Comments Add Comment

शुभमको बयान : मैले पिटेको होइन, पुलिसले मलाई कुट्यो

७ चैत, काठमाडौं । ड्यूटीमा खटिएका प्रहरीलाई गालीगलौज र कुटपिट गरेको आरोपमा शुभम बम शुक्रबार राति ठमेलबाट पक्राउ परे । उनी नेपाल प्रहरीका प्रदेश ४ प्रमुख एआईजी कमल सिंह बमका छोरा पनि हुन् ।

एआईजीका छोरा मुछिएको यो घटना सुरुमा प्रहरीले गुपचुप राखेको थियो तर, मंगलबार बाहिर आयो ।

तर, प्रहरीले गलत सूचना दिएको भन्दै बम परिवारले आपत्ति जनाएको छ । उनीहरुका अनुसार शुभमले प्रहरीमाथि कुटपिट होइन, प्रहरीले चाहिँ शुभमलाई कुटेका हुन् ।

शुभम स्वयंम् पनि अनलाइनखबरको कार्यालय आए र ठमेल घटनाबारे बेलिविस्तार लगाए । उनका अनुसार उक्त दिन उनी साथीहरुसँग ठमेल गएका थिए । मदिरा पनि पिएकै हुन् । तर, ट्याक्सी चालकसँग भाडाबारे विवाद हुँदा प्रहरीले नियन्त्रणमा मात्र लिएन, अनुहारमा बुटले हानेको उनले बताए ।

देब्रे आँखामुनि निलो दाग र ट्रम सेन्टरमा उपचार गराएको रिपोर्ट देखाउँदै उनले भने, ‘भाडा बढी भनेपछि भएको सामान्य डिस्कसमा प्रहरीले कुटपिट गर्‍यो ।’

बमकी आमा महिमाले भने मदिरा पिएको अवस्थामा पक्राउ गरेकोमा कुनै आपत्ति नभएको बताइन् । तर, विना कारण कुटपिट गर्न नपाइने उनले बताइन् । ‘यदि मदिरा दिएको भनेर पक्राउ गरेको मात्र थियो भने म प्रहरीलाई धन्यवाद दिन्थेँ र छोरालाई दुई झापड हान्थेँ’ उनले भनिन्, ‘तर, हिरासतमा लिएको बाबुलाई अनुहारमा चोट लाग्ने गरी पिट्न त पाइँदैन नि ।’

के भएको थियो ठमेलमा ? शुभमको बयान

बैंग्लोरको कलेज पढेको साथीहरु आएका थिए, त्यसैले शुक्रबार राति ९/१० बजेतिर हामी ठमेल गएका थियौं । हामी ९ जना थियौं । ठमेलमा हामीले खायौं । १२ बजेतिर घर जाउँ भन्दा एउटा साथी भेट भयो । उसले गाडी छ मेरो गाडीमा जाउँ भन्यो । तर, ९ जना त अट्दैन भनेर म ट्याक्सी खोज्न गएँ ।

सञ्चयकोष अगाडि भेटिएको ट्याक्सीले हजार/१५ सय भन्यो । आउँदा ४ सयमा आएको । जाँदा १४/१५ सय भनेपछि रिस उठ्यो । डिस्कस भइरहेको थियो ट्याक्सी चालकले पुलिसलाई भन्यो कि यसले जाँड खाएर मलाई किचकिच गरिरहेको छ, यिनीहरुलाई लिएर जानुस् ।

मैले पुलिसलाई भने यति धेरै पैसा लिँदैछ, हाम्रो पनि कुरा सुन्न पर्‍यो नि । तर, मलाई उल्टै ‘ए तँ रक्सी खाएर वादविवाद गर्छस्’ भन्यो । यसलाई गाडीमा हाल भन्दै धकेल्यो साथीहरु पछाडि थिए । सामर्थ्य र प्रज्ञानले हामीले झगडा गरेको छैन भन्दा यिनीहरुलाई गाडीमा हाल भन्यो ।

साथीको भोलिपल्ट ब्रतबन्ध थियो । त्यसैले मैले गाडीबाट निस्किएर भनेँ, दाई हामीहरु पनि आर्मी पुलिसको फेमेलीको मान्छेहरु हो । हामीलाई यस्तो नगरिदिनुस् । कुरा सुन्दिनुस् मात्रै भनेको थिए इन्स्पेक्टरले ‘यो धाक लगाउने केटा रे’छ । यसलाई पिटी हाल भन्यो । र, ४/५ जनाले गाडीमै पिटे । मैले एआईजीको छोरा हुँ भनेको छैन र प्रहरीले दाबी गरे जस्तो उनीहरुमाथि हातपात गरेको पनि होइन ।

एक जना पुलिसले बुटले अनुहारमा हान्यो, मेरो नाक भाँचियो । देब्रे कान अलिअलि सुन्न छाडेको छु । त्यसपछि साथीसहित मलाई गाडीमा हालेर प्रहरी चौकी लिएर गयो ।

त्यसबेला राति करिव सवा १ बजेको थियो होला । परिवारसँग सम्पर्क गर्नु पर्यो भनेर फोन नम्बर निकालेँ तर, यसको फोन छिन भनेर भन्यो । मैले बुबालाई फोन गरिसकेको थिएँ तर कुरा हुन पाएन । मैले फोन दिन नमानेपछि उनीहरुले मलाई प्रहरी चौकीमै पनि कुटपिट गरे ।

मेरो नाकबाट रगत आयो र मलाई हस्पिटल लगियो । त्यहीँ इस्पेक्टरले हस्पिटल लगेको हो तर, लग्यो केही गरेन । मैले एक्सरे गर्नुपर्छ भन्दा तिमीहरुसँग पैसा छैन भनेर फर्काएर लग्यो । कुन हस्पिटल भन्दा ओम भनेका थिए तर, मलाई ट्रमा सेन्टरमा लगेको रहेछ, जुन कुरा मैले भोलिपल्ट मात्र थाहा पाएँ ।

अस्पतालबाट फर्काएपछि मलाई जेलमा हाल्यो । दुई जना साथीलाई बाहिर राख्यो । त्यसपछि राति २ बजेतिर साथी स्वरुप तिमल्सिना आएछन् र उनले मलाई कुटपिट गरेको थाहा पाएपछि एआईजीको छोरा हो भनेका रहेछन् ।

त्यसपछि प्रहरीको टोन नै चेन्ज भयो । बम हो को हो भन्दै बोलायो र तिम्रो बुबा त यस्तो रहेछ भन्यो । मैले हो, सर बुबा एआईजी हुनुहुन्छ भनेँ । त्यसपछि तिमीलाई गाडीमा हाल्दा मुख ठोक्किएको रहेछ, अब के गर्छाैं भन्यो । साथीहरुलाई पठाइदिन लागेको तिमी पनि सँगै जाउ भनेर भन्यो ।

मैले जब सम्म गार्जेन आमाबुबा कोही आउनु हुन्न तबसम्म म यहाँबाट निस्किँदै निस्किन्न भनेपछि फेरि जेलमा राख्यो । छुटेका साथीहरु घर पुगेर घटना बताएपछि बिहानको साढे ३ मा ममी आउनुभयो । विहान ४ बजेतिर छुटेँ ।

आमाको बयान

प्रहरीले घटनापछि परिवारलाई खबर गरेको भनेको छ, त्यो झुटो हो । स्वरुपहरु आएपछि म त्यहाँ गए ।

प्रहरीले बस्नुस् मात्र भन्नुभयो । शुभम आएपछि उसले ‘मलाई पिट्यो मामु’ भन्यो । त्यसपछि मैले मेरो छोराले के गरेको थियो र कुट्नु भयो भनेँ । उहाँले हामी चाहिँ सर्च गर्न गएको थियौं, गल्तीले बाबुलाई समातेर ल्याइयो भन्यो ।

मैले थप प्रश्न गरेपछि त्यहाँ रहेका प्रहरीले ‘मलाई यो भन्दा धेरे बोल्ने अधिकारी छैन हजुर’ भन्यो । जसले बोल्ने हो उहाँलाई बोलाउनुस् भनेपछि इन्स्पेक्टर सा’ब आउनु भयो । इन्स्पेक्टरले तपाईको तपाईंको छोरा ठमेलमा गएको, रक्सी खाएको भन्यो ।

मैले, ठीक छ मेरो छोराले रक्सी खाएर तपाईंले थुन्नु भयो । म आउँथे, छोरालाई लिएर जान्थे । तपाईले ड्यूटी गर्दैहुनुहुन्छ भन्थे । तर, तपाईंले हिर्काउनु भएछ भनेँ । इन्स्पेक्टरले होइन, हिर्काएको होइन । गाडीमा चोट लागेछ भन्यो ।

शुभमले मलाई हिर्काउने उहाँ नै हो भन्दा बड्ता बोल्छस् । मुद्दा पनि हाल्दिन्छु भन्यो । ट्याक्सी चालकसँग विवाद भएको हो, खोइ त ड्राइभर भन्दा छाड्यौं भन्यो ।

डीएसपी आएपछि उहाँले ‘के भएको रहेछ, छानबिन गर्छु’ भन्नुभयो । जाँड खाएर समातेर ल्याएकोमा मेरो केही आपत्ति छैन तर, यसरी पिट्न पाइँदैन ।

छानबिन अन्तिम चरणमा

यो घटनाबारे प्रहरीले आन्तरिक रुपमा छानबिन गरिरहेको छ र छानबिन अन्तिम चरणमा पुगेको जनाएको छ ।

प्रहरीले छानबिन समितिले घटनास्थलमा खटिएका प्रहरी अधिकारीहरुसँग बयान लिइरहेको छ । यसबारे अनलाइनखबरको प्रश्नमा दरबारमार्ग बृत्तका प्रमुख डीएसपी दानबहादुर मल्लले भने ‘छानबिन प्रतिवेदनले जे भन्छ, त्यही गर्छौं ।’

यो पनि पढ्नुहोस्

एआईजीको छोराले ठमेलमा प्रहरी कुटे, आमाको रोहवरमा छुटेपछि उजुरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment