
२१ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग लिएर जेनजीको एउटा समूह उग्र बनेपछि त्यसको प्रतिवादमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु फ्रन्टलाइनमा उत्रेको छ ।
अनेरास्ववियुले जेनजी आन्दोलनका भित्री योजनाकार काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र सडक प्रदर्शनमा अग्रभागमा देखिने हामी नेपालका सुदन गुरुङविरुद्ध प्रहरीमा जाहेरी लिएर गएको छ ।
सुदन गुरुङ नेतृत्वको समूहले ओली र लेखक विरुद्धको जाहेरी लिन काठमाडौं प्रहरी परिसरमा दबाब दिएको थियो । उक्त दबाबपछि काठमाडौं प्रहरी परिसरले जाहेरी लिएर गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाइदिएको छ ।
यता अनेरास्ववियुले दिएको निवेदनको भने फोटोकपी मात्र लिएर यसबारेमा २४ घण्टाभित्र जवाफ दिने भनेको छ ।
मंगलबारका यी दुई घटनाले जेनजी र एमालेबीच यसअघि सामाजिक सञ्जालमा मात्र देखिएको एकअर्काविरुद्धको आरोप प्रत्यारोप अब विभिन्न मुद्दा र सडक प्रदर्शनमा समेत प्रकट हुने संकेत देखिएको छ ।
अनेरास्ववियुका नेताहरूले मंगलबार प्रहरी परिसर पुग्दा आफ्ना कार्यकार्तासहित गएका थिए । अब यस्ता जाहेरी उजुरी हरेक जिल्लामा लैजाने उनीहरूको भनाइले एकाअरुकाविरुद्धको अभियान सडकमा प्रकट हुने जोखिम बढेको छ ।
विशेषगरी सोमबार दिउँसोबाट एकाएक सामाजिक सञ्जालमा जेनजी प्रतिनिधिहरूले एकाएक ‘एरेस्ट ओली, एरेस्ट रमेश लेखक’ अभियान चलाए ।
यो ह्यासट्याग अभियान यति छिटो फैलियो कि, अधिकांशले त्यसमा सहभागी भए । आफ्ना सञ्जालबाट पोस्ट गरे ।
जेनजीहरूले यसरी तत्कालीन सत्ता प्रमुखलाई एरेस्ट गर्न अभियान चलाएपछि एमाले कार्यकर्ता त्यसको काउन्टरमा उत्रे । केहीले सामाजिक सञ्जालबाटै बालेन र सुदन गुरुङलाई पनि पक्राउ गर्ने अभियान चलाए ।
जेनजीको एउटा समूहका संयोजक सुदन गुरुङ भदौ २३ गते जेनजी आन्दोलनका क्रममा दमन गर्ने तत्कालीन सरकार प्रमुख र गृहमन्त्री लेखकविरुद्ध उजुरी गर्न आफैं प्रहरी कार्यालय धाएको धायै गरे । त्यस्तै शैली मंगलबार एमाले कार्यकर्ताले पनि पछ्याए ।
मंगलबार मात्र एमालेका तर्फबाट अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडालसहितका कार्यकर्ता प्रहरी परिसर काठमाडौं गएका थिए ।
‘२४ घण्टाभित्र अध्ययन गरेर दर्ता गर्ने वा नगर्ने, नगर्ने भए किन नगर्ने भन्ने जवाफ दिन्छौं भन्नुभएको छ,’ परिसर पुगेका अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडालले भने, ‘२४ घण्टाभित्र जाहेरी दर्ता भएन भने थप अगाडि बढ्छौं ।’
उनका अनुसार तीन वटा विषलाई लिएर जाहेरी दिन खोजिएको छ । सार्वजनिक सम्पत्तिको तोडफोड, युवा हत्या र जासुसी गरिरहेको विषयलाई लिएर बालेन र सुदनविरुद्ध जाहेरी दिएको बताए ।
भदौ २३ गतेको राज्य दमन गर्नेलाई पक्राउ गर्न जेनजीहरूले माग गरेका छन् । अनेरास्ववियुले २४ गते आन्दोलनको नाममा भएको अराजकतामा संलग्नलाई कारबाही गर्न भनेको छ ।
एकातिर सरकारले बनाएको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले काम गरिरहेको छ । यही बेलामा दुबै समूह नामै तोकेर एकअर्काविरुद्ध उजुरी दिन लागेका छन् ।
२४ भदौमा सिंहदरबारलगायतका संरचना जल्नुमा दोषी किटान गरेर आफूहरुले उजुरी दर्ता गरेको बडालको दाबी छ । सँगसँगै राष्ट्रिय सुरक्षामा खतरा देखिएकाले पनि अब आफूहरु चनाखो भएर लाग्ने उनले बताए । यदि त्यहाँबाट अनेरास्ववियुले दर्ता गरेको उजुरीको न्यायिक निरुपण नभए अन्य विकल्प खोज्ने र आफूहरु जसरी पनि यसविरुद्ध अघि बढ्ने चेतावनी उनले दिएका छन् ।
‘कुनै व्यक्तिको दासत्व र अराजकता स्वीकार्न यो लोकतन्त्रमा कसैले सक्दैन । त्यसको बर्खिलापममा अनेरास्ववियु अगाडि आउँछ,’ भदौ २३ र २४ गतेको घटनामा एमाले नेतालाई तान्न खोजे आफूहरुले नछोड्ने संकेत गर्दै बडालले चेतावनी दिए ।
यसरी सडकमा आउनुअघि नै एमाले नेता/कार्यकर्ताले जेनजी आन्दोलनकारी विरुद्ध दोहोरो भनाभन गरिरहेका देखिन्थे ।
ओलीनिकट मानिने बडालले मंगलबार नामै किटेर सञ्जालमा लेखेका थिए, ‘विचौलियाको सेटिङ्गमा अदालत र अख्तियार जलाउन लगाउने अदृश्य रिमोटहरुको धन्दाको सेटिङ्गमा बालेन जी र सुदन गुरुङ छन् भन्न गाह्रो छैन । गौरीबहादुर कार्की र विज्ञानराज शर्माजीको आयोगको निशाना यिनै धन्दावालाको निष्कर्ष हो भने सन्तोष सेनको बलिदान फिल्मको अभय बन्नुपर्ने स्थिति बन्नसक्छ । असली जेनजीले आफ्नो बिबेक प्रयोग गर्नुहोस् ।’
यता जेनजी पनि तत्कालीन सत्ता प्रमुख र त्यससम्बन्धित पात्रसँग रुष्ट छन् । पुराना दल पनि यिनीहरुको तारोमा छन् । जुन गत जेनजी आन्दोलनबाटै स्पष्ट देखिएको थियो ।
जेनजी अगुवाहरुले सरकारलाई दबाब दिँदै तत्कालीन प्रधानमन्त्री ओली र रमेश लेखकलाई पक्राउ गर्न सुरूमा ह्यासट्याग अभियान चलाएका थिए । त्यसपछि सोमबार गुरुङसहितको टोली प्रहरी परिसर भद्रकाली पुगेको थियो । सहिद परिवारसहित पुगेका उनीहरुले ओली र लेखकविरुद्ध उजुरी हाल्न खोजेका थिए ।
तर, सोमबार दिनभर उनीहरुको उजुरी दर्ता भएन । यसरी सोमबार दिनभर परिसरमा बसेका उनीहरुले मंगलबार पनि सोही कुरा दोहोर्याए । भदौ २३ गते भएको घटना मानवताविरुद्धको अपराध भएको भन्दै जेनजी आन्दोलनका मृतकका परिवारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी दर्ताको प्रयास गरे । तर, उक्त जाहेरी दर्ता नगरी प्रहरीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाएको छ ।
काठमाडौं प्रहरी परिररका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार, यस्तो जाहेरीको कार्यक्षेत्र जाँचबुझ आयोग हुने भएकाले त्यहाँ पठाइएको हो । ‘चार जनाको तर्फबाट जाहेरी आएको थियो त्यसलाई हामीले जाँचबुझ आयोगको कार्यक्षेत्रभित्र पर्ने भएकाले त्यहाँ पठायौं,’ भट्टराईले अनलाइनखबरसँग भनेका छन् ।
प्रदर्शनमा अस्वाभाविक बल प्रयोग गरेर दमन गरेको र १९ जनाको ज्यान जानेगरीको बल प्रयोगको घटना ‘सामूहिक हत्या’ भएको भन्दै उनीहरुलाई कारबाही गर्नुपर्ने माग छ ।
प्रतिक्रिया 4