Comments Add Comment

सुदूरपश्चिमको स‌ाँस्कृतिक नृत्यमा पूर्वेली द‌ंग

इटहरी पुग्यो सुदूरपश्चिमको देश दर्शन अभियान

२० चैत, इटहरी । मंगलबार इटहरीका वासिन्दाले सुदूरपश्चिमका कला संस्कृतिको एकमुष्ट जानकारी र आनन्द लिए । इटहरीका कवि बद्री भिखारीले जीवनमा कहिल्यै नदेखेको र सुनेको मात्रै सुदूरपश्चिममको संस्कृति हेर्दा धेरै खुसी लागेको बताए ।

पूर्वेली संस्कृति भन्दा धेरै फरक सुदूरपश्चिमेली लोकनृत्यले आफू प्रभावित भएको उनले बताए ।

उनीमात्रै हैन उत्तरी मोरङका पर्यटन व्यवसायी सतिष पोखरेल पनि सुदूरको सुन्दर सांस्कृतिक प्रस्तुतिले आफूले सदुरपश्चिमको एक सांस्कृतिक नजर लाउने मौका पाएको बताए । उनले भने, ‘आफ्नै आँगनमा आएको सुदुरपश्चिमको प्याकेज कलासंस्कृति हेरेर धेरै आनन्द आयो । अब हरेक प्रदेशका यस्ता मौलिक संस्कृतिको प्रचार र प्रस्तुति हुनुपर्छ ।’

इटहरी रंगशालाको तेक्वान्दो कवर्डहलमा आयोजित सुदूरपश्चिम सांस्कृतिक साँझ कार्यक्रममा सुदूरपश्चिमको कला सांस्कृतिक समूहले हुड्केली, भुओ, गमरा, सखिया, छलिया, होरी, डेउडा लगायतका लोकनृत्य देखाएको थियो ।

मदन पुरस्कारका विजेतासमेत रहेका रामलाल जोशीको नेतृत्वमा आएका सुदुर पश्चिमेली सांस्कृतिक समूहको नृत्यमा धेरैले ताली बजाए । कहिल्यै नदेखेको नृत्य हेरेर धेरैले मन खोलेर प्रशंसा गरे ।

साहित्यिक-सांस्कृतिक तथा पर्यटकीय देश दर्शन अभियान २०७४ नाम दिइएको कार्यक्रमको इटहरी संस्करणको उद्घाटन गर्न आएका प्रदेशका पर्यटनमन्त्री जगदिशप्रसाद कुसियतले पनि कार्यक्रमको तारिफ गरे ।

‘सुदूरपश्चिमको सांस्कृतिक र साहित्यिक सम्पदाहरूलाई तपाईंहरुले सुदूर हैन सुमधुर बनाइदिनू’, मन्त्री कुसियतले भने, ‘प्रदेश ७ को सुन्दर संस्कृति सुदूर पूर्वको प्रदेश १ मा हेर्न पाउनु धेरै राम्रो काम हो ।’

प्रदेश १ कि उपसभामुख सरस्वती पोखरेल, इटहरीका मेयर द्वारिकलाल चौधरी, उपमेयर लक्ष्मी गौतम लगायत इटहरी क्षेत्रका कलासाहित्यका पारखीहरु उपस्थित कार्यक्रमले पूर्वी नेपाल र सुदुरपश्चिलाइ नजिक्याएको स्थानीय आयोजकले बताए ।

सङ्गीत साधना प्रतिष्ठान नेपालका अध्यक्ष राम धामीले यस्तो कार्यक्रमको इटहरीमा स्थानीय आयोजक हुनु पाउँदा खुसी लागेको बताए । उनले भने, ‘सांस्कृतिक अन्तरघुलन र आत्मीयताको लागि यो कार्यक्रम धेरै राम्रो भएको छ ।’

सुदूरपश्चिमाञ्चल साहित्य समाज, धनगढी, कैलालीका सल्लाहकार तथा भ्रमण दलका संयोजक यज्ञराज उपाध्यायले नेपाली भाषा, साहित्य, लोकसाहित्य र जातीय संस्कृतिकै उद्भव थलो पूर्वमा ल्याउन पाउँदा खुसी भएको बताए ।

‘हामीले सुदूरपश्चिमको सांस्कृतिक समूह लिएर देश दर्शनमा चैत्र १५ बाट हिँडेका हौं र यो वैशाख १ सम्म हुनेछ’, उपाध्यायले भने, ‘यो कार्यक्रममा उपस्थितिको र उत्साहको आधारमा हामी खुसी भएका छौं ।’

सुुदूरपश्चिमको साहित्यिक तथा सांस्कृतिक तथा पर्यटकीय देश दर्शन अभियान नेपालका कैलाली, कञ्चनपुर, नेपालगञ्ज, चितवन, पोखरा, काठमाडौं, विराटनगर, जनपुर, इटहरी र झापामा हुने अध्यक्ष तथा मदन पुरस्कार विजेता रामलाल जोशीले बताए ।

जोशीका अनुसार सो समूहले देहरादुन, आसाम, सिक्किम, दार्जिलिङजस्ता नेपाली भाषी भएका स्थानहरूमा पनि प्रस्तुति दिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment