्मले । फिल्मको अन्त्यबारे दर्शकले पूर्वानुमान लगाउन सक्दैन । फिल्ममा नाचगान छैन । रोनाधोना छैन । कामुकता छैन । जबरजस्ती हसाउने चेष्टा पनि छैन । तर, संवादमा सेन्स अफ ह्युमरको राम्ररी प्रयोग गरिएको छ ।

पृष्टभूमिमा बज्ने तिब्बेतियन धुनको बेग्लै मिठास छ । दुई पात्र रोबिन तामाङ र शिव मुखिया दुबै गायक हुन् । तर, उनीहरुको चरित्र र अभिनय स्वभाविक छ । फिल्ममा देखाइने एउटै मात्र महिला पात्र अर्थात थिन्ले ल्हमुको हाउभाउ मन छुने खालको छ ।

कमजोर पक्ष

अमित श्रेष्ठले निर्देशन गरको यो फिल्ममा कुटपिटको दृश्य अलि बढी छ । कथाले मागेपनि हरेक उल्झनबाट अगाडि बढ्न पात्रको हत्या गरिन्छ । पात्रको हत्या पनि एकदमै हलुंगो ढंगले । यस्तो लाग्छ, सिन्धुपाल्चोक, बाह्रबिसे आसपासको त्यो क्षेत्रमा कानुनी राज्यको उपस्थिती शून्य छ । एउटा सनकी तन्नेरीकै बलमा समाज चलायमान छ ।

गोल्डीले सुरुमा चेकपोष्टमा तैनाथ प्रहरीलाई नाङ्गेझार बनाउँछ । उनीहरुको हतियार र वकिटकी लुट्छ । तर ति प्रहरीहरु यति निरिह छन् कि, गोल्डीलाई पक्राउ गर्ने होइन, चाकडी गरेर आफ्नो सामाग्री फर्काउने चक्करमा लाग्छन् । यो दृश्यले ठाउँ-ठाउँमा हसाएपनि तर्कसंगत भने लाग्दैन ।

तिब्बतबाट भागेर धर्मशालातिर लागेका बटुवाहरुको जसरी पहिचान छैन, त्यसैगरी अरु पात्रहरुको पनि धरातल थाहा हुँदैन । कतिपय ठाउँमा क्यामेरा यसरी चलाइएको छ कि, आँखा बिझाउँछ । सामान्य हलमा फिल्मको केहि दृश्यहरु अस्पष्ट हुनसक्छ ।

यद्यपी यो फिल्म जुन हिसाबले, जसरी बनाइएको छ, त्यो निकै सुरुचीपूर्ण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment