Comments Add Comment

बान्द्रेको ससुराली अनुभवः ‘छोरी भएपछि आउजाउ बाक्लियो’


हाँस्यकलाकार सुरज चपागाई ‘बान्द्रे’ लाई मंगलबार बिहान नौ बजे फोन गर्दा उनी ससुराली जाँदैथिए । न कुनै चाडपर्व, न त कुनै कार्यक्रम । किन ससुराली जान लाग्नु भएको ? बान्द्रेले हाँस्दै जवाफ दिए । ‘छोरीको न्यास्रोले ।’

हालै मात्र छोरी जन्मेपछि उनकी श्रीमती माइतीघर काभ्रेमै छिन् । त्यसकारण बान्द्रेको ससुराली आउजाउ पनि बाक्लिन थालेको छ । उनलाई लाग्छ, ‘म सबैभन्दा धेरै ससुराली धाउने ज्वाईको रुपमा पर्छु होला अचेल ।’

उनको ससुरालीमा साला, साली, सासु ससुरा सबै छन् । सबैजना सँग भेट्दा उनलाई रमाइलो लाग्छ । ससुरालीमा लाज-साज नलाग्ने उनी बताउँछन् । ‘सासु-ससुरा आफ्नै बाआमा जस्तै लाग्छ भने साला साली भाइ बहिनी जस्तै । के को लाज ?’ उनले भने । सासुससुरासँग उनको गफगाफ मज्जैले चल्छ ।

दशैंमा गएको बेला प्रायः एक दिन ससुरालीमै बास बस्छन् । अरु बेला बिहान गएर बेलुका फर्किने चलन छ उनको । उनको घरबाट ससुराली नजिकै भएकाले अरु बेला बिहान गएर बेलुका फर्किन्छन् ।

पहिले पहिले उनी पुग्नासाथ ससुराबाट झम्टिदै खुट्टा ढोग्न आउँथे । तर उनी दिँदैनथे । त्यसैले आजकाल झम्टिदैनन् । नमस्ते आदानप्रदानमै काम चल्छ । ससुराली जाँदा सिजन अनुसारका फरक-फरक कोसेली लैजान्छन् उनी । प्राय फलफुल बोक्छन् । जुन सिजनमा जे फलफुल पाइन्छ त्यही लैजान्छन् ।

आजसम्म उनी ससुराली जाँदा ठाँट्टएिका छैनन् । एकचोटि तेल लगाएर कपाल भने कोर्छन् । विवाहमा टाइसुटमा गएको भए पनि अरु बेला जे मन लाग्यो त्यही लुगामा जान्छन् । सुटिङ सकाएर जाँदा सुटिङकै लुगामा पनि ससुराली पुगेका छन् ।

सुटिङ होस् या अन्य कुनै कार्यक्रममा लागि नयाँ ठाउँ पुग्दा दर्शकबाट घेरिएर हैरान हुन्छन् । तर, ससुराली गाउँका छिमेकीले आजसम्म त्यसरी घेरेका छैनन् ।
‘ससुरालीमा आनन्दले टिभी हेरेर बस्न पाइन्छ । कसैले डिस्टर्व गर्दैन ।’ उनको बिहे गरेको धेरै भएको छैन । त्यसकारण ससुरालीसँग आर्थिक कारोबार गरेका छैनन् ।
‘अहिलेसम्म ससुरालीलाई सहयोग वा ससुरालीबाट सहयोग लिएको छैन,’ उनले भने । विवाहमा दाइजो के थियो भन्ने प्रश्नमा हाँस्दै जवाफ दिए, ‘ससुरा बाको छोरी ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment