२३ फागुन, काठमाडौं । ‘कौन बनेका करोडपति’ को नाममा ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मार्मिङ–९ घर भइ हाल काठमाडौंको जोरपाटी बस्दै आएका २१ वर्षीय नुर्पु तामाङ छन् ।
महानगरीय प्रहरी वृत्त, गौशालाका अनुसार तामाङले कैलालीका शुसिराम चौधरी र कपिलवस्तुकी रचना गिरीलाई ईमो तथा भाइबरबाट फोन गरेर २५ लाख रुपैयाँ चिठ्ठा परेको बताएका थिए । र, उनले त्यस रकम प्राप्त गर्नलाई केही रकम अग्रिम जम्मा गर्नु पर्ने भनि झुक्काएर मनी ट्रान्सफरबाट पैसा पठाउन लगाएका थिए ।
उनीबाट अन्य मानिसहरु पनि ठगिएको खुलेको वृतका डिएसपी अनुपम श्रेष्ठले अनलाइनखबरलाई बताए ।
तामाङ यो ठगी धन्दाको सदस्य मात्रै भएको प्रहरीको भनाइ छ । त्यसवापत उनले कमिशन मात्रै पाउने बयान दिएका छन् ।
प्रहरीका अनुसार वैदेशिक रोजगारीका लागि जाने क्रममा असफल भएपछि उनी ठगी गर्ने गिरोहको सम्पर्कमा पुगेका थिए । र, हालसम्म उनीबाट ४ जना व्यक्ति ठगिएको खुलेको छ ।
श्रेष्ठका अनुसार उनलाई ठगी अन्तरगत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ ।
प्रतिक्रिया 4