Comments Add Comment

सुदूरपश्चिमका हलियाः कागजमा मुक्त, व्यवहारमा अझै बन्धक

१४ चैत, बैतडी । दशरथचन्द नगरपालिका वडानम्बर ९ ग्वाल्लेक कन्घरका दानी भुल हलो जोत्न सक्ने भएदेखि नै साहुकोमा हलिया बसे । उनका हजुरबुबा र बुबा पनि हलिया थिए । उनका छोराले पनि हलो जोत्नु परेको छ ।

आजभन्दा २१ वर्ष पहिले उनले दुईजना साहुसँग एक लाख ४५ हजार रुपैया ऋण लिएका थिए । त्यो ऋण तिर्न नसकेकाले उनी र उनकी श्रीमतीले ब्याज वापत साहुको काम सित्तैमा गरिदिनु परेको छ । दुवै जनाले साहुको काम गर्नु परेकाले उनीहरु आफ्नो घरको काम गर्न भ्याउँदैनन् । उनीहरुले छोराछोरीलाईस्कूल पठाउन पनि सकेनन् ।

गरिब दलित परिवारले लिएको ऋणको ब्याज चुक्ता गर्न मालिकको खेतीपाति र घरको अन्य काम निःशुल्क गरिदिनु पर्ने हलिया प्रथालाईहलिया प्रथा भनिन्छ ।यो प्रथा नेपालको सुदूर पश्चिमका पहाडी जिल्लामा प्रचलित थियो ।

सरकारले २०६५ भदौ २१ गते हलियालाई मुक्त गर्ने घोषणा गरेको थियो । मुक्त हलियालाई सहयोग गर्न सरकारले उनीहरुको बर्गीकरण गरेको थियो । जिल्ला मालपोत कार्यालयका अनुसार, घर जग्गा केही पनि नभएकालाई क बर्ग, घर भएका तर जग्गा नभएकालाई ख बर्ग, जग्गा भएका तर नभएकालाई ग बर्गर् अनि घर जग्गा दुवै भएका तर घर मर्मत गर्न पर्नेलाइ घ बर्गमा बिभाजन गरिएको छ ।

सरकारले क वर्गकालाई जग्गा किन्न ३ लाख २५ हजार र घर बनाउन २ लाख, ख बर्गकालाई घर मर्मत गर्न १ लाख २५ हजार र सार्वजनिक जग्गामा बसेको भए त्यो उसैको नाममा दर्तागराउन पहिल पनि सरकारले पहल गर्ने र जग्गाका लागि १ लाख २५ हजार, ग बर्गकालाई घर मर्मत गर्न ३ लाख २५ हजार र घ बर्गकालाई घरमर्मतका लागि १ लाख २५ हजार रकम दिने प्रावधान रहेको जिल्ला मालपोत कार्यलयका नायव सुब्बा राजेन्द्र थापाले बताए ।

दानी भूल

सरकारले मुक्त हलियालाई आर्थिक सहयोग दिने घोषणा गरे पनि यो प्रकृया ज्यादै ढीलो छ । डेढ वर्ष अघि दानीले उनी मुक्त हलिया भएको परिचयपत्र त पाएका थिए । तरपरिचय पत्र बाहेक उनले केही पाएनन् । परिचयपत्र दिँदा पैसा बिस्तारै पाइन्छ भनेकाले उनी पैसाको बाटो हेर्दै बसेका छन् । आफु क श्रेणीमा पर्नुपर्ने भएपनि ख श्र्रेणीमा राखेको गुनासो उनले गरेका छन् ।

जिल्ला मालपोत कार्यालयका नायव सुब्बा राजेन्द्र थापाका अनुसार, मन्त्रालयबाट रकम आउने बित्तिकै परिचयपत्र भएका मुक्त हलियाको खातामा पैसा जम्मा गर्ने काम भइरहेको बताए । उनका अनुसार, परिचयपत्र पाइसकेका सबैका लागि एकै चोटि बजेट नआएकाले यो काम ढिलो भएको हो । आर्थिक बर्ष २०७२/७३ मा ४४ जना, ७३/७४ मा १ सय २१ जनाले यस्तो रकम पाएको उनले बताए । उनका अनुसार, चालु आर्थिक बर्षमा बाँकी हलियालाई सेवासुबिधा दिने कार्यक्रम छ ।

परिचयपत्र नपाएका हलियाले यस्तो सुविधा पाउँदैनन् । हलिया प्रथा अन्त्य गरेको घोषणा गरेपछि सरकारले अरु जिल्लाका साथै बैतडीका पनि हलियाको आंकडा लिएको थियो । बैतडी जिल्लाबाट ३ हजार १ सय ६० जना हलियाको विवरण शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा पठाइएको थियो । मन्त्रालयले बैतडीमा ४ हजार ४४४ जना हलिया भएको भनी विवरण जिल्लामा पठायो । त्यस विवरणमा दोहोरिएका नामहटाउँदा २ हजार २२ जना हलिया कायम भएका थिए ।

रेकर्डमा भएकामध्ये १ हजार ५६१ जनाले मुक्त हलिया परिचयपत्र पाएका छन् । दलित अधिकारकर्मि सरस्वती नेपालीका अनुसार बैतडीमा करिब २ हजार जना मुक्त हलियाले परिचयपत्र पाएका छैनन् । नाम संकलन गरेर काठमाडौँ लैजाने क्रममा नामावली गाडीबाट हराएकाले यो समस्या भएको उनले बताइन् ।

दशरथचन्द नगरपालिका ९ कन्घरका रमेस भुल भन्छन्, वास्तबिक हलियाले परिचयपत्र पाएका छैनन् । जो हलिया थिएनन् उनीहरुले भने परिचयपत्र र सरकारी सुबिधा लिइरहेका छन् । उनीहरुले सरकारी अधिकारीसँगको चिनजानका आधारमा नक्कली मालिक बनाइ हलिया बनेर परिचयपत्र लिएको तर आफु जस्ता पीडितको कुरा कसैले सुन्दैन । सरकारले गाउँमै आएर अनुगमन गर्नुपर्छ ।

बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी दीपककुमार आचार्यका अनुसारपरिचयपत्र पाइसकेका हलियाले सेवा सुबिधा नपाएको वा आधा रकम मात्रै पाएको गुनासो आएमा जिल्ला प्रशासनले छानबिन गर्छ तर अहिलेसम्म जिल्ला प्रशासनमा कसैले पनि यस्तो गुनासो गरेको छैन ।

सरकारी सहयोग पाउने मुक्त हलिया पनि हलिया प्रथाबाट मुक्त हुन सक्दैनन् । दशरथचन्द नगरपालिका वडा नम्बर ९ ग्वाल्लेक कन्घरका तिलाराम भुलले ख श्रेणीको मुक्त कमैया भएको परिचयपत्र र त्यसबापत ९० हजार रुपैयाँ पाइसके ।तर, उनले अहिले पनि हलिया बस्नुपरेको छ । उनका हातमा ९० हजार मात्रै पर्‍यो । अरु पैसा कहाँ गयो उनलाई पत्तो छैन ।

आजभन्दा करिब २० बर्ष पहिले तीनजना छोराको बिहे गर्न उनले साहुहरुसँग ५६ हजार रुपैया ऋण लिएका थिए । त्यो ऋण तिर्न उनले अझै सकेका छैनन् । त्यसैले उनका तीन जना छोराले अहिले पनि तीन जना साहुकहाँ निःशुल्क काम गर्नु परेको छ ।

बैतडीका मुक्त हलियाको चाहना धेरै ठूलो छैन । बस्नलाई घर र काम गरेर खान जग्गा सम्म भइदिए पनि गुजारा चल्ने उनीहरु बताउँछन् । बैतडीको चिल्लेपानीका गोमती लुहारको घर छैन् । उनका दुईजना छोराछोरी स्कुल जाँदैनन् । उनका श्रीमान खुट्टामा हलो अड्केर अपांग छन् ।

गोमतीले भनिन्- हलिया मुक्त भएको घोषणा हुनुपहिले साहुको घरमा हलो जोते बापत छोराछोरी र आफूलाईसाहुले खाना दिने गरेकोमा अहिले साहुले हलो जोते पनि खाना दिन्थे । उनीहरुको बारीको घाँस काट्न दिन्थे । अहिले हलो जोत्न छुट पाएको पनि छैन । साहुबाट पहिले जस्तो राम्रो ब्यबहार पनि पाएको छैन । सरकारले मुक्त हलियाको परिचयपत्रहातमा थम्याइदियो, अरु केहि गरेन् ।

हलिया महिलाहरू

बैतडीमा मुक्तहलियाका लागि घरेलु तथा साना उद्योग बिकास समिती कार्यलयले केही वर्ष पहिले तीन महिने आधारभूत कम्पयुटर तालिम र सिलाइ बुनाइसम्बन्धी तालिमदिएको प्रमुख उद्योग अधिकृत नारायण न्याउपानेले बताए । तर, ती तालिमबाट कसैले पनि लाभ नलिएको उनले बताए । जिल्ला कृषि बिकास कार्यालय बैतडीले मुक्त हलियाका लागि छुट्टै तालिम नदिए पनि दलितहरुका लागि मौरीपालन, च्याउ खेती, तरकारीखेती, बीउबिजन सम्बन्धी तालिम दिइएको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ ।

योजना अधिकृत कर्ण चन्दका अनुसार, ५० प्रतिशत अनुदानमा १०० जनालाई माहुरीका घार पनि बितरण गरेको थियो । ती तालिममा मुक्त हलियाले भाग लिएका थिए ।

केही मुक्त कमैयाले भने हलो जोत्ने बाहेकका काम गरेर पनि जीविका चलाएका छन् । दशरथ नगरपालिका ९ का मानिराम सार्की डोका बुनेर आम्दानी गरिरहेका छन् । जिल्ला लघु उद्योग समुह संघले डोको छाप्रो (छाप्रो भनेको निंगालबाट बुनिने नांगलो सुप्पो हो) । डोका, नांगलो, सुप्पो, बनाउने तालिम पाएकाले अहिले डोका ,छाप्रा , सुप्पा बुनेर मासिक १८ हजार रुपैयाँसम्म कमाउने गरेको उनले बताए ।

यस्तै, जिल्ला हलियामुक्ति समाज बैतडीलेे जुत्ता सिलाउने तालीम दिएपछि मुक्त हलिया मानध्वज भुल जुत्ता पसल चलाइरहेका छन् । तालिम लिएपछि पसल चलाएर एक महिनामा १५/१६ हजार रुपैयाँ कमाउने गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment