
२ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो मन्त्रिपरिषद विस्तार गर्दा पनि मधेसकेन्दि्रत दलहरु समेटिएनन् । संघीय फोरमसँग मन्त्रालय भागवण्डासमेत मिलिसकेको छ । तर, राजपाका लागि भने ओली सरकारमा लगभग ढोका बन्द भएको छ ।
एमालेले अन्तिम घडीसम्म राजपालाई पनि सरकारमा ल्याउने प्रयास गरेको थियो । तर, सम्भव भएन ।
प्रधानमन्त्री केपी ओलीले एमाले र माओवादी केन्द्रबाट गरी ११ मन्त्री र ४ राज्यमन्त्री नियुक्त गरेका छन् । यससँगै मन्त्रिपरिषद् २२ सदस्यीय भएको छ । अब बढीमा तीन मन्त्री थप्न सकिन्छ । किनकि संविधानको धारा ७६ को उपधारा ९ अनुसार संघीय मन्त्रिपरिषद् प्रधानमन्त्रीसहित बढीमा २५ सदस्यीय हुने व्यवस्था छ ।
अब सहरी विकास र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मात्रै मन्त्रीविहीन छ । अहिले यी दुबै मन्त्रालय प्रधानमन्त्रीसँग छन् ।
सत्तारुढ दलका नेताहरुका अनुसार सहरी विकास र स्वास्थ्य मन्त्रालय फोरमलाई दिने सहमति भइसकेको छ । साथै एक राज्यमन्त्री पनि उसैले पाउने लगभग निश्चित छ ।
अब फोरमबाट दुई मन्त्री र एक राज्यमन्त्री थपिने हो भने २५ जनाको सीमा पूरा हुनेछ । अर्थात यथास्थितिमा राजपा सरकारमा सहभागी हुने बाटो बन्द भएको छ ।
अन्यथा अब राजपालाई पनि ल्याउने हो भने कि त फोरमलाई छाडेर राजपालाई सरकारमा ल्याउनुपर्यो, कि बहालमा रहेका कुनै मन्त्रीलाई हटाएर ठाउँ खाली गर्नुपर्यो । अर्को विकल्प, संविधान संशोधन गरेर मन्त्रीको संख्या थप्यो भनेमात्रै सम्भव छ ।
प्रतिक्रिया 4