Comments Add Comment

ज्येष्ठ नागरिकः समयको मुहार, मुहारको समय

“बाबु ! नगरपालिकाले भनेको गाडीवालाले मान्छन् कि मान्दैनन् ? अहिल्यै भन्दे बा, मान्दैनन् भने बिजेत नगरूँ उमेरको भनेर नि !” उमेरले असी हाराहारीकी काकीले वराह नगरपालिकाले दिएको ज्येष्ठ नागरिकको परिचयपत्र मलाई देखाउँदै भन्नुभयो । पथलैयासम्मको यात्राका लागि हिँड्नुभएकी काकीले आजसम्म कार्ड हेरेर कसैले छुट र सिट नदिएको दुखेसो पोख्नुभयो ।

“लोकल यात्रामा हैन रे यो कार्ड त टाढाको यात्रामा छुटका लागि मात्र रे नि, हो र?” काकी-आमाका कुराले सरकारका तीन तरेली र नागरिकहरूका अपमान र हीनताबोधले भिजेका परेली आए आँखामा । ‘ज्येष्ठ नागरिक परिचयपत्र’ हातमा बोकेर म भानुचौक पुगेँ एकाबिहानै असी वर्षे उमेर आसपासका आमा र काकीका झोलासमेत हातमा झुन्डयाएर । आज सरकारको परीक्षण गर्ने इरादाले म निक्कै उत्सुक छु । ओली काकाले सदनबाट विश्वासको मत लिएकै भोलिपल्ट बिहान हो आज ०७४ फागुनको २८ ।

“लामो दूरीमा त सकिँदैन सर !” कार्ड हेर्दै नहेरी काउन्टरबाट ज्येष्ठ नागरिकका अधिकारमाथि अविश्वासको प्रस्ताव आयो, जुन अपेक्षित

नै थियो । राज्यले दिएको सम्मानका बारेमा सम्झाउने मेरो प्रयत्न प्रतिशत कमाइका जागिरे युवाको हातको चुरोटे धुवाँसँगै उड्यो । अन्तिम प्रयत्नस्वरूप भनें मैले, “दिनुस् वा नदिनुस् तपाइँको कुरा । म लागेको भाडा आमाहरूका तर्फबाट तिरुँला । तर, प्रशासनमा यो कुराको सूचना अवश्य दिनेछु ।” मेरो नरम आक्रोशको आँशिक सुनुवाइ भयो । प्रतिव्यक्ति ६७५ लाग्ने ठाउँमा ४५० मात्र लिने बताए साथीले । माइन्ड नगरिदिनु रे मैले, उनको राज्यमाथिको भय बुझें यसलाई । आमाहरूलाई बसमा राखी बिदा गरेर म राज्य र नागरिक अधिकारका बारे चिन्तित हुँदै फर्किंएँ । अझ ज्येष्ठ नागरिकहरूप्रतिको राज्यको दायित्व र यातायात, बैङ्क, सरकारी र निजी अस्पताल र कार्यालयहरूको मुजा परेका मुहारमाथिको अपमान र उपेक्षाको बादलले मनमा डेरा जमायो । एकाध वर्ष अघिको लेखोटलाई फेरि दोहोर्‍याएर पढ्न थालें ।

… … …

“के भन्नु र नानी सप्पै श्रीसम्पत्ति छोराकै नाममा गरिदिएँ, अहिले स्वास्नीको कुरामा लागेर हामी बूढा बा-आमालाई पार्टीको बास गराइदियो नि पापीले ।”

“खसम अकालैमा जानुभो । हातपाखुरा लागुन्जेल घरहुनी काम अरियो, अहिले दाँत, आँत बसे’सि खान पनि नदिई आफ्नै घरबाट निकालेर पो मरेे ।”

“मेरा साथाँ ९ तोला सुन छउन्जेल हजुरआमा के खाने ? कता दुख्यो ? सोध्दै आउँथे, माया गरेको जस्तो लाग्थ्यो । सुन सक्किए’सि ता म बूढी बोक्सी रे । यी गए साता नाटकै गरेर लघारे, खै कहाँ जाम् ?”

“यो लास त त्यही बूढो मान्छेको हो, जो छोरा नातिले पिटेर घरबाट निकालेको भनेर डाको छोड्दै रुन्थे हामीसँग ।”
… … …

एउटा साँझ टेलिभिजनको पर्दामा वृद्धा विधवा आमा र हामी छोरा-बुहारीहरू साना नानीहरूसँगै बसेर पूर्वोक्त सम्वादयुक्त दृश्यहरू हेर्दै थियौं । सधैंजसो वृद्धाश्रममा भजनकीर्तन गर्दै रमाउँदै गरेका बूढाबुढीहरूको अन्तर्वाता मात्र हेर्दै आउनुभएकी हाम्री आमाले गल्ली, बजार र थोत्रा चौतारीमा भोकभोकै आँसु झार्दै बोल्ने आफूजस्तै अनुहारहरूका कुरा सुनेर र भाव पढेर खै कस्तो बिम्ब बनाउनुभो । तर, मैले टेलिभिजनको पर्दाबाट आँखा सारेर जब आफ्नै बूढी आमाको आकृति पढेँ त्यहाँ केही विषाद, केही पूर्वस्मृति र केही आक्रोश प्रष्टै देखिन्थ्यो । सानी नातिनी अनुज्ञाले पानीको बोत्तल दिई । घटाघट आधा बोतल पानी पिएर आमा उठ्नुभो, छतसम्म पुगेर फेरि हामीसँगै आएर बस्नुभो । यतिबेलासम्ममा सानीले रिमोट थिचिसकेकी रहिछ, पर्दामा त सबैका पि्रय कलाकार अमिताभ बच्चन बोल्दै रहेछन् -बूढे लोग सन्ततियों का शीतल वर्तमान और सुन्दर भविष्यका आधार हैँ । हम सब अपनों के लिए कन्धों और सरों के बलसे जीतेँ है ।

सबै हिन्दी चलचित्र निषेध गर्ने कतिपय उट्पट्याङ दल र तिनका नेताको गलाको टाइ, चिटिक्कको सुट अनि बेलायती बेल्ट र जुत्ता सम्झेर मैले अमिताभ अभिनीत बागवान चलचित्रको कथा सम्झें । राम्रा कुरा जताबाट, जुनसुकै भूगोल, भाषा, संस्कृति, जाति र राष्ट्रबाट सिके पनि हुन्छ भन्ने मथिङ्गलमा नपसुन्जेल हामी सङ्कीर्ण कुवाबाट बाहिर निस्कन्नौं कि, मनमा कुरा खेले ।

११ वर्षअघि विधवा हुनुभएकी मेरी आमाले बुझेको एकल भत्ता हामीले मास्ने गरेका छैनौं । सञ्चो भएन भन्नुहुँदा पहिले उहाँकै इच्छा अनुसार बूढी बजुकहाँ पुर्‍याउँछौं अनि मात्र बी.पी. प्रतिष्ठान । हामीलाई थाहा छ ‘लागो’ मन्साउनु भनेको वा बूढी बजुकहाँ पुर्‍याउँनु भनेको एउटा गतिलो मनोविज्ञानी उपचार हो । प्रेसरको गोली सक्कियो कि भनेर सोध्छिन् उहाँकी बुहारी वेणु । कान्छो भाइ नीलम पनि चर्को, अमिलो र धेरै चिल्लो खाएकोमा आमासँग नराम्ररी रिसाएको छ धेरै पटक । झापा होस् कि चतरा, डुल्न जाने भन्नासाथ बाटाखर्चको जोहो गरिदिने गरेका छौ । म ओछ्यानमा ढल्किएर चिन्तामग्न थिएँ । ‘हैन आज टी.भी.मा बूढाबुढीका बेहालका कुरा हेरेर र सुनेर आमा किन रुनु भो ? के हामीले पनि त्यसै गरी चित्त दुखाएका छौ त ?’

“हैन कि, आफूजस्तै मान्छेका दुःखेसाहरूले भावुक बनाएको होला नि ।” सङ्गगिी वेणुको उत्तरले म आश्वस्त भएँ र सोचेँ उहाँले आफ्नै बूढी आमालाई पो सम्भिmनुभयो कि साँच्चै ता । बिजोक भएका आफूजस्ता कैयन बूढाबुढीको तन मनका आँसुभरि कथा सुनेर आफ्ना छोराछोरीले आफूलाई प्रेम, इज्जत, रखवारी गरीगरी साथै राखेको र बितेका दिनदेखि आजसम्मका कुरा सम्झेर पनि त आँसु र्झन सक्छन् । मैले आमाप्रतिको हाम्रो दायित्वको हल्का, मीठो र स्मरणीय सूत्रलाई अझ सफा र दह्रो बनाउने प्रेरणा त्यो बेलुकी लिन पाएँ ।

… … …

“तँ मेरो बाबु नै होइनस् गधा ! नत्र, छोरालाई यसरी आफ्नै बाबुले घर छाड् निस्की भन्छ ?””होइन बाबु, तँलाई मैले त्यसो भन्या कहाँ हो र ? आमा चकारेर गाली नगर् न, तेरी मरेकी आमाको आत्मा नदुखा । म बूढालाई नरुवा न ।”

“बुझेँ, मैले बुझेँ । तँ सुँगुरको बच्चालाई, साले गधा भाते, लोमुते बूढा, तेरा बाँकी दाँत पनि अहिले गन्दिन्छु अनि देख्लास् ।”
झकाउँन लागेका मेरा आँखा खुले । झ्यालबाट छिमेकी भाइको अश्लील बोली र गालीको ३० वर्षे जोस जबर्जस्ती छिर्दै थियो । ऊ सात वर्षअघि आमा मरेका सत्तरीवर्षे बाबुलाई मुखमा आएजत्ति अश्लील गाली मात्र गर्दै थिएन, बरु टोलबासीलाई नै लाजमर्नु पारिरहेको थियो ।
“सुन्यौ, यो के भा हो ?”

“आ, हाम्रो समाजको सक्कली स्वरूप देखिएको हो सायद ।”

“हैन बूढा विधुर बाबुसँग कस्तो बोल्न सक्या ए ?”

“उसले जे जान्दछ, रौसीले जे भनाउँछ त्यही बोल्ने हो । भोलि विहान घामसँगै लज्जे झार हुन्छ । औंसी पूणिर्मा लाग्ने त सम्पत्तिमाथिको मोहले हो । सबै सम्पत्ति जाँडपानीमा उडाउँछ भनेर बूढाले उसको नाममा नगरिदिँदाको उधुम हो यो । जब नामसारी गरिदिन्छन् नि, तब त्यो घरमा न झगडा हुन्छ न ता बूढा नै रहन्छन् । त्यही हो त्यसको तारो सम्पत्ति, यत्ति बुझे काफी ।”

सङ्गिनी वेणुको यथार्थ कुराले मेरो चित्त बुझ्यो । सायद यस्ता झगडा यो साँझ हाम्रा मेचीकालीकै स्वभाव भैरहेका होलान् । जहाँ निरक्षर, निष्पाप, ज्येष्ठ व्यक्तित्वहरू प्रेरणाका स्रोत र इतिहासका ज्यूँदा धरोहर भएर रहेका छन्, त्यहाँ हामी नयाँहरूको श्रद्धा, सम्मान र मायाका ठाउँमा ईष्र्या, घृणा र उपेक्षाका वचन-वाण तथा व्यावहारिक प्रहारहरू मात्र छन् भने हामीले कस्तो संस्कृति र सभ्यता बनाएछौं खै, स्वार्थी एकलकाँटे र पैसामुखी ।

आमा-बाबा, बाजे-बोजु, काका-काकी, फुपू फुपाजू, सासु-ससुरा जुनसुकै साइनो र सम्बोधनका पाको उमेरका मान्छे -जसलाई टाउको गाला, दाँत र आँतले ज्येष्ठताको पहिचान दिएको हुन्छ ती सबै-सबै यो सामाजका आदर्श हुन् र हुन् हाम्रा जीवन-कलाका प्रेरक व्यक्तित्वहरू ।

बढ्दो बोक्रे स्वाँग, विलासी जीवनपद्धति र आडम्वरी शालीनताले आजका पुस्ता विज्ञान र प्रविधिको पनि बाहिरी प्रभावमा मात्र परेको छ । खासगरी सूचना प्रतिधिका उच्चतम उपलब्धिको बढ्दो उपयोग हाम्रोजस्तो विकासशील समाजमा संक्रामक बन्न पुगेको छ । इमेल, इन्टरनेट र फेसबुक जस्ता तमाम बिजुलीका सन्तानहरूलाई मेरो पुस्ता र मपछिको नानी-पुस्ताले बा, आमा, बाजे, बज्यैलाई भन्दा सयौं गुना माया गर्छ र तिनकै साथमा मर्नुपरे पनि yes oky !

पैसाको बग्दो प्रयोग, छाती आँखा र मुटुको क्रमिक विनाश, एकाकी जीवन शैलीको उदय त बाहिरी प्रभाव भए । भित्री प्रभाव भनिनसक्नुको छ पाँचकक्षामा पढ्ने साने र बाटुली एकैसाथ मोबाइलमा नीला कृत्ययुक्त चित्रहरू हेर्छन् त्यहीं चुर्लुम्म डुब्छन् भने ११ कटेका किशोर-किशोरीको मन के भन्ला ? यो मोबाइल संस्कृतिले पनि पुरानो पुस्तालाई नयाँबाट टाढा बनाउँदै लगेको हो त ?

समाजले लिने प्रभावकै कुरा हो । निषेध गर्नुको विष्फोेटन परिणाम झन भयावह हुनेछ । सचेत उपयोग गर्ने चेतना दिनु अपरिहार्य छ । राज्यले केही गर्नै पर्दछ -ज्यूँदा प्रेरणा-मूर्तिहरू उपेक्षित हुने अनि भर्चूवल दुनियाँमा एकाकी विचरणको सङ्कीर्ण व्यक्तिमुखी संस्कृति फुल्दै जाने हो भने हामीले आत्मसात् गरेका सामाजिक सांस्कृतिक मूल्य र मान्यताहरू चाँडै नै कथा हुनेछन् अनि साठी वर्षसम्म एकसाथ वैवाहिक जीवन बिताएका दम्पतीहरू भनेर प्रशंसित हाम्रा गाउँले बाआमाका रोचक विषयका संस्मरणहरू लेखिएलान् । छोरा, नातिहरू २-३ वर्षैमा २-४ पटक छोडपत्र गर्लान् । अर्काका पेट बोकेका बुहारीहरू छोरालाई सताउलान् । छोराहरू एउटीसँग फेसबुके प्रेम गर्लान् र घरकी बुहारीलाई सौता देलान्, अनि प्रत्येक महिना डिभोर्स र म्यारिजका निवेदन बोकेर हैरान होलान् सन्तानहरू ।

म जन्मिदा मेरा बाआमाको बिवाह भएकै थिएन भन्लान् नातिहरूले । सरोगेट मदर बन्लान् गाउँका गाउँ । टेस्ट्युब बेबीको बाजे भएर म पुराना दिन सम्झूँला । जन्मदै एचआइभी संक्रमित नाति-नातिना खेलाउन दिङ्मिङ् मान्लान् नेताहरू । गर्लफ्रेन्ड र ब्वाइफ्रेन्डबाहेक अरू कोहीसँग युवाहरूको साइनो सम्बन्धै नरहला । लिभिङ टुगेदरको संस्कृतिमा मेरी आमाले वेणु र मेरो बिवाह पछि चतुर्थीमा शिला पूजा गरेर लोहोरो र पाथी पिठोको मनमन खेल हेरेजस्तो हामीले आफ्ना पठित र सभ्य सन्तानको चतुर्थी गर्नै नपर्ला ।

साँच्चै ता हामी बूढाबूढी हुँदा हाम्रा छोरानातिले के गर्लान् हँ । प्लास्टिकका चामल, रातोमाटोको पिठो, काठको ढूटो, विषाक्त फलफूल र तरकारी अनि अपेय पानी र गन्जीको दूध खाएर आमाले जस्तै ६५ पुग्ने तपाइँ-हाम्रो जीवन यात्राको योजना त्यतिन्जेल ज्यूँदै त रहला साइँला ?

… … …

हामी कर्मको फल मरेपछि मात्रै पाइन्छ भन्ने पाठ घोकाइएका नागरिक हौं । अब उल्टो पढौं -कर्मको फल जीवनछँदै पाइन्छ । ज्येष्ठ नागरिकहरूलाई स्नेह र सद्भावयुक्त न्यानो माया दिनु हाम्रो कर्तव्य । राज्यका सञ्चालकहरूको त क्यान्सर नै पहिचान बन्न लागेको छ । विचार, छाती र टाउकाको । अपेक्षा त गरौं सुविधायुक्त बृद्धाश्रम निर्माण, बृद्ध आवास योजना, पर्याप्त भत्ता, निःशुल्क स्वास्थ्य सेवा, आराम गृह, मनोरञ्जन गृह, सुरक्षा र सम्मानको कडा कानुनी प्रावधान, पुस्तकालय प्रविधिको निःशुल्क सेवा, निःशुल्क यात्राको व्यवस्था । तीन तहका सरकारहरूलाई यो दायित्वको बोध हुनै पर्दछ । ज्येष्ठ नागरिकका हितका कुरा गायत्री मन्त्रजस्तै जप्ने यस अघिका सरकारहरू जस्ाले एकवर्षसम्म आन्दोलन गरिरहेका ज्येष्ठ नागरिकहरूका उचित मागको सुनुवाइ गर्नुभन्दा मर्दै सक्किंदै दुईवर्षमा सबै समाधान भइसक्छ भन्ने योजना बनाएको पनि देखियो । जेहोस् यसनिम्ति दलहरूको ओठे भक्ति हैन ज्येष्ठ नागरिकहरू प्रतिको उत्तरदायी भरोसा पनि आवश्यक छ । साठी कटेकालाई कम्युनिस्टहरूले गोली ठोक्छन् भन्ने बकवासको उत्तरमा प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन-नेतृत्वको सरकारले बृद्धभत्ताको सम्मानपूर्ण परम्परा प्रारम्भ गरेको सम्झनु राम्रै हुन्छ । उक्त कार्यक्रमको निरन्तरताले ‘राम्रा कुरा सबैका लिनू’ भन्ने पाकाका कुरा नै सर्वोत्तम उपदेश भएको लाग्छ ।

म अहिले शतकनिकट पुगेका आदरणीय वरिष्ठ स्रष्टा माधव घिमिरे र सत्यमोहन श्रेष्ठलाई आँखामा बोकेर गर्व गरिरहेछु । उमेरले ८५ को छेउछाउ पुगिसकेर पनि क्रियाशील जीवनसँगेै पूर्वीय वाङ्मयको संस्थागत सेवामा समर्पित खुदुनाबारीका मेरा काका केदारनाथ खतिवडालाई सम्भिmरहेको छु । जनसाहित्यमा अहोरात्र निर्लिप्त मेरा प्रेरक अर्का ७६ वर्षे काका उपेन्द्र पागललाई झल्लली देख्दैछु र आँखामा हाँसिरहेछन् असीवर्षमा पनि क्रियाशील कलमजीवी पूर्वका मोतीराम चूडामणि रेग्मी र अरू गुरुहरू । यो लहरमा आनन्ददेव, बी.ए. कृष्ण, वेणु आचार्यजस्ता सयौं सक्रिय पाका अनुहारहरू मेराअघि मुस्कुराइरहेछन् । अनि अर्कातर्फ आउँदैछन् उपेक्षित बन्न लागेका साहना प्रधान, धर्मराज थापाकै स्मारक मुहारका ८४ कटेका आफ्नै कान्छा काकाजस्ता समग्र ज्येष्ठ मुहारहरू आँखामा । कताकता चित्त बुझाउने अवस्था छैन अहिलेको । थुप्रै ज्येष्ठ नागरिकहरू घर, परिवार र राज्यबाट बेखवर-बेखवर मृत्यु पर्खिरहेका छन् । साँच्चै ता तपाइँजस्तै तिनको अबको बाँकी छोटो जिन्दगीलाई पनि नदुख्ने बनाउँन पटक्कै सकिन्न र प्रधानमन्त्रीज्यू ? मन दुखाएर चुरोट छोडाउनु पर्दैन, बरु तिनलाई डुल्ने, घुम्ने, मनोरञ्जन गर्ने, तीर्थाटन गर्ने, सुरक्षित हुने, खुसी हुने उपायहरू राज्यले खोजिदिए खास्सा । हाम्रो बाटो कुन हो भोलिको ? हामीले बोकेका पाखुरा गल्दैनन् ? यसरी सोचिदिए त सबै बामदेवहरू बुद्ध हुन्थे कि !

अतः अवको समय गल्तीबाट सिक्ने मौका बनोस् हाम्रालागि । सम्मानको संस्कृति निर्माण गर्ने बनोस् हाम्रो उद्देश्य । पढेर जान्ने भएका हामीभन्दा परेर जान्ने भएका नौमुजे आकृति कता हो कता विशिष्ट छन् । बा-आमा, बाजे-बज्यैहरू व्यक्ति होइन संस्था बनून् श्रद्धा, मर्यादा र प्रेरणाका । नत्र उही तीनपुस्ते रोचक तर मनपीडक कथा दोहोरिइरहने छ, ‘बाबा बिन्ती छ, हजुरबालाई पुलबाट खोलामा फाल्दा डोको चाहिँ नफाल्नुहोला है, मलाई चाहिन्छ क्या, पछि तपाइँलाई यसैगरी फाल्नका लागि ।’

ए अहिलेका बाबाहरू, तपाइँका छेउको सानो छोरो र उसका हातको मोबाइलतिर हेर्नुस् अनि अचेत भएका तपाइँका बिरामी बूढा बा, डोको र पुलदेखि तल बौलाउँदै उर्लेकोे साउने खोलातिर हेरेर छाती छामेर भन्नुस् त -तपाइँको कसम, हामीले ज्येष्ठ नागरिकहरूका लागि कस्तो योजना बनाउने होला हँ ? नयाँ सम्विधानले सङ्केत गरेको ज्येष्ठ नागरिक आयोग कुर्सी र भत्ताको कहिल्यै नभरिने डोको हुने छैन भनेर कसम खाने कसले, ओली, देउवा र दाहाल काकाहरू, सुन्नुभो ? ज्येष्ठ नागरिक मन्त्रालयको अपरिहार्यता छ भनेर अझै भन्नुपर्छ र !
…. …. …

“बाबु ! खतिवडा मन्त्रीले बुढाबुढीको भत्तो कटाउने रे? लु सरकारलाई सोधिहाल् त लाइनमा लागिलागि भोट देर बनाको सरकार भत्तो काट्न हो र ? ”

अर्थमन्त्रीले भनेको रे भन्ने ससानो भुईँहल्ला बारा जिल्लासम्म पनि पुगेछ । सदनमा महरा सरहरूले मेलो थाल्नुभन्दा अगाडि नै काकीले फोनमै नियमापत्ती गर्नुभो आज दिउँसो । ए सरकार ! अब त काकीहरूका कुरा सुने है ।

(प्राध्यापक खतिवडा धरान उपमहानगरपालिकाका सल्लाहकार हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment