Comments Add Comment

‘प्रधानन्यायाधीशको पदावधि सडक, सञ्चार र राजनीतिले निरुपण गर्ने होइन’


२ चैत, काठमाडौं । पूर्वन्यायाधीशहरुले प्रधानन्यायाधीशको पदावधि विवाद सडक, सञ्चार र राजनीतिबाट निरुपण हुने विषय नभएको बताएका छन् ।

हालै देखिएको प्रधानन्यायाधीशको पदावधि विवादमा मुख खोल्दै पूर्वन्यायाधीश फोरमले यस्ता विवाद न्यायिक मूल्य मान्यताको आधारमा निरुपण गर्नुपर्ने धारणा राखेको छ ।

महासचिव शम्भुबहादुर खड्काले विज्ञप्ति जारी भनेका छन् ‘प्रधानन्यायाधीश वा न्यायाधीशको पदावधिको विवाद सडक, सञ्चार र राजनीतिबाट निरुपण गर्ने विषय नभई संवैधानिक र कानूनी व्यवस्था तथा न्यायिक मूल्य मान्यताको आधारमा मात्र निरुपण हुने भएकोले सोको विपरीत गर्नु गराउनु विधिसम्मत नहुने हाम्रो मान्यता रहेको छ ।’

न्यायकर्मीले स्थापित मूल्य, मान्यता एवं आचारसंहिताभित्र रहेर काम गर्दासम्म न्यायपालिकाप्रतिको जनआस्था र न्यायिक स्वतन्त्रता प्रवर्द्धन हुने भन्दै विज्ञप्तिमा न्यायपालिकाको छवि सुधार्न न्यायाधीशहरुले आचारसंहिताको अक्षरशः पालना गर्नु नै उपयुक्त विकल्प भएको उल्लेख गरिएको छ ।

पूर्वन्यायाधीश फोरमले न्यायिक काम कारवाहीमा बेसरोकार व्यक्ति र सञ्चारमाध्यमको अवाञ्छित हस्तक्षेप भएको दावीसमेत गरेको छ । उसले यस्ता हस्तक्षेप आकषिर्त हुन नदिन र विवादमा आउने सबै विषय संविधान र कानुनी प्रक्रियाद्वारा समाधान गर्नुपर्ने बताएको छ ।

पूर्वन्यायाधीश फोरमले भागवण्डामा न्यायाधीश नियुक्ति, न्यायपरिषद्को संरचनामा राजनीतिक प्रतिनिधित्वको बाहुल्यता र भागवण्डाको आधारमा न्यायाधीश नियुक्त गर्न प्रधानन्यायधीशसमेत समर्पित हुनुले न्यायालय आक्रान्त भएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment