Comments Add Comment

जल्नेको मन जलिरहन्छ, महराको सत्तायात्रा चलिरहन्छ !

सभामुख बन्न खोज्दा घटुवा, एकीकृत पार्टीको नेतृत्वबाट आउट

२५ फागुन, काठमाडौं । नेताहरु भन्ने गर्छन्-जोगी बन्नलाई राजनीति गरेको होइन । तर, राजनीति गरेर जोगी बनेका धेरै नेता अहिले पनि सडक नापिरहेका छन् ।

राजनीतिमा लागेर कहिल्यै तल हेर्नु नपरेका भाग्यमानीहरु सिमित व्यक्ति हुन्छन् । उनीहरु मध्ये एक हुन्-कृष्णबहादुर महरा, जो प्रतिनिधिसभा सभामुखमा निर्विरोध भएका छन् ।

माओवादी पार्टीभित्र उनका आलोचकहरु महरालाई ‘तीन प’ (पद प्रतिष्ठा र पावर) का पर्याय भन्छन् ।

१० वर्षको छोटो अवधिमा तीन पटक उपप्रधानमन्त्री, पाँच पटक मन्त्री भएका महरा ५ पटक सांसद भइसकेका छन् । अब ५ वर्षका लागि उनको सभामुख पद सुरक्षित भएको छ । माओवादीमा यति भाग्यमानी नेता सायदै कोही होलान् ।

माओवादीमा उनलाई गणतन्त्रका विजयकुमार गच्छदार पनि भन्ने गर्छन् । पद र पावरभन्दा बाहिर बस्नै नसक्ने प्रवृतिलाई बिजय गच्छदार प्रवृति भनेर व्यंग्य गरिन्छ । माओवादीभित्र उनका आलोचकहरु र अवसर नपाउनेहरुले महरालाई यसैगरि व्यंग्य गरिरहन्छन् ।
तर, ट्रक साहित्य जस्तै, जल्नेको मन जलिरहन्छ, कृष्णवहादुर महराको सत्तायात्रा चलिरहन्छ ।

राजनीतिमा लागेपछि महराले पार्टीसत्ता र राज्यसत्ताको उकालो यात्राबाट कहिल्यै ओह्रालो लाग्नुपरेको छैन । यसपटक महरा सभामुख हुनुलाई भने उनका निकटस्थहरुले रहर भन्दा पनि बाध्यता हो भनेर बुझिदिन आग्रह गरेका छन् । उनका एक सहयोगीले भने, ‘उहाँले सभामुखमा रहर गर्नुभएको थिएन तर पार्टीभित्रको परिस्थिति र अन्य दलका नेताहरुको पनि आग्रहले यस्तो परिस्थिति आयो ।’

पाँच वर्षका लागि सभामुख भएपछि महराको पार्टी सत्ताको उकालो यात्रामा भने ब्रेक लागेको छ । सभामुख भएसँगै उनले पार्टीको जिम्मेवारीबाट राजस्नामा दिनुपर्नेछ ।

माओवादी सचिवालय सदस्य महरा अब पार्टी बैठक र गतिबिधिहरुमा सामेल हुन सक्दैनन् । सभामुखको भूमिका रहुन्जेल उनी पार्टीको नेतृत्व तहमा रहन मिल्दैन ।

हुन त कतिपयले रामचन्द्र पौडेलको उदाहरण दिँदै महराले पार्टीको पदबाट राजिनामा नदिए पनि हुने तर्क गर्न सक्छन् । २०५१ सालमा सभामुख हुँदा रामचन्द्रले कांग्रेस केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिएनन् । तर, सुवास नेम्वाङको उदाहरण लिने हो भने उनले सभामुख र संविधानसभा अध्यक्ष हुन्जेल पार्टीको कुनै कमिटीमा रहेनन् । सभामुखमै रमाएका कारण पार्टी पोर्टफोलियोमा उनी पछि परे ।

नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणबाट बन्ने शक्तिशाली कम्युनिस्ट पार्टीमा टप टेन नेताभित्र महरा पनि पर्थे । तर, अब सभामुख भएसँगै उनी एकीकृत कम्युनिस्ट पार्टीको पहिलो केन्द्रीय कमिटीको सर्वोच्च तहमा रहने अवसरबाट भने बन्चित भएका छन् । यसले महराको राज्यसत्ता यात्रा फलिफाप भए पनि पार्टी सत्ताको यात्रामा भने घटुवा भएको टिप्पणी पनि गरिएको छ ।

नेपालमा सभामुख भइसकेका व्यक्ति उपप्रधानमन्त्री र मन्त्रीमात्र पनि भएका छन् । तर, उपप्रधानमन्त्री भइसकेका व्यक्ति भने सभामुख भएका थिएनन् । रामचन्द्र पौडेल सभामुख भएर मन्त्री बने । तर, महरा भने उपप्रधानमन्त्री र मालदार भनिने प्रायः धेरै मन्त्रालय सम्हालिसकेर सभामुख बन्न गएका छन् । संवैधानिक मर्यादाक्रमका हिसाबले सभामुख माथिल्लो पद हो । तर, महरा जस्ता राजनीतिक खेलाडीका लागि भने यो पद सेरेमोनियल हुनसक्छ ।

माओवादीमा महरा पार्टी अध्यक्ष प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ र रामवहादुर थापापछि चौथो बरियताका नेता हुन् ।
उनी सभामुख भएसँगै उनीपछिका एक नेताले पार्टीमा उनको स्थान लिनेछन् । अर्थ, गृह, परराष्ट्र र सूचना तथा सञ्चार जस्ता प्रभावशाली मन्त्रालय चलाइसकेका महरा सभामुखमा गएसँगै उनको सक्रिय राजनीति स्थगन भएको छ ।

२०६३ को जनआन्दोलनपछि हुर्किएको पुस्तामा सभामुख भनेकै सुवास नेम्वाङ र सुवास नेम्वाङ भनेकै सभामुख भन्ने छाप परेको थियो । यसपटक पनि सुवास नेम्वाङको लागि एमालेले माओवादीसँग सभामुख पद पाउन अन्तिमसम्म प्रयास गरेको हो । तर, माओवादीले सुवास नेम्वाङपछि सभामुख भएकी ओनसरी घर्तीको चाहनालाई समेत उपेक्षा गरेर महरालाई अघि सार्‍यो ।

सुवास नेम्वाङ र ओनसरी घर्तीले जसरी संसद चलाए, अब सबैको नजर महरातिर पर्नेछन् । महरा कम बोल्ने र भित्रभित्रै गोटी चाल्ने नेताका रुपमा मात्र चिनिएका छन् । तर, संसदीय अभ्यास, कामकारवाही र कामको प्रकृति उनको स्वभावकसँग मेल खाँदैन । सफल सभामुख बन्न संसदीय काम कारवाहीको प्रभावकारितासँगै मिडियामैत्री र सांसदमैत्री पनि बन्नुपर्छ ।

महरा मिडिया र पत्रकारसँग दुरीमा बस्ने नेता हुन् । सुवास नेम्वाङले जुन शैली अवलम्बन गरेका थिए, ओनसरीले लगभग त्यहि शैली पछ्याएर आफूलाई विवादरहित बनाएकी थिइन् । अब महराको परीक्षण शुरु हुनेछ । सभामुख भएपछि प्रचण्ड रिझाएरमात्र सफलता पाइदैन भन्ने सायद उनले चाँडै महशुस गर्नेछन् ।

को हुन् महरा ?

२०१५ असार १५ गते रोल्पाको लिवाङ-७ धारापानीमा जन्मिएका महराले स्नातक तह उत्तीर्ण गरेका छन् । उनले २०३६ देखि २०४८ सम्म विज्ञान र गणित पढाए । २०४८ को आमनिर्वाचनमा तत्कालीन संयुक्त जनमोर्चाबाट रोल्पा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वचित भएका उनी माओवादी जनयुद्धमा सुरुदेखि सक्रिय रहे ।

२०५८ सालमा माओवादी र तत्कालीन सरकारसँग भएको पहिलो वार्तामाउनी संयोजक थिए । त्यसपछि सरकारसँगभएको वार्ताहरुमा लगातार संलग्न रहेका महरा २०६३ पुसमा अन्तरिम व्यवस्थापिका-संसदको सदस्यसँगै संसदीय दलको नेता बने ।

२०६३ चैतमा अन्तरिम सरकारको सञ्चारमन्त्री बनेका उनी यो बीचमा पाँच पटक मन्त्री बनेका छन् । यो अवधिमा माओवादी सहभागी दुई सरकारमा मात्र उनी अटाएनन् ।

तत्कालीन प्रधानमन्त्रीहरु झलनाथ खनाल, प्रचण्ड र शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी उपप्रधानमन्त्री समेत बनेका महराले सञ्चार तथा सञ्चार, गृह, अर्थ र परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment