Comments Add Comment

नविना र राजीवले अखिल र युवा संघ छाड्ने

अखिलमा ऐन महर, युवा संघमा दिलु पन्तको दाबी

२५ फागुन, काठमाडौं । नेकपा एमालेका दुई भातृ संगठन अनेरास्ववियु र युवा संघका अध्यक्ष प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि उनीहरुको ठाउँमा नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढेको छ । अनेरास्ववियु अध्यक्ष नविना लामाले प्रतिनिधिसभा सदस्य भएपछि आफू संगठनबाट विदा हुने घोषणा गरिसकेकी छन् ।

प्रदेश ४ को प्रदेशसभा सदस्य निर्वाचित भएका युवा संघका अध्यक्ष राजिव पहारी भने मौन छन् । विधानतः युवासंघको महाधिवेशन गर्नुपर्ने अवधि टरिसकेको छ । पहारीले सर्वसम्मति भए नेतृत्व छाड्न तयार रहेको बताएका छन् ।

नविनाको ठाउँमा ऐन महरको दाबी

अनेरास्ववियुले फागुनमा विधान सम्मेलन गरेर चैतमा महाधिवेशन गर्ने तयारी थालेकै बेला पार्टीले सबै संगठनका महाधिवेशनहरुमा रोक लगाएपछि नविनाले अध्यक्ष पद हस्तान्तरण गर्ने प्रक्रियाको माग गरेकी छन् ।

आफू सांसद भएलगत्तै केही दिनअघि बसेको अनेरास्ववियुको स्थायी कमिटी बैठकमा नविनाले संगठनबाट विदा लिने चाहना व्यक्त गरिन् । उनले ०५१ सालमा गुल्मीबाट सांसद जितेपछि अनेरास्ववियुका तत्कालीन अध्यक्ष रामनाथ ढकालले विदा लिएर तत्कालीन महासचिव योगेश भट्टराई अध्यक्ष बनेको नजिर समेत पेश गरेकी छन् ।

महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्ने आफ्नो चाहना पार्टी निर्णयका कारण पूरा नभएकाले विधि र प्रक्रिया पूरा गरेर आफूले नयाँलाई नेतृत्व दिन चाहेको लामाले बताइन् । ‘मेरो व्यवस्थापन पार्टीले गरिसकेकाले बिदा लिन खोजेको हो,तर सडकमा कसैलाई नेतृत्व हस्तान्तरण गर्न मिल्दैन,त्यसैले बिधि र प्रक्रियाबाट नयाँ नेतृत्व आउछ’ उनले भनिन् ।

नविनाले यसबारेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेटेर जानकारी गराउन खोजेकी छन् । अखिल इन्चार्ज रविन्द्र अधिकारीमार्फत आफूले पार्टीमा कुरा पुर्‍याएको लामाले बताइन् । अनेरास्ववियुको महाधिवेशन गर्न नमिलेको र अध्यक्षले विदा लिन खोजेको सन्दर्भमा अधिकारीले पार्टी अध्यक्ष ओलीसँग गत साता छलफल गरेका थिए ।

विद्यार्थी इञ्चार्ज रविन्द्र अधिकारीले पार्टी एकताबाट जनसंगठनहरु पनि एकीकरण नहुन्जेलको लागि के गर्ने भनेर पनि छलफल गरेका थिए । स्रोतका अनुसार ओलीले अहिलेका महासचिव ऐन महरलाई अध्यक्ष बनाउन अधिकारीलाई निर्देशन दिएका छन् । यसअघि उपाध्यक्ष रहिसकेका महरलाई २ वर्षअघि महाधिवेशनको बेला नविनालाई अध्यक्ष बनाउनका लागि महासचिवमा मनाइएको थियो ।

अध्यक्ष बन्नका लागि अहिलेका चारजना उपाध्यक्षले पनि लबिङ तीब्र पारेका छन् । रश्मी आचार्य, महेश बर्तौला, सुनिता बराल र शैलेस लामा चारैजना दाबेदार छन् । यी चारैजना उपाध्यक्ष २ वर्षअघि नविना लामाकै प्यानलबाट निर्वाचित भएका हुन् भने महर पनि नविना प्यानलकै हुन् । अध्यक्षबाट सफलतापूर्वक विदा हुन पाउनु आफ्नो लागि सुखद भएको भन्दै नविनाले आफू कसैको पक्ष वा विपक्षमा नरहेको प्रतिक्रिया दिइन् ।

अखिलको अध्यक्षमा सचिव सुदेश पराजुलीले पनि दाबी गरेका छन् । उनी पार्टीभित्र माधव नेपाल समूहका हुन् । अनेरास्ववियुमा माधव नेपाल पक्षका तीन सचिवमात्र छन् । पराजुली, आरती लामा र वसिम आलम बाहेक अरु सबै संस्थापन पक्षका हुन् । पराजुलीले अध्यक्षमा दाबी गरेर महासचिव पद सुरक्षित गर्न खोजेको चर्चा छ । पार्टीमा ओली र माधव नेपाल मिलेको बेला नेपाल कोटाबाट उनले महासचिवको दाबी गर्ने सम्भावना छ । महासचिवमा समिक बडाल अारसी लामिछानेको दावी छ ।

अखिलको अब बस्ने स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठक बोलाउनेछ । केन्द्रीय कमिटीबाट अध्यक्षको चयन हुने र अरु पदाधिकारीको बारेमा त्यसपछिमात्र छलफल हुनेछ । १५४ सदस्यीय केन्द्रीय कमिटीका ७ जना विदेशमा छन् भने एकजनाको निधन भएको छ । अध्यक्षले बिदा लिएसँगै सचिव,कोषाध्यक्ष र सचिवालय सदस्यहरुले पनि एक तह बढुवाको लागि लबिङ गरिरहेका छन् ।

युवा संघमा कोको छन् दाबेदार ?

प्रदेशसभा सदस्य बनेका युवा संघ अध्यक्ष राजीव पहारीले पनि आफू नेतृत्व हस्तान्तरणका लागि आतुर रहेको बताएका छन् । त्यसका लागि सर्वसम्मत ढंगबाट नेतृत्व हस्तान्तरणको वातावरण बनाउन पदाधिकारीहरुसँग छलफल गरिरहेको उनले बताए । पहारी प्रदेश ४ मा प्रदेश सरकारको मन्त्री बन्न पोखरामै लबिङ गरिरहेका छन् ।

सर्वसम्मतको वातावरण नबनाई युवा संघमा नेतृत्व हस्तान्तरण गर्दा विगतमा डेढ वर्षसम्म संगठननै बन्धक भएको भन्दै पहारीले सर्वसम्मतिको वातावरण बनाउन पार्टीले पनि पहाल गरिरहेको बताए । पहारीमाथि महाधिवेशन पनि नगरेको र नेतृत्व हस्तान्तरण गर्न पनि नचाहेको आरोप अरु पदाधिकारीले लगाएका छन् ।

पहारीले भने अहिले पार्टीले नै महाधिवेशन रोकेको बताए । उनले भने-म सर्वसम्मत रुपमा नेतृत्व हस्तान्तरणको वातावरण बनाउँदैछु, अब युवा संघको नेतृत्व ओगटेर बस्ने रुची छैन ।

युवा संघ अध्यक्षका लागि बरिष्ठतम उपाध्यक्ष दिलु पन्तले दाबी गरेकी छिन् । आफू बरिष्ठ उपाध्यक्ष रहेकाले अध्यक्षको दाबी स्वाभाविकरुपमा रहने पन्तको भनाइ छ । तर, यसबारे अहिलेसम्म बैठक नबसेको र छलफल नै नभएको उनी बताउँछिन् ।

अध्यक्षमा दाबेदारहरुमा पन्तका साथै रमेश पौडेल, किरण पौडेल, नरेश शाही, राजु गुरुङ पनि छन् । रमेश र किरण संस्थापन पक्षका हुन् भने राजु र नरेश माधव नेपाल पक्षका हुन् ।

युवासंघका करीव आधा दर्जन पदाधिकारी जनप्रतिनिधि भइसकेका कारण नेतृत्व पुनर्गठनको माग अन्य पदाधिकारीले गरेका छन् । अध्यक्ष पहारी, उपाध्यक्ष चन्द्र लामा प्रदेशसभामा निर्वाचित भएका छन् । त्यस्तै सचिव मञ्जु यादव, सुनिता चौधरी पनि प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

अनुशासन आयोगका अध्यक्ष हिराचन्द्र केसी प्रतिनिधिसभामा निर्वाचित भएका छन् । युवा संघकै सचिव अशोक चन्द कञ्चनपुरको बेदकोट नगरपालिका मेयर र कोषाध्यक्ष हिदम लामा मकवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment