Comments Add Comment

के हो सेयर बजार ? यसले अर्थतन्त्रलाई के हुन्छ फाइदा ?

२२ फागुन, काठमाडौं । सरकार परिवर्तनसँगै सेयर बजारमा पनि उतार-चढाव आउने चर्चा चल्ने गर्छ । यसबाट स्वाभाविकरुपमा प्रश्न उठ्छ कि नेपाली सेयर बजारबाट सरकारले के-के लाभ पाउँदै आएको छ ? हालसम्म यसको औपचारिक अध्ययन भएको छैन ।

सर्वसाधारणलाई वित्तीय साक्षर बनाउन र व्यवसायीहरुलाई पुँजी जुटाउन यो बजार सहयोगी हुने गर्छ । नेपाली सेयर बजारबाट सरकारले गत वर्ष सवा अर्ब बराबरको राजस्व पायो । बजार घट्दा सरकारले यस बजारबाट पाउने राजस्व पनि घट्छ भने बढ्दा वृद्धि हुन्छ । यसबाहेक सेयर बजारबाट सरकारले पाउने लाभ अरु पनि हुन्छन् ।

‘तथ्यांकले बजारमा अहिले १० लाख मानिस संलग्न देखाउँछ, यसमध्ये १० प्रतिशत मानिसले सेयर बजारबाट कमाएको रकम अन्य व्यवसायमा लगाउँछ भने पनि आर्थिक गतिविधि त यसले बढाउँछ नै’ सेयर बजारका लगानीकर्ता तथा जलविद्युत व्यवसायी ज्ञानेन्द्रलाल प्रधानको प्रक्षेपण छ ।

हुनतः सेयर बजारबाटै जमेर चिनिएका व्यवसायीहरु पनि छन् । पछिल्लो समय बजारबाटै व्यवसायीको रुपमा उदाएका लगानीकर्ताहरु हुन्, हाथवे इन्भेष्टमेन्ट कम्पनीका सञ्चालक अम्बिका पौडेल ।

मारवाडी समुदायका व्यवसायी निरञ्जनकुमार टिबरेवाला समेत समावेश हुने यस्तो व्यवसायीको सूचीमा हाइड्रो, एयर लाइन्समा लगानी गरिरहेका ब्रोकर नन्दकिशोर मुन्दडा पनि अटाउँछन् ।

देखिने स्तरमा धेरै संख्यामा ठुला व्यवसायी नजन्माए पनि बजारले सानातिना व्यवसायी जन्माएको पनि कतिपय मान्छन् । ‘मैले नै पनि सेयरबाट कमाएको रकम हस्पिटालिटी क्षेत्रमा लगानी गरेको छु,’ सेयर विश्लेषक प्रकाश तिवारी भन्छन् । तर, नेपालको सेयर बजारबाट अपेक्षितरुपमा पुँजी निर्माण नभएको तिवारीको तर्क छ ।

‘लगभग ८० प्रतिशत लगानीकर्ता सेयर बजारमा सट्टेवाजीको नियतले प्रवेश गर्छन, उनीहरु कहिले उच्च कमाउँछन, कहिले जोखिममा नै पर्छन्,’ तिवारी स्पष्ट पार्छन् । उनका अनुसार एक पटक कमाएको पुँजी अर्को पटक गुमाउँदा त्यसको व्यवस्थापनमै सकिने गरेको पनि पाइएको छ ।

सेयर बजारबाट आंशिक रुपमा उच्च कमाइ भएपनि औसतमा भने धेरै कमाइ नहुने प्रधानको पनि दाबी छ । ‘बजारबाट बाषिर्क औसत १५ प्रतिशतको दरमा कमाइ हुन्छ,’ प्रधान बताउँछन ।

सेयर बजार पुँजी संकलन गर्ने स्थानको रुपमा मानिन्छ । व्यवसायीहरुलाई कुनै काम अगाडि बढाउन पुँजी आवश्यक परेमा सेयर जारी गरेर रकम संकलन गर्न सक्छन् ।

बाध्यात्मक अवस्थामा बाहेक नेपाली सेयर बजारमा पुँजी उठाउन भनेर व्यवसायीहरु आएका छैनन् । यसैको परिणाम सेयर बजार न त अर्थतन्त्रको ऐना बन्न सकेको छ न ठूलो पुँजी निर्माणको क्षेत्र ।

‘नेपालको सेयर बजारमा बैंक तथा वित्तीय संस्था नै धेरै छन्, उनीहरुको अवस्थामा हुने परिवर्तनले नै बजार तलमाथि हुने गर्छ,’ सेयर विश्लेषक अमृतनाथ रेग्मी भन्छन् ।

बाध्यात्मक अवस्थामा बाहेक बजारमा अन्य कम्पनीहरु खासै आएका छैनन् । बजारमा लगभग दुई सय बढी कम्पनी सूचीकृत भएको छ । व्यापार, उत्पादनमूलक र होटेलजस्ता कम्पनीको संख्या दर्जन पनि पुग्दैन । नियमित कारोबार हुने यो क्षेत्रका कम्पनीको संख्या त अझ कम नै ।

स्थानीयलाई ३० प्रतिशत सेयर जारी गर्नै पर्ने बाध्यताले पनि जलविद्युत कम्पनीहरु सेयर बजारमा आएका छन् । तर, केही ठूला जलविद्युत आयोजनालाई आपवादमा राख्दा यस्ता कम्पनीका अधिकाँश सञ्चालक पनि सट्टेवाजी गर्ने मनसायबाटै बजारमा आउने गरेका छन् । यसले पनि पुँजी निर्माणमा धेरै सहयोग हुन नसकेको विज्ञहरुको भनाइ छ ।

अहिले सेयर बजारमा जति व्यवसायी सक्रिय छन्, सबै सूचीकृत संस्थामा लगानी गरेकाहरु छन् । तुलनात्मक रुपमा बैंक तथा वित्तीय संस्थाको संख्या धेरै रहेकोले सक्रिययस्ता लगानीकर्ताहरु पनि यिनै संस्थाका छन् ।

२६ खर्बको अर्थतन्त्र हुँदा नेपाली सेयर बजारको आकार त्यसको दुई तिहाई बढी छ । तर, अर्थतन्त्रले यसको मनग्य लाभ लिन सकेको छैन । तर, सरकारले बजारलाई बेवास्ता गर्दाको परिणामका रुपमा उनीहरुले यसलाई लिएका छन् ।

सेयर बजारको पूर्वाधार सुधारमा सरकार निराशावादी हुनु, उत्पादनमूलक क्षेत्रलाई बजारमा प्रवेश गराउन नसक्नु लगायतकै कारण अर्थतन्त्रले पनि लाभ लिन नसकेको उनीहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment