Comments Add Comment

प्रदेश दुई सम्भावनै सम्भावनाले भरिएको छ: प्रचण्ड

२८ फागुन, रौतहट । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले प्रदेश २ मा सबै भन्दा छिटो विकास हुन सक्ने सम्भावनाका स्रोतहरु रहेको बताएका छन् ।

सम्भावनै सम्भावना रहेको प्रदेशलाई सरकारले समग्र प्याकेज लिएर जानुपर्ने र यो क्षेत्रका स्थानीयको जनचाहना अनुसारको आवश्यक्ता परिपूर्ति गर्नका लागि सरकार गम्भीर र जिम्मेवार हुनु पर्ने प्रचण्डले बताए ।

रौतहटको चन्द्रनिगाहपुरमा सोमबारबाट शुरु भएको चन्द्रपुर महोत्सवको उदघाटन गर्दै पूर्व प्रधानमन्त्री प्रचण्डले प्रदेशको विकास तीव्र गतिमा अगाडि बढने विश्वास समेत व्यक्त गरे ।

पूर्व पश्चिम रेलमार्ग, निजगढ-काठमाडौं फास्ट ट्रयाक तथा निजगढमै निमार्ण हुने दोश्रो अन्तर्राष्ट्रिय विमानस्थलले यस क्षेत्रको विकासमा ठूलो मद्दत पुर्‍याउने प्रचण्डले बताए ।

‘दुई नम्बर प्रदेशका जनताहरुको केही असन्तुष्टिहरु थिए तर त्यसलाई सम्बोधन गर्नका लागि मैले पहल गरेको थिए ।’ प्रचण्डले भने,’सम्भावना भएको यो क्षेत्रको विकासको लागि मैले हुलाकी सडकमार्गको काम पनि अगाडि बढाउन लगाएको छु ।’

कार्यक्रममा सम्बोधन गर्दै उनले देश विकासको एउटा नयाँ दिशातर्फ अगाडि बढेको र अब राष्ट्रिय एकता तथा सम्वृद्धिका लागि दलहरु एक जुट भएको बताउँदै सरकारले विश्वासको मतको प्राप्त गर्दै गर्दा फोरम र राजपाले पनि सरकारलाई सहयोग गरेको बताए ।

केही दिन भित्रै फोरम र राजपा पनि सरकारमा सहभागी हुने संकेत आफूले पाएको र अबको सरकार देशलाई सम्बृद्ध बनाउने अभियानमा अगाडि बढेको उनले बताए ।

सरकारले सात वटै प्रदेशमा औद्योगिक क्षेत्रको स्थापना गरेर औद्योगिक क्रान्तीको एउटा नयाँ शुरुआत गर्ने सपना आफूहरुले बोकेको र त्यस खालको प्रक्रियालाई अगाडि बढाइने उनले बताए ।

कार्यक्रममा उद्योगपति विनोद चौधरीले पनि सरकारले सबै क्षेत्रहरुमा औद्योगिक क्षेत्रको विकास गरेर उद्योगी व्यवसायीलाई लगानीको अवसर दिनु पर्ने बताएका थिए ।

रौतहटको चन्द्रपुर नगरपालिकामा शुरु भएको महोत्सव चैत्र ७ गते सम्म संचालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment