Comments Add Comment

गोपाल पराजुलीलाई शीतलनिवासको आश, बालुवाटारको त्रास !

प्रधानमन्त्रीले दिए दुई विकल्पः राजीनामा दिनुस् कि बिदामा बस्नुस


सोमबार साँझ दुई तिहाई भन्दा बढी मतका साथ दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित विद्यादेवी भण्डारीले राष्ट्रपतिका हैसियतमा कामकाज गर्न अब पुनः पद तथा गोपनीयताको सपथ लिनुपर्छ । तर, जोबाट सपथग्रहण गर्नुपर्ने हो, त्यही व्यक्ति नै विवादमा परेपछि शीतलनिवासमाथि नैतिक संकट आएको छ ।

विद्या भण्डारी राष्ट्रपति निर्वाचित हुनुअघि नै प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले समय मागेर आइतबार शीतलनिवासमा भेट गरेका थिए । त्यो भेटमा राष्ट्रपतिले उनलाई के सुझाव दिइन् भन्ने कुरा शीतलनिवास स्रोतले खुलाउन चाहेको छैन । राष्ट्रपति र प्रधानन्यायाधीशबीच भेट भएको कुरा औपचारिक रुपमा राष्ट्रपतिको सचिवालयले बताएको छैन ।

स्रोतका अनुसार शीतलनिवास पुगेर पराजुलीले बिदा बस्नुपर्ने हो भने आफू विदामा बस्न तयार रहेको बताएका थिए । तर, राष्ट्रपतिले विभिन्न भूमिका बाँध्दै बिदा बस्नु नपर्ने बताएको पराजुलीनिकट स्रोतको दाबी छ ।

राष्ट्रपति भण्डारीले न्यायाधीश चोलेन्द्र शमसेर जबराले यो घडीमा आएर इजलास बहिस्कार गर्नुको कारणबारे चासो राखेको स्रोतले जनाएको छ ।

राष्ट्रपतिलाई भेटेलगत्तै पराजुलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न खोजेका थिए । उनले ओलीका स्वकीय सचिव राजेश बज्राचार्यमार्फत पटक-पटक आग्रह गरेपछि मंगलबार भेटको समय मिलाइएको स्रोतको दाबी छ ।

प्रधानमन्त्री ओली र प्रचण्ड दुवैले प्रधानन्यायाधीशलाई भेटेर अदालतको पछिल्लो बेथितीका बारेमा चासो राख्न चाहेको कुरा बाहिर आइसकेको थियो ।

प्रधानमन्त्री र प्रधान न्यायाधीशबीच भेट भएको कुरा भने एमाले नेता तथा पूर्वसभामुख सुवास नेम्वाङले पनि स्वीकार गरेका छन् । नेम्वाङका अनुसार प्रधानमन्त्रीले सर्वोच्च अदालतको पछिल्लो स्थितिप्रति गम्भीर चिन्ता र सरोकार व्यक्त गरेका छन् ।

तर, भेटबारे नेम्वाङले थप केही बताउन चाहेनन् ।

महाअभियोगको हल्ला

सोमबार साँझ एकाएक महाअभियोगको हल्ला चलेपछि हामीले प्रधानमन्त्रीका एक निकट सहयोगीलाई सोध्यौं- अब राष्ट्रपतिले गोपाल पराजुलीबाटै सपथग्रहण गर्नुपर्ने भयो होइन ? यसको कुनै अरु विकल्प खोजिएको छ ?

जवाफमा ती निकट सहयोगीले भने- राष्ट्रपतिले संविधानबमोजिम प्रधान्यायाधीशबाट सपथग्रहण गर्ने हो । गोपाल पराजुलीले राजीनामा दिएमा वा विदामा बसेमा राम्रो हुन्छ । तर, अरु विकल्प त केही छैन ।

हामीले फेरि पनि उनलाई सोध्यौं- राजीनामा पहिलो विकल्प, विदामा बस्ने दोस्रो विकल्प भएजस्तै महाअभियोग लगाउने तेस्रो विकल्प पनि त छ नि । हिजो सुशीला कार्कीलाई पनि त अवकाशभन्दा ३५ दिनअघि देउवा र प्रचण्डले महाअभियोग लगाएकै होइनन् र ?

हाम्रो यो प्रश्नमा एमालेका ती प्रभावशाली नेताले भने- त्यो विकल्पमा हामीले सोचेका छैनौं । यस्तो आँट कांग्रेसको मात्र हुन्छ, हामी अघिल्लो दुई विकल्प नै गोपाल पराजुलीले रोज्छन् भन्नेमा विश्वस्त छौं ।

त्यसपछि हामीले गोपाल पराजुलीनिकट एक न्यायाधीशलाई प्रधानन्यायाधीशको मुड कस्तो छ भनेर सोध्यौं । उनका अनुसार राष्ट्रपतिलाई भेटेपछि पराजुलीले केही राहत महसुस गरेका छन् ।
तर, प्रधानमन्त्री र एमालेका सुवास नेम्वाङहरु उनको राजीनामा वा विदाको निर्णयको पर्खाइमा छन् ।

तर, प्रधानन्यायाधीश पराजुली भने कम्तिमा एकसाता अझै सर्वोच्चमा इजलास चलाउन र त्यसपछि मात्र विदामा बस्न चाहन्छन् ।

न्यायिक मुहान धमिल्याउने अनुहार चिनौं

[sam_list] सोमबार नेपालको न्यायिक इतिहासमै सम्भवतः पहिलो पटक न्यायाधीशले प्रधान न्यायाधीशको योग्यता र बैधतामाथि प्रश्न उठाउँदै इजलास बहिस्कार गरे । बंगलादेशी विमान दुर्घटनाको कारण न्यायपालिकाको ‘दुर्घटना’ ओझेलमा परे पनि मंगलबार यसले अझ ठूलो आकार लिइसकेको थियो ।

मंगलबार गोपाल पराजुलीपछि सर्वोच्च अदालतको प्रधान न्यायाधीशको रोलक्रममा रहेका सबै न्यायधीशहरुले इजलास बहिस्कार गरे । न्यायालयमा यो भन्दा बेइज्जतीपूर्ण घटना सायद यसअघि कहिल्यै भएको थिएन । अब दिल्लीमा जस्तै न्यायाधीशहरुले सामुहिक पत्रकार सम्मेलन गर्नमात्र बाँकी छ ।

सर्वोच्च अदालतका न्यायाधीशहरु स्पष्ट रुपमा दुई कित्तामा विभाजित भएका छन् भने नेपाल बार एशोसिएसनसमेत विभाजित भएको छ । यस्तो लज्जास्पद अवस्थाबाट न्यायपालिकालाई जोगाउन गोपाल पराजु्लीले विवेकसम्मत निर्णय लेलान् ? सबैको नजर उनीतिरै छ ।

सुशीला कार्कीलाई महाअभियोग लगाएको केही घण्टा नबित्दै रातारात प्रधानन्यायाधीशको कुर्सीमा माला लगाएर बस्न पुगेका पराजुलीबाट विवेकसम्मत निर्णयको अपेक्षा गर्नु हतारो हुनसक्छ । हुन त राजनीतिक भागबण्डाका आधारमा न्यायाधीश नियुक्त गरेपछि अदालत यो अवस्थामा पुग्नुनै थियो भन्ने भावनात्मक तर्क गर्न सकिएला ।

तर नेपालको सर्वोच्च न्यायालय यो हबिगतमा पुग्नुको मूल परिघटना सुशीला कार्कीमाथिको महाअभियोग नै हो । सुशीलामाथि प्रतिशोधी भावनाबाट लगाइएको महाअभियोगका मुख्य अभियोजक बनेका शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र तत्कालिन महान्यायाधिवक्ता रमण श्रेष्ठ हुन् । गोपाल पराजुली त मुहान धमिलो भइसकेपछि उत्पन्न भएको भंगालोमात्र हुन् ।

शेरबहादुर देउवाले आफ्नो कर्मको सजाय जनताबाट भोगिसकेका छन् । महाअभियोग र आइजिपी प्रकरणमा पुष्पकमल दाहाल प्रधानमन्त्री भए पनि यी दुवै घटनाको दोषी दुनियाँले देउवालाई देखेको थियो, जसका कारण दाहालले ओलीसँगको सहकार्यसँगै यो अभिशापबाट मुक्ति पाए । तर न्यायपालिका सिध्याउने खेलका मुख्यपात्र रमण श्रेष्ठ अझै पनि मौका कुरेर बसेका छन्, सर्वोच्चको गेटमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
मात्रिका पाैडेल

समसामयिक राजनीतिक बिषयमा कलम चलाउने पाैडेल झन्डै दुर्इ दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनी अनलाइनखबर डटकमका डेपुटी एडिटर हुन् ।

ट्रेन्डिङ

Advertisment